close

सिस्नो खोस्ने पर्वले चिनाउँदै ताराखोला

सिस्नो खोस्ने पर्वले चिनाउँदै ताराखोला

Trulli
ADVERTISEMENT

हरेक वर्ष हुने सिस्नो खोस्नेदेखि भीर माहुरीको मह काड्नेसम्मका संस्कारले ताराखोला गाउँपालिकालाई चिनाउँदै आएको छ । ताराखोलाका मगर समुदायले आफ्नो कुलपूजा र भदौरे पर्व मनाउन आयोजना गर्ने सिस्नो खोस्ने चलन सबैको आकर्षमा पर्छ । 


ताराखोला  भूगोलले मात्रै होइन, युद्ध, आन्दोलन, कला, ऐतिहासिक विविधतासहितको संस्कृतिले पनि समृद्ध छ । यो क्षेत्रमा मौसमअनुसार हुने सांस्कृतिक पर्वले रौनक  थपिरहेका हुन्छन् । ताराखोलामा मगर समुदायले सिस्नो खोस्ने भदौरे पर्व गत वर्ष धुमधामका साथ मनाए । हरेक दुई वर्षमा मनाइने यो पर्व यो वर्ष कोरोना संक्रमणका कारण मनाइएन । 


युवायुवतीहरूले भदौरे पर्वका रुपमा गाउँका पैदलमार्ग सफाइ गरेर यो वर्ष सिस्नो खोस्ने पर्वको सम्झना गरे । ‘ताराखोला गाउँपालिकाको पहिचान, संस्कृति जोगाउँदै प्रवद्र्धनको अभियान’ नारासहित यहाँ सिस्नो खोस्ने पर्व मनाउने चलन छ । आफ्ना दिवंगत पितृहरू तथा प्रकृतिको सम्मानार्थ परम्परागत सिस्नो खोस्ने पर्व गरिँदै आएको ताराखोला–५ का दुतमान घर्ती बताउँछन् ।


भाद्रशुक्ल पक्षको अवसरमा आयोजना गरिने पर्वमा पहिलो दिन बूढापाका जम्मा भएर बाटाघाटा सफाइ तथा चार किल्ला सिमानामा वाचा गर्ने गरिन्छ । दोस्रो दिन युवायुवती जम्मा भएर बाटो सफाइ गर्ने र तेस्रो दिन मगर समुदायको हेम्थो-९ मूलघरमा पितृहरु, देवदेवता, सिमेभूमेको नाममा अन्नपात चढाउने एवं सबैको स्वास्थ्य, दीर्घायुको कामना गर्दै रातभर पूजाअर्चना गर्ने चलन छ ।


यो पर्वमा यानीमाया गीत गाउने ढ्यांग्र्राहरु एवं झ्याली बजाएर रमाइलो गर्ने र राँगोको बलि दिने परम्परा छ । पर्वको अन्तिम दिन बिहानै मूलघर नजिक रहेको पाटामा विधिवत पूजा गर्ने, सुँगुरको बलि दिने र सामूहिक मन्त्र जप्दै ढ्यांग्र्रा र झ्याली चलन रहेको स्थानीय ससु रोकाले जानकारी दिए । त्यसपछि सुँगुरको सपेटो निकालेर सिस्नोमा बाँध्ने गरिन्छ । अन्तिममा बूढापाका र अविवाहित युवाहरूले ढ्यांग्रा र झ्याली बजाउँदै उक्त सपेटोसहितको सिस्नोसँगै परिक्रमा गर्ने चलन छ ।


उक्त सिस्नो युवा र युवतीहरूबीच पाँच पटकसम्म एकआपसमा घन्टौं खोस्ने गरिन्छ । सपेटोसहितको सिस्नोलाई युवाहरुले जोगाउने र युवतीले खोस्ने गर्छन् ।
जसले जिते पनि युवायुवतीहरू मिलेर सामूहिक रुपमा त्यसलाई खाने गर्छन् । सिस्नो खोस्ने कार्यक्रममा अविवाहित युवायुवती मात्र सहभागी हुन पाउने परम्परा रहेको गाउँपालिका अध्यक्ष प्रकाश घर्ती बताउँछन् ।


यो पर्वमा मगर जातिसँगै अन्य समुदायको पनि उल्लेख्य उपस्थिति हुने गर्छ । सिस्नो खोस्ने भदौरे पर्व दुई वर्षको अन्तरमा मनाउने गरिन्छ । हरेक सात वर्षमा ७ वर्षे राँगाको सिङ फेर्नुपर्ने परम्पराका कारण कहिलेकाहीँ यो एकै वर्षमा दुई पटकसमेत पर्ने गर्छ ।


मंसिरमा भने ताराखोलाका मगर समुदायले कुलपूजा गर्छन् । कुलपुजाको समयसमेत सिस्नो खोस्ने चलन छ । स्थानीय सिस्नोलाई पूजा गरेको सुँगुरको पेटामा बाँधेर युवायुवतीले खोसाखोस गर्नुलाई सिस्नो खोस्ने भनिन्छ ।