close

धार्मिक तथा पर्यटकीय क्षेत्र चम्पादेवी जाने सडक मर्मत हुँदै

धार्मिक तथा पर्यटकीय क्षेत्र चम्पादेवी जाने सडक मर्मत हुँदै

Trulli
ADVERTISEMENT

ओखलढुंगा - चम्पादेवी गाउँपालिकाले जिल्लाकै चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्र ककनी जोड्ने सडक मर्मत गरेको छ । गाउँपालिकाको वडा नं.- ८ देखि सुनकोसी गाउँपालिकाको वडा नं.- ९ स्थित ककनी क्षेत्रसम्म पुग्ने सडक मर्मत गरेको हो । 


सडक मर्मतसँगै जिल्लाका पश्चिमी क्षेत्रबाट आउने दर्शनार्थी एवं पर्यटकहरूलाई सहज भएको छ । यसअघि खनिएको सडक मर्मत गरेपछि ककनी मन्दिर नजिकै मेला लाग्ने ठाउँसम्म सवारी साधन पुग्ने स्थानीय उत्तम फुयालले जानकारी दिए । 


उनका अनुसार गाउँपालिकाको १५ लाख रुपैयाँ बजेटबाट सडक मर्मत गरिएको हो । सडक नपुग्दा चम्पादेवी मन्दिर पाँचदेखि सात घण्टा हिँडेर दर्शनार्थी जाने गरेका थिए । विलन्दुबाट खानी गाउँ हुँदै छापकटेरीसम्मको बाटो खुलेपछि ओखलढुंगाको पश्चिमी क्षेत्र लिखु, खिजीदेम्बा तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीबाट समेत दर्शनार्थी आउन सहज हुने गाउँपालिकाले जनाएको छ । 


मोलुङ गाउँपालिकाको हर्कपुर हुँदै पनि यो मन्दिर जान सकिन्छ । यहाँ भने सडक निर्माण भएको छैन । जिल्लाको पूर्वी क्षेत्रका दर्शनार्थी भने सदरमुकाम ओखलढुंगा हुँदै यो बाटोबाट मन्दिर जाने गर्छन् । ओखलढुंगाकै सबैभन्दा चर्चित धार्मिक तथा पर्यटकीय स्थल हो चम्पादेवी ककनी । यो सुनकोसी गाउँपालिका वडा नं.- ९ को सिमानामा पर्छ । यही मन्दिरको नामबाट गाउँपालिकाको नाम चम्पादेवी राखिएको हो । 


हरिबोधनी एकादशीको अवसरमा एक हप्तादेखि ककनी क्षेत्रमा मेला लाग्ने गर्छ । तिहारलगत्तै दर्शनार्थी पूजाआजाका लागि यहाँ जान सुरु गरिसकेका छन् । चम्पादेवी ककनीको दर्शन तथा पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास छ । 


धामी-झाँक्रीहरूको शक्ति आर्जन गर्ने थालोका रूपमा समेत लिइने यस क्षेत्रमा धामी-झाँक्रीहरूको समेत शक्ति प्रदर्शन हुने गर्छ । विकट भीरमा रहेको मन्दिरमा बर्सेनि हजारौँ दर्शनार्थीले पूजाआजा गर्ने चम्पादेवी गाउँपालिका वडा नं.- ९ का अध्यक्ष झम्कहरि बडालले बताए ।