close

फुङ्लिङकाे प्राथमिकता सडकमा

फुङ्लिङकाे प्राथमिकता सडकमा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चालू आर्थिक वर्षमा कम्तीमा पनि दुई किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । अघिल्लो आवमा एक हजार ४३० मिटर सडक कालोपत्रे गरेको नगरपालिकाले यस पटक सोभन्दा करिब ५०० मिटर बढी सडक कालोपत्रे गर्ने योजना बनाएको हो । 


नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेका अनुसार यस आवमा सडकको ट्र्याक खोल्ने, स्तरोन्नति गर्ने, पक्की ढलान, सोलिङ, नाली निर्माणलगायतका कार्यहरू पनि अघिल्लो वर्षभन्दा बढी परिमाणमा हुनेछन् । नगरपालिकाले सडक निर्माणतर्फ तीन करोड ४८ लाख ७० हजार रुपैयाँ, भवन निर्माणतर्फ एक करोड ३८ लाख, पदमार्ग निर्माणतर्फ ६२ लाख १० हजार, नाली निर्माणतर्फ ४९ लाख ५० हजार, खोला नियन्त्रण तथा तटबन्धतर्फ १२ लाख तथा खेल मैदान निर्माणतर्फ १४ लाख रुपैयाँ बजेट खर्च गर्दै छ । 


समपूरक कोषमा तीन करोड विनियोजन गरेको नगरपालिकाले पूर्वाधार विकासतर्फ मात्र नौ करोड ७१ लाख ३० हजार रुपैयाँ बजेट खर्च गर्ने गरी तयार थालेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए । अघिल्लो आवमा सात हजार ८४० मिटर नयाँ सडकको ट्र्याक खोल्ने कार्य पूरा भएको थियो । 


यस्तै, २७ हजार २० मिटर सडकको स्तरोन्नति र १३० मिटर आरसीसी ढलान, एक हजार २२२ मिटर नाली निर्माण भएको प्रगति विवरण नगरपालिकासँग रहेको छ । अघिल्लो आवमा साना र ठूला गरी नगर क्षेत्रमा १२ वटा पक्की पुल बनेका थिए । दुई हजार ६६५ मिटर पक्की पदमार्ग निर्माण भएकामा यस वर्ष हरेक पूर्वाधारका कामको प्रगति विवरण बढ्ने नगरपालिकाले जनाएको छ । 


प्रवक्ता न्यौपानेले सडक पहुँचमा विस्तार गरी सवारी आवागनमा वृद्धि गर्न नगरपालिकाले सडक निर्माणको गति बढाएको जानकारी दिए ।