close

पनौती साहित्य समाजको ‘काभ्रेली कथासंग्रह’ सार्वजनिक

पनौती साहित्य समाजको ‘काभ्रेली कथासंग्रह’ सार्वजनिक

Trulli
ADVERTISEMENT

काभ्रे - काभ्रेको पनौती साहित्य समाजले आफ्नाे  १२ औं वार्षिकोत्सव तथा तिहार एवं नेपाल संवत् ११४१ को अवसरमा कथा विशेषांकको रुपमा काभ्रेली कथासंग्रह प्रकाशित गरेको छ । 

 

पनौती साहित्य दर्पण (भाग-४) लाई काभ्रेली स्रष्टाहरूको प्रतिनिधि ‘काभ्रेली कथासंग्रह’ को रुपमा प्रकाशित गरेको समाजका उपाध्यक्ष एवं संग्रहका प्रधानसम्पादक डा. सुमनराज ताम्राकारले बताए ।

 

उनका अनुसार काभ्रे साहित्यका विविध विधामध्ये कथा विधामा बलियो छ । नारी र पुरुष दुवै गरी आधुनिक कथाकारको रुपमा काभ्रेले पृथक कीर्तिमान कायम गरेको उनको दाबी छ  ।


काभ्रेको कानपुरमा पुर्ख्याैली घर भएका गुरुप्रसाद मैनाली नेपाली आधुनिक कथाका अगुवा हुन् । त्यसैगरी काभ्रेकै चेली तुषार मल्लिका नेपाली साहित्य इतिहासमा पहिलो नारी कथाकारको रुपमा दर्जिएकी छिन् ।’ 


यस कथासंग्रहमा सामाजिक कथा, पौराणिक कथा, लघुकथा, द्वन्द्वकथा, सीमान्तकृत एवं प्रादेशिक कथाका साथै हाँस्य कथा गरी ३९ काभ्रेली स्रष्टाका कथा सिर्जना समेटिएका छन् ।

 

 यसमा अग्रजदेखि नवप्रवेशी कथाकार गुरुप्रसाद मैनाली, तुषार मल्लिकाका साथै टंकनाथ शास्त्री, कृष्णप्रसाद पराजुली, किरण खरेल, कन्हैया नासननी, ध्रुव सापकोटा, हरि अधिकारी, रमा कर्णजीत, हरिवंश आचार्य, अम्बु भवानी कार्कीका कथा समेटिएका छन् ।


साथै, फूलमान बल, विजय सापकोटा, दिनमान गुर्मछान, अनामिका सजल, हिरामाया घिसिङका साथै पनौती साहित्य समाजका अधिकांश सदस्यका कथा समेटिएको समाजका उपाध्यक्ष डा. ताम्राकारले जानकारी दिए ।


कतिपय दुर्लभ रचनाहरू कथासंग्रहमा समेट्न सकिएकाले पनौती साहित्य दर्पणको यो अंक अझ बढी संग्रहणीय रहेको उनको तर्क छ ।