close

मंगलाको लोभलाग्दो समृद्धि यात्रा, पिसाबलाई हिसाबमा रूपान्तर

मंगलाको लोभलाग्दो समृद्धि यात्रा, पिसाबलाई हिसाबमा रूपान्तर

Trulli
ADVERTISEMENT

म्याग्दी- ८९ वर्गकिलोमिटर क्षेत्रफल र पाँच वडा रहेको म्याग्दीको मंगला गाउँपालिकामा १६ हजार २८६ जनसंख्याको बसोवास छ । खाद्यान्न, तरकारी, फलफूल, पशुपालन, पर्यटन र खेलकुद विकासमा सम्भावना रहेको मंगलामा मगर, दलित, क्षेत्री, बाहुन, ठकुरी, अल्पसंख्यक छन्त्याल र थकाली समुदायको बसोवास छ । 

 

बरंजाको धुले पर्व, पुर्ख्यौली नाच, सोरठी, भजन कीर्तनलगायतका मौलिक लोक-संस्कृतिले समृद्ध छ । टोड्के, झाँक्रीपानी, चिनाकोट र चाँगाको धुरी, तीनचुले र दहताल मंगलाका प्रमुख पर्यटकीय स्थल हुन् । मंगलाका अधिकांश बासिन्दा कृषि पेसामा संलग्न भए पनि प्रमुख आयस्रोत वैदेशिक रोजगार नै हो ।

 

प्रदेश सरकारमार्फत कालोपत्रेको तयारीमा रहेको बेनी-दरवाङ सडकले समेटिएको मंगलाको बरंजा र अर्मनका तीन वडालाई पालिकाको केन्द्र बाबियाचौरसँग सिधा सडक सञ्जालले जोड्न म्याग्दी नदीमाथि मोटर चल्ने दुईवटा पुल निर्माणको चरणमा छन् ।

 

मालिकाको सीमामा पर्ने दुखु खोलामा मोटरेबल पुल बनेको छ । संघीय सरकारमार्फत कुहुँ स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ । सबै वस्तीमा पुगेको कच्ची सडक स्तरोन्नतिलाई निरन्तरता दिइएको छ । घरघरमा निजी धारामार्फत खानेपानी वितरण गर्न प्रदेश, संघीय सरकारसँगको समन्वयमा आयोजना संचालन भएका छन् । 

 

अधिकांश वस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत सामुदायिक विद्यालयमा कक्षा कोठा भवन र शौचालय निर्माणले तीब्रता पाएको छ । 

 

कोत्रवाङ र काफलचौर जोड्ने नेवारेखोला तथा धापुङ र महेशगाउँ जाने बाटोमा पर्ने न्यु खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । प्रदेश सरकारमार्फत सिमलचौर र पखेर जोड्ने म्याग्दी खोलामा झोलुङ्गे पुल निर्माण सुरु भएको छ । 

 

सिम, कोत्रबाङ, ताराखेत, ज्यामिरे, सातबिसे र कस्केरीमा नमुना कृषि समूहमार्फत मुख्यमन्त्री नमुना कृषि कार्यक्रम संचालन भएको छ । प्रदेशबाट पीपलबोट, छिसवाङ, सेराफाँट, पानाबगर, सिमलचौर, कुहुँ र बरंजामा सिँचाइ, हिदी र रणवाङमा खानेपानी आयोजना संचालन भएको छ । 

 

बाबियाचौर बजारमा ढल व्यवस्थापनका लागि नाली बनाएर सडक कालोपत्रे तयारी गर्नुका साथै मंगला इन्द्रेणी पार्क निर्माण भएको छ । बाबियाचौरदेखि वडाको केन्द्र जोड्ने सडकमा बाह्रै महिना यातायातका साधन संचालन गर्ने उद्देश्य राखेको मंगलाले अधिकांश वस्तीमा एकीकृत सामुदायिक भवन र खेल मैदान निर्माण गरेको छ । 

 

पालिकाले बजेट विनियोजन गरेका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका साथै संघ र प्रदेश सरकारबाट साझेदारीका कार्यक्रम भित्र्याउने, कृषिको व्यावसायीकरण, आधुनिकीकरण, रोजगारी सिर्जनाका साथै विपद् व्यवस्थापनमा जोड दिइएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका बताउँछन् । 

 

‘गाईभैँसीलाई सुत्केरी भत्ता दिने, मानव मूत्र संकलन गरेर खेतीबालीमा प्रयोग गराउने, प्राङ्गारिक मल उद्योग संचालन, खरको छाना विस्थापन, सडक छेउछाउमा घाँस प्रजातिका बिरुवा लगाउने, उपभोक्ता समितिमार्फत संचालित योजनामा १५ प्रतिशत जनसहभागिता जुटाउने नमुना कार्यक्रम संचालन गरेका छौँ’, अध्यक्ष रोकाले भने ।

 

पर्यटकीय स्थल झाँक्रीपानीमा भ्यू टावर बनाउनुका साथै बाबियाचौरदेखि त्यहाँ जाने पदमार्ग निर्माण गरिरहेको उनले बताए । टोड्केमा रिसोर्ट, पूर्ण गाउँमा होमस्टे संचालन र झाँक्रीपानीमा भ्यू टावर बनाएर होमस्टे सुरु गरिएपछि पर्यटकको चहलपहल बढेको उनको दाबी छ । 

 

जिल्ला समन्वय समिति कोषबाट प्राप्त बजेटबाट बुकेनीमा वडा- ४ को भवन निर्माण, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत मंगला शिक्षा क्याम्पस भवन र धापुङको महेशदेखि घासेखोरिया जोड्ने सडक निर्माण सुरु भएको छ । राष्ट्रिय योजना आयोगको समपूरक अनुदानमा पोक-सातबिसे हुँदै बरंजास्थित वडा- ३ को कार्यालय भएर बुकेनी जोड्ने सडकको ज्यामिरे खण्डमा विस्तार, नाली, पक्की र ग्याबियन पर्खाल निर्माण भएको छ । 

 

मंगला र महेन्द्ररत्न माविमा छात्रावास भवन बनाउनुका साथै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गत वर्ष करिब डेढ सय युवालाई परिचालन गरेर कुहुँमा पदमार्ग, रणवाङमा सडक, छिसवाङदेखि टीकाबाङ जोड्ने सडकमा ग्याबियन पर्खाल र बरंजाको महेन्द्ररत्न माविको खेल मैदानमा पर्खाल निर्माण भइसकेको छ । 

 

कोरोना जोखिमका कारण तालिम, भेला, गोष्ठी जस्ता क्षमता विकासका कार्यक्रम संचालन गर्न नसकेको अध्यक्ष रोका बताउँछन् । तर, मंगला माविमा क्वारेन्टाइन संचालन, लकडाउनका कारण रोजगारी गुमाएका ७६३ विपन्न परिवारलाई खाद्यान्न राहत वितरण, दीर्घ रोगीहरूलाई घरमै औषधि उपलब्ध गराउने, स्वयंसेवक परिचालन, बेनीमा क्वारेन्टाइन संचालन र आइसोलेसन स्थापनामा अन्य पालिकाहरूसँग साझेदारी गरिएको अध्यक्ष रोकाले जानकारी दिए ।

 

‘४० लाख रुपैयाँ विनियोजन भएको कोरोना कोषमा विभिन्न क्षेत्रबाट थप १५ लाख सहयोग प्राप्त र ५० लाख खर्च भएको छ’, अध्यक्ष रोकाले भने । न्यायिक समितिमा ५८ विवादसम्बन्धी मुद्दा दर्ता भएकामा ४६ वटा फर्छ्याेट भएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताइन् । 

 

योजना कार्यान्वयन शत प्रतिशत

 

आर्थिक वर्ष २०७६/०७७ का लागि चालूतर्फ १८ करोड ५६ लाख र पुँजीगततर्फ १६ करोड ७७ लाख रुपैयाँ विनियोजन गरेको मंगलाले कोरोना जोखिम र लकडाउनको असहज अवस्था रहे पनि शत प्रतिशत योजना कार्यान्वयन गरेको दाबी अध्यक्ष रोकाको छ ।


‘पूर्वाधारसम्बन्धी १९० योजनाका लागि बजेट विनियोजन भएकामा १८६ वटा कार्यान्वयनमा गएका छन् । प्राथमिकताप्राप्त क्रमागत आयोजनाको भौतिक प्रगति उत्साहजनक छ’, उनले भने ।

 

सिमदेखि कुहुँ हुँदै टोड्के नमुना सडक निर्माणको ९५ प्रतिशत, सिमलचौर-तल्लो डडुवा, साम्तुङ-दह- ३ नम्बर वडा कार्यालय सडक, परेङ-पिंगे-तल्लो बुकेनी जोड्ने सडक स्तरोन्नति, बाबियाचौर ढल निकास, पुल्चोक-झाँक्रीपानी पदमार्ग र मंगला इन्द्रेणी पार्क निर्माण योजनाको शत प्रतिशत भौतिक प्रगति भएको अध्यक्ष रोकाले दाबी गरे ।

 

पोकदेखि ३ नम्बर वडा कार्यालय हुँदै ४ नम्बर वडा कार्यालय जोड्ने नमुना सडक आयोजनाको ६०, पुल्चोक-पिपलबोट-पाँखु-धारा-सिर्कुम-टिकावाङ सडकको ८० र बाबियाचौर-काफलचौर-सल्यान-भरजुला-भाइवाङ-हिदी नमुना सडकको ४० प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए । 

 

गाउँपालिकाका विभिन्न वस्तीमा सामूहिक बैठक, भेला, तालिम संचालन गर्न युवा क्लब र आमा समूहमार्फत हिदी, पखेर, कुर्सिम्ला, बुकेनी र सिमलचौरमा एकीकृत सामुदायिक भवन निर्माण भएका छन् । कुहुँको लालीगुराँस, र्‍यालेखोर, झाँक्रीपानी, आरबाङ, बाहुनपँधेरा, खर्क र पाखर्कको एकीकृत भवनलाई क्रमागत योजनाको रूपमा निरन्तरता दिइएको छ ।

 

योजनाको समयमै सर्वेक्षण गर्ने, लगत तयार पार्ने, समयमै उपभोक्ता समिति गठन, सम्झौता, समन्वय र सहजीकरणमा जनप्रतिनिधि तथा कर्मचारीको सक्रियता एवं उपभोक्ताको चासोका कारण मंगलाले बजेट कार्यान्वयनमा सफलता पाएको हो । 

 

गाउँपालिकाले प्राथमिकता प्राप्त आयोजनालाई ठेक्का प्रक्रियाबाट कार्यान्वयनमा लगेको छ । सूचना प्रविधिको प्रयोग, सीमित जनशक्तिलाई अधिकतम परिचालन गरेर विकास निर्माणलाई गुणस्तरीय, दिगो र सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयास भइरहेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए । 


 ६ स्थानमा खेल मैदान

 

मंगलाले भलिबल, बास्केटबल, फुटबल, एथलेटिक्स खेलको विकासका लागि छ स्थानमा खेल मैदान बनाएको छ । आरवाङको गतिशील र खर्कको न्यू स्टार युवा क्लबको खेल मैदानमा घेराबार गर्ने, थर्पुको उलेना खेल मैदानमा स्टेज बनाउने, जनआवाज आधारभूत विद्यालयको खेल मैदान बनाउने तथा कैलाशफाँट, कुरसिम्ला र पखेरमा खेल मैदान सम्याइएको छ । 

 

कृषकलाई अनुदानै अनुदान

 

कृषि उपजको उत्पादन लागत घटाएर कृषकलाई व्यावसायिक बनाउन अनुदानमा औजार, बिउ, बिरुवा, पोखरी निर्माणमा सहयोग गरेको छ । २२ वटा धान, गहुँ, कोदो चुट्ने थ्रेसर, १६ मिनिट्रेलर हलो, ९७ वटा प्लास्टिक टनेल, २२ वटा प्लास्टिक पोखरी, आठ हजार किलो गहुँको बिउ, सुन्तला, कागती, किबीका बिरुवा वितरण गरेको कृषि शाखाका संयोजक जगत बानियाँले बताए ।

 

‘स्थानीय जातका गाईभैँसी, बाख्राको नश्ल सुधार गरी दूध तथा मासु उत्पादन बढाउने, कुखुरापालनमा आकर्षित गरी रोजगारी सिर्जनाका साथै पालिकालाई अण्डा र मासुमा आत्मनिर्भर बनाउने योजना छ’, बानियाँले भने ।


व्यावसायिक कृषकलाई उन्नत बोयर जातका सातवटा बोका र १६ वटा बाख्रा, विपन्न लक्षित कार्यक्रमअन्तर्गत १७ वटा स्थानीय जातका बााख्रा, तीन मुर्रा क्रस भैँसी वितरण गर्नुका साथै र स्थानीय भैँसी संरक्षण गर्न अर्मनको पाखुका दुई जनालाई १५ पाडापाडी हुर्काउन दिइएको पशु सेवा शाखाका संयोजक दीर्घबहादुर खड्काले सुनाए ।

 

गाउँपालिकाले नमुना बाख्रा खोर बनाउन अनुदान, चाप कटर, जै घाँस र सुपर नेपियर जातको घाँसका बिरुवा वितरण गरेको छ । सांस्कृतिक संग्रहालय बनाउने तयारी भएको मंगला गाउँपालिकाको डडुवामा रहेको गणेश मन्दिरमा सत्तल निर्माण, बरंजाको दह तालको सरसफाइका साथै शिवालय र भैरवथान मन्दिर व्यवस्थापन, ऐतिहासिक थर्पुकोटको संरक्षण र परेङ हाल्ने भीरमा पूर्वाधार निर्माण भएको छ । 

 

विद्यालयमा खेलकुददेखि समायोजनसम्म

 

गाउँपालिकाले मासिक रूपमा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग बैठक, शून्य दरबन्दी भएका विद्यालयमा शिक्षक व्यवस्थापन, कक्षा ८ को परीक्षा संचालनका साथै विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता संचालन गरेको छ । नमुना प्राविधिक विद्यालय मंगला माविमा निजी भृकुटी सनराइज विद्यालय समायोजन भएको छ । 


लकडाउनको समयमा बालबालिकालाई घरमै अभिभावकले पढाउन मिल्ने शैक्षिक सामग्री तयार पारेर वितरण भएको छ । कुहुँ स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन सेवा विस्तार, बुकेनीमा स्वास्थ्य इकाई संचालन, बहुक्षेत्रीय पोषण सुधारका लागि रणनीतिक योजना तयार र सुरक्षित प्रसूति सेवा लिनेलाई प्रोत्साहन भत्ता व्यवस्था गरेको छ ।  

 

नदीजन्य वस्तुको उत्खनन र निकासीबापत प्राप्त हुने राजस्वलाई मुख्य आयस्रोत बनाएको मंगलाले गत आर्थिक वर्षमा ४० लाख रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । चालू आर्थिक वर्षमा करको दायरा फराकिलो बनाउँदै ५६ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको लेखापाल लेखनाथ अधिकारीले बताए । 

 

गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि नवाैँ गाउँसभाबाट कटौती गरिएको प्रशासनिक खर्चको रकम सडक पूर्वाधार, विद्युत् र सिँचाइ सुविधा विस्तार, कोरोना रोकथाम, कृषि, पशुपालन र रोजगारी सिर्जनामा जोड दिएर ३९ करोड ३३ लाख २५ हजार ५६० रुपैयाँको बजेट सार्वजनिक गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्य बताउँछन् ।