close

बाग्लुङ बजारका सिसीक्यामेरा प्रयोगविहीन

बाग्लुङ बजारका सिसीक्यामेरा प्रयोगविहीन

Trulli
ADVERTISEMENT

बाग्लुङ - बजार क्षेत्रमा हुने चोरी नियन्त्रणका लागि उद्योग वाणिज्य संघको अगुवाइमा जडान भएका सिसिक्यामेरा प्रयोगविहीन अवस्थामा पुगेका छन् । सिसिक्यामेरा अधिकांश कामै नलाग्ने भएका छन् भने केही पोलमा झुन्डिएका छन् । 


बजारको सुरक्षामा प्रहरीलाई साथ दिने भन्दै उद्योग वाणिज्य संघले पाँच वर्षअघि झन्डै ४० वटा सिसिक्यामेरा जडान गरेको थियो । उद्योग वाणिज्य संघले चोरी नियन्त्रणमा प्रहरीलाई सघाउने अभियानस्वरुप सिसिक्यामेरा जडान गरिएको निवर्तमान अध्यक्ष जयराम भारी सम्झन्छन् । 


प्रहरीले अपराध नियन्त्रणमा साथ पुग्ने भएपछि ती सबै क्यामेराको फुटेज जिल्ला प्रहरीमा रहने व्यवस्था गराएको थियो । पछिल्लो एक वर्षदेखि प्रहरीमा फुटेज हेर्ने व्यवस्था छैन । बजारमा जडान गरिएका सबै सिसिक्यामेरा बिग्रेपछि मर्मत भएका छैनन् । कतिपय फुटेका छन्, कतिपयमा धुलो जमेर नदेखिने भएका छन् । 


‘हामीले लाखौं खर्चेर जडान गर्‍यौं । नगरपालिकाले पनि हेरेन, प्रहरीले पनि वास्ता गर्न छाडेको छ,’ संघका पूर्वअध्यक्ष वसन्तकुमार श्रेष्ठले भने, ‘बजार क्षेत्रमा हुने जुनसुकै अपराधमा सिसिक्यामेरा नभएपछि प्रहरीले अनुसन्धान गर्न सक्दैन । रेकर्ड पनि भेटिँदैन ।’ नगरपालिकाले बजारका अव्यवस्थित पोल हटाउँदा  फालिएका क्यामेरा पनि जडान नभएको श्रेष्ठले बताए ।

 

जडान भएको समय सिसिक्यामेराको सहायताले चोरीका धेरै घटना सार्वजनिक भएका थिए । सबै क्यामेरा बिग्रेपछि कन्ट्रोल रुम सञ्चालनमा नआएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र रेग्मीले बताए । ‘पहिला थियो, अहिले कन्ट्रोल रुम पनि छैन । बजारका पोल व्यवस्थापन गर्ने बेलामा सबै तार चुँडिएपछि जडानै हुन सकेन ।’ 


नगरपालिकासहित विद्यु्त, टेलिकम र निजी केबुल टेलिभिजन कम्पनीहरूले तार हटाउने बेला सिसिक्यामेरा कामै नलाग्ने बनाइदिएको रेग्मीले टिप्पणी गरे । ‘उनीहरूले प्रहरी र उद्योग वाणिज्य संघलाई वास्तै नगरी पोल ढालेछन्,’ रेग्मीले भने, ‘सुरक्षा चासो बढी भएकाले व्यवसायीले फेरि सहयोग गर्छौं भनेका छन् ।’


नगरपालिका र संघका पदाधिकारीलाई  साक्षी राखेर बजारभित्र गस्ती गर्न सुनचाँदी व्यवसायी संघले पाँच वर्षअघि सात वटा साइकल उपलब्ध  गराएको थियो । केही महिनापछि ती साइकल प्रयोगमा आउन छाडेका छन् । गत वर्ष बैंकर्स एसोसिएसनले पनि सात वटा साइकल दिएको थियो । दुई महिनापछि नै ती साइकल देखिन छाडेको एसोसिएसनका अध्यक्ष दीपक शर्माले बताए । 

 

‘हामीले दिएका साइकल अब भेटिँदैनन् होला । बैंकर्सले दिएका पनि कता हराए’, सुनचाँदी व्यवसायी अनीष खातीले भने, ‘सुरक्षा व्यवस्थापनमा सजिलो भएका सामग्री नै अलपत्र भएपछि प्रहरीको अनुसन्धान फितलो हुन्छ ।’ 

 

प्रहरीको टोलीले केही समयदेखि बजार क्षेत्रमा गस्ती भने बढाएको छ । सबै गस्ती पैदलै हुने गरेको छ । बाग्लुङ नगरपालिकाले चोक सुधार तथा सडक चौडा पार्ने कार्यक्रममार्फत पुराना पोल ढालेको छ । गुजुल्टा तार हटाउँदा सिसिक्यामेरामा पनि क्षति पुगेको हो ।

 

संघले भने केही समयभित्रै नयाँ क्यामेरा जडान गर्ने योजना बनाएको अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘हामीले जोडिरहने, नगरपालिका र प्रहरीले संरक्षण नगरे अपराध नियन्त्रण हुँदैन,’ राजभण्डारीले भने, ‘पाएका सामग्री स्याहार्न इच्छाशक्ति चाहिन्छ ।’