close

लयमा फर्कंदै ओखलढुंगाका पर्यटकीय गाउँ, खुल्न थाले होमस्टे

लयमा फर्कंदै ओखलढुंगाका पर्यटकीय गाउँ, खुल्न थाले होमस्टे

Trulli
ADVERTISEMENT

ओखलढुंगा– कोरोना संक्रमणको महामारीका कारण अन्य क्षेत्रसँगै अर्थतन्त्रमाथि पनि निकै चुनौती थपियो । कलकारखाना मात्र होइन, होटल तथा पसलहरू समेत बन्द हुन पुगे । भर्खरै सुरु गरेका व्यवसाय त चुर्लुम्मै डुबे ।


सिद्धिचरण नगरपालिका ओखलढुंगाको सदरमुकामसमेत भएकाले बन्दाबन्दी र कोरोनाका कारण नियमन गरिएका सबैखाले गतिविधिले यहाँका व्यवसाय र व्यवसायी जोखिममा परेका छन् । सदरमुकाम ओखलढुंगामा छवटा होटल त बन्द नै भए । यसले संचालकदेखि कामदारलाई समेत निकै ठूलो असर प¥यो । यस्तै समस्यामा परेपछि सिद्धिचरण नगरपालिका वडा नं.– ६  ठाडेका होमस्टे पनि बन्द भए ।


स्थानीयकै लगानीमा संचालित सामुदायिक होमस्टे बन्द हुँदा व्यवस्थापकलाई निकै चुनौती थपियो । अझ पर्यटकीय क्षेत्र भएकाले हिमाल हेर्नदेखि स्थानीय परिकारको स्वाद लिन आउने आन्तरिक तथा बाह्य पर्यटक त यहाँ आउनै छाडे । एकातिर सुरक्षा चुनौती, अर्कातिर पाहुना नहुने भएपछि छ महिना पहिलेदेखि बन्द होमस्टे खुलेका छन् ।


पछिल्लो समय ओखलढुंगामा कोरोना संक्रमित नभेटिएपछि बजार तथा होटल र पसलहरू खुल्न थालेसँगै सामुदायिक होमस्टे पनि खुले । चाडबाडअघिदेखि खुला गरिएका होमस्टेमा पाहुनाहरू आउन थालेका व्यवसायीले बताए ।


स्वास्थ्य सुरक्षा अपनाएर होमस्टेको सेवा पुनः सुरु गरिएको ठाडे मगर सामुदायिक होमस्टेका उपाध्यक्ष हरिकुमार मगरले बताए । आन्तरिक पर्यटक र सुरक्षा अपनाएर आउने पाहुनाले सामाजिक दूरी कायम गर्नुपर्ने, होमस्टे प्रवेश गर्नुअघि र समूहमा बस्दा अनिवार्य मास्क लगाउनुपर्ने उपाध्यक्ष मगरको भनाइ छ ।


ठाडेका स्थानीयले सामूहिक रूपमा चलाएका होमस्टेमा पाहुनाका लागि हात धुने ठाउँ, साबुन र स्यानिटाइजरको व्यवस्था छ । लामो समयको लकडाउनले होमस्टे व्यवसाय संकटमा परेकाले सतर्कता अपनाएर सेवा सुरु गरिएको स्थानीय व्यवसायी बताउँछन् ।


२०७६ चैत दोस्रो साताबाट बन्द भएका होमस्टे खुलेसँगै अहिले सेवाग्राही आउन थालेका छन् । सम्पर्कमार्फत सुरक्षित भएर आउने पाहुनालाई सेवा दिएर लामो समय थलिएको व्यवसाय संचालन गरिएको ठाडे मगर सामुदायिक होमस्टेका अध्यक्ष पारस मगरले बताए । शहरमा बस्ने धेरैजसो अहिले गाउँमा रहेकाले अग्र्यानिक परिकारको स्वादमा रमाउन चाहनेहरू होमस्टेमा आउने उनको भनाइ छ ।


ठाडे बजार समुद्री सतहबाट करिब दुई हजार ९०० मिटर उचाइमा छ । सगरमाथाको प्रवेशमार्गमा पर्ने ठाडे बजार सोलुखुम्बूको पत्ताले नजिक पर्छ । ठाडेबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य दर्जनौँ हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।


ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ६ ठाडेमा स्थानीय मगर समुदायले सामुदायिक होमस्टे गत वर्षदेखि सुरु गरेका हुन् । ओखलढुंगा सदरमुकामबाट सवारी साधनमा करिव ३० मिनेटमा ठाडेको होमस्टेमा पुग्न सकिन्छ । ठाडेको होमस्टेमा पुग्ने पाहुनालाई आलुको ढिँडो (रिल्दुक), गोर्मालिक (गहुँको पिठो दूधमा पकाएको परिकार), स्याक्पा, सिमी, मकै, फापरको ढिँडोलगायत स्थानीय परिकार खुवाउने र मगर समुदायको संस्कारअनुरूप पाहुनाहरूलाई सत्कार स्वागत गरिन्छ ।


होमस्टेले दृश्यावलोकन, स्थानीय परिकारको स्वाद लिन मात्र होइन, हामस्टेले मगर संस्कृतिलाई समेत प्रवद्र्धन गर्न सहयोग गरेको छ । सिद्धिचरण नगरपालिकाले पनि नीति तथा कार्यक्रममै ठाडेलगायत ज्यामिरे, रुम्जाटार, लगलगेलगायतका ठाउँमा होमस्टे संचालन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने प्रस्ताव गरेको छ । ठाडे सिद्धिचरण राजमार्गसँगै जोडिएको र पुरानो पर्यटकीय गाउँ भएकाले स्थानीय आफैँले सामूहिक रूपमा होमस्टे सुरु गरेका हुन् ।


ठाडेको होमस्टेले पर्यटन प्रवद्र्धनमा ठूलो योगदान गरेको सिद्धिचरणका नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए । ठाडेको पर्यटकीय विकासका लागि नगरपालिकाले प्राथमिकतामा राखेर योजना बनाउने श्रेष्ठको भनाइ छ ।