close

वडाको पहलः तरकारीलाई टनेल, माहुरीलाई घार

वडाको पहलः तरकारीलाई टनेल, माहुरीलाई घार

Trulli
ADVERTISEMENT

बाग्लुङ– समयानुकूल परिवर्तनलाई नपछ्याउँदा व्यावसायिक बन्न नसकेका रायडाँडाका किसानका लागि वडा कार्यालयको कार्यक्रम आम्दानीको स्रोत बनेको छ ।


बाग्लुङ नगरपालिका–११ रायडाँडाले ‘एक घर एक टनेल’ (हरितगृह) र ‘एक घर एक मौरीघार’ कार्यक्रम सञ्चालनमा ल्याएको दुई वर्ष भयो । वडा कार्यालयले माहुरीपालन र तरकारी खेतीमा किसानलाई व्यावसायिक बनाउन ल्याएको यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

 

प्रविधि अभावमा सिजनमा मात्रै मौसमअनुसारका तरकारी फलाउने यहाँका किसानले बेमौसमी तरकारीसमेत उत्पादन गर्न थालेका छन् । हरितगृहभित्र बेमौसममा फलेको तरकारीले बजारमा राम्रो मूल्य पाउन थालेको किसान नवीन केसीले बताए ।


‘पहिले घरायसी प्रयोजनका लागि मात्रै तरकारी फलाउँदै आएका थियौं । पछिल्लो समय घर खर्च जुटाउनसमेत तरकारीले  सहयोग पु¥याएको छ । यहाँ उत्पादित तरकारी बाग्लुङ बजारमा पुग्छ,’ केसी भन्छन्, ‘टनेलले बेमौसममा तरकारी फलाउन सहयोग गरेको छ ।’

 

टनेल पाएपछि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिने भएकाले पछिल्लो वर्ष यहाँ टनेलको माग बढ्दो रहेको उनले सुनाए । वडाले अनुदानमा टनेल वितरण गरेपछि कृषकले मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्दै गएको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको दाबी छ ।

 

वडाले अघिल्ला दुई आर्थिक वर्षमा एक सय सात वटा टनेल वितरण गरेको छ । ‘दोहोरो हुने गरी दिएका छैनौं । सबै वडाबासी व्यावसायिक बनून् भन्ने हो,’ वडाध्यक्ष गौतम भन्छन्, ‘एउटै टनेलमा गोलभेडा, तरकारी र नगदेबाली उत्पादन गर्ने धेरै छन् ।’

 

रायडाँडाबासीलाई आम्दानीसँग जोड्न वडा कार्यालयले तरकारी उत्पादन, माहुरी र बाख्रापालन व्यवसायमा जोड दिएको छ । ‘जंगल धेरै छ, तरकारीका लागि उब्जाउ हुने माटो पनि छ । तर, यहाँ खाद्यबालीबाट आम्दानी गर्न कठिन छ,’ गौतम भन्छन्, ‘तरकारीको फूलमा माहुरी चर्दा दोहोरो फाइदा हुने देखेर यसो गरेका हौं ।’

 

माहुरीपालनमा किसानलाई प्रेरित गर्न वडाले एक सय तीन आधुनिक माहुरी घारसमेत अनुदानमा उपलब्ध गराएको छ ।


‘अहिले हामीले धेरथोर तरकारी बेच्न थालेका छौं । यसले घरको सानो खर्च चलाउन सजिलो हुँदो रहेछ,’ स्थानीय हिरा थापाले भने, ‘माहुरी पाल्ने पुरानो चलन भए पनि आधुनिक घारले उत्पादन बढाउने देखेका छौं ।’ किसानलाई व्यावसायिक बनाउन उत्पादनमा सहयोग र बजारीकरणमा समन्वय गरिदिनुपर्ने उनको भनाइ छ ।