close

दोलखामा उत्कृष्ट करदाता सम्मानित

दोलखामा उत्कृष्ट करदाता सम्मानित

Trulli
ADVERTISEMENT

दाेलखा-  सदरमुकाम चरिकोटमा रहेको करदाता सेवा कार्यालय चरीकोटले जिल्लाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने जिरीको एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्थालाई कर दिवस अवसरमा सम्मान गरिएको हो ।


करदातालाई छुट, प्रोत्साहन दिन विभिन्न नीति र परियोजना संचालन गरिएको कर कार्यालयले बताएको छ । कार्यालयले धेरै कर तिर्ने संस्था, व्यवसाय र व्यक्तिलाई यस्तो सम्मानबाट पुरस्कृत गर्ने गरेको छ ।

 

दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारीका संचालक भूमिराज खड्कालाई आर्थिक वर्ष २०७५/०७६ मा १० लाख ३०० रुपैयाँ कर दाखिला गरेबापत उत्कृष्ट करदाता सम्मानपत्र प्रदान गरे । 


दोलखाका ३७ स्थानमा रहेका दुईदेखि पाँच लाख रुपैयाँ लगानीसम्मका होटल, पसल दर्ता नभएकाले सबैलाई कानुनी प्रक्रियाअनुसार दर्ता गर्न/गराउन प्रमुख जिल्ला अधिकारी शिवाकोटीले आग्रह गरे । 


१ मंसिर २०५४ देखि मूल्य अभिवृद्धि कर (मूअक) लागू भएपछि 'राष्ट्रिय कर दिवस’ १ मंसिर २०६७ देखि मनाइँदै आएको छ । मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको संख्या झन्डै दुई लाख पुगेको छ । आयकरतर्फ करदाताको गन्ती १८ लाखभन्दा केही बढी छ ।

 

सरकारको राष्ट्रिय ढुकुटीमा विभिन्न स्रोतबाट जम्मा हुने रकममध्ये २२ प्रतिशत हिस्सा कर राजस्वको छ । करबारे सर्वसाधारणमा जनचेतना बढाउने, धेरैभन्दा धेरै मानिसलाई कर तिर्नेहरूको दायरामा ल्याउने सरकारको उद्देश्य रहेको प्रजिअ शिवाकोटीले बताए ।