close

सिकाइ निर्देशिका पालना गर्नै चुनौती

सिकाइ निर्देशिका पालना गर्नै चुनौती

Trulli
ADVERTISEMENT

बागलुङ - धौलागिरि बहिरा आवासीय माविले कक्षा ११ का विद्यार्थीले गत चैतमा दिँदादिँदै रोकिएको परीक्षाका लागि विद्यार्थी बोलाएको छ । सीटीईभीटीले ९ मंसिरदेखि परीक्षा लिने तयारी गरेपछि विद्यालयले तिहारअघि नै विद्यार्थीलाई बोलाएको हो । कम्तीमा १४ दिन क्वारेन्टाइन बसेर मात्र परीक्षा दिनुपर्ने व्यवस्था मिलाउने तयारीमा विद्यालय छ । 


‘फरक जिल्लाका विद्यार्थी भएकाले ७२ घण्टाअघिको पीसीआर रिपोर्ट लिएर आउन भनेका छौँ’, प्रधानाध्यापक रेशमबहादुर श्रीषले भने,  ‘कि त पहिला आएर बसेको हुनुपर्छ ।’ 


तिहारको समय भएकाले अधिकांश अभिभावकले छोराछोरीलाई बाग्लुङ पठाएर क्वारेन्टाइन राख्न भने चाहेका छैनन् । कतिपय अभिभावकले बालबालिका सुरक्षित घरमा बसेकाले सुरक्षित रूपमै ल्याएर परीक्षा दिलाउन खोज्दा विद्यालयले अप्ठ्यारो पारेको गुनासो पनि गरेका छन् ।


परीक्षा संचालन हुने कक्षाहरूको समस्या जस्तै नियमित कक्षा थालेर पढाउनुपर्नेको पनि उत्तिकै समस्या छ । यस्ता समस्या अधिकांश विद्यालयका शिक्षक र विद्यार्थीले भोगेका छन् । कतिपय विद्यालयले नियमित कक्षाझैँ वैकल्पिक शिक्षण सिकाइका कक्षा पनि चलाएका छन् । तर, धेरै विद्यार्थी भएका र सदरमुकामसहित बजार क्षेत्रका विद्यालयमा भने यो समस्या बढी छ । 


‘धेरै जिल्लाका विद्यार्थी पढ्ने भएकाले हामीले सबैलाई बोलाएर पढाउनै सकेका छैनौँ’, विद्यामन्दिर माविका प्रधानाध्यापक शान्तमणि ढकालले भने, ‘टोलमा पढाउन पनि भवन अभाव छ ।’ नजिकका टोलमा पढाए पनि अधिकांश विद्यार्थी टाढाका भएको उनले बताए । कतिपय विद्यार्थी फरक जिल्लाका भएकाले चैतमा घर गएकाहरू अझै फर्किने संभावना नरहेको पनि उनले बताए । 


बेलाबेला कोरोना संक्रमित बढेको भन्दै बाग्लुङ नगरपालिकामा लकडाउन भइरहेको छ । बाहिर डुल्न वा समूहमा पढ्न पनि जोखिम भएपछि अभिभावकले पनि बालबालिका पठाउन सकेका छैनन् । निजी विद्यालयले पनि कक्षा संचालन गर्न नसकेको उनले बताए । ‘जोखिम भयो भने कसले जिम्मा लिने भनेर अन्योलमा छौँ’, एउटा निजी विद्यालयका शिक्षकले भने, ‘छिटफुट अनलाइन कक्षा चलाए पनि विद्यार्थीलाई विद्यालय बोलाउन सकिएन ।’ 


ग्रामीण क्षेत्रमा भने नियमित कक्षा चलेका छन् । तमानखोलाका सबै विद्यालयमा बिहान र दिउँसो गरी दुई चरणमा वैकल्पिक शिक्षण सिकाइ भन्दै पढाइ धमाधम भएको छ । यहाँका विद्यार्थीलाई मास्क र स्यानिटाइजरसमेत गाउँपालिकाले उपलब्ध गराएको अध्यक्ष जोकलाल बुढाले बताए ।


गलकोटका पनि अधिकांश विद्यालयमा दुई चरणमा पढाइ भएको छ । केही विद्यालयले टोलमै सार्वजनिक भवनहरूमा कक्षा चलाएका हुन् । यसरी कक्षा चलाएपछि बालबालिकाले सिक्ने र परीक्षासमेत दिन सक्ने वातावरण बनेको छ । सरकारको एकरूपताको अभियान नभएपछि परीक्षा र कोर्स अगाडि बढाउने विषयमा भने अन्योल देखिइरहेको शिक्षकहरूले टिप्पणी गरे । 

 

कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई जुम एप्सबाट पढाउन खोज्दा पनि संभव नभएको ठूला विद्यालयका शिक्षकले बताए । ‘मैले जुम एप्सबाट पनि पढाइ थालेको छु तर सबैको पहुँचमा इन्टरनेट छैन’, ढकालले भने, ‘छुटेका बालबालिका र अभिभावकले फोन गरेर गाली गरेका छन् ।’ 


मजदुरका बालबालिका अधिकांश अर्कै जिल्लाका छन् । उनीहरू यहाँ समेटिने संभावना नभएको उनले बताए । बाग्लुङ नगरपालिकाभित्रका ८८ विद्यालयमध्ये दुई दर्जन विद्यालयमा मात्र सिकाइ सहजीकरण संभव भएको शिक्षकहरू बताउँछन् । 


‘निर्देशिका आयो, हामीले पत्राचार पनि गरेका छौँ तर सहज छैन’, नगर शिक्षा अधिकारी डण्डपाणि शर्माले भने, ‘नगर क्षेत्रका विद्यार्थी न टोलमा भेटिन्छन्, न त सबै इन्टरनेटको पहुँचमा छन् ।’ निर्देशिकामा भने आगामी मंसिरमा अर्धवार्षिक परीक्षा लिनेसमेत उल्लेख छ ।


ढोरपाटन नगरपालिकामा यो समस्या अझै बढी छ । बजार रहेको बुर्तिवाङमा पढ्ने अधिकांश गाउँका बालबालिका थिए । बजारभित्रै आधा विद्यार्थी पनि छैनन् । लकडाउनपछि घर गएका बालबालिका बजारमा ल्याउन संभव नहुने नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । 


‘गाउँ पनि धेरै टाढा छ, दरबन्दीका दुई-चार जना शिक्षकले कसरी पढाउँछन् ?’, उनले भने, ‘बालबालिकालाई पाठ्यपुस्तक पुर्‍याइदिने र पढ्न लगाउने काम मात्र संभव छ, दैनिक कक्षा संभवै छैन ।’ 


यस नगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ का अधिकांश बालबालिका ढोरपाटन गएकाले सम्पर्कमा समेत छैनन् । जाडो लागेपछि बेँसी झर्नेले पनि सम्पर्क नगरेको उनले बताए ।