किसानमा काेराेना असर: खोर भरि छन् खसीबोका तर बिक्री नै हुँदैन


  • change font
  • change font
  • change font

उदयपुर - कोरोना महामारीका कारण व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसान खसीबोका बिक्री नहुँदा आम्दानी खोरमै राख्न बाध्य छन् । विगत वर्षमा वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी लिँदै आएका किसान यो वर्ष खसीबोका बिक्री कम भएपछि १० लाखमा चित्त बुझाउनु परेको गुनासो गर्छन् । 

 

कोरोना महामारी नियन्त्रणका निम्ति गरिएको लकडाउन उनीहरूको आम्दानी घटाउने कारण बनेको छ । ‘बिक्री नहुँदा खोरभरि बोका र पाठा थुप्रिएका छन् । ६ महिने लकडाउनले सबै व्यापार चौपट भयो’, त्रियुगा नगरपालिका- १४ साउनेस्थित निपानेमा व्यावसायिक बाख्रापालन गर्दै आएका रामकुमार राईको गुनासो छ ।


नौ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आएका उनको खोरमा एक सय ५० वटा बोका र पाठापाठी बिक्री योग्य छन् । ‘कोरोना नभएको भए गाडी लिएर व्यापारी घरमै आउँथे,’ राईले भने, ‘व्यापारी नआउँदा बाख्रापाठा खोरमै राख्नु परेको छ ।’ लकडाउने खसीबोका खोरमै बूढा हुने पिरलो राईको छ ।

 

खसीभन्दा बोका र पाठापाठीबाट राम्रो आम्दानी हुने गरे पनि अहिले बिक्री नै हुन छाडेको उनी सुनाउँछन् । भन्छन्, ‘खसीबाट एकमुष्ट धेरै रकम आए पनि बोका र पाठापाठीमा बढी आम्दानी हुन्छ ।’ व्यवसाय सुरु गरेदेखि यसपालि बोका, पाठा बिक्री नभएको अनुभव उनले सुनाए ।

 

०६८ देखि यो पेसामा होमिएका राईले ०७१ मा स्वेच्छा बाख्रापालन फर्म दर्ता गरेर व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । उनले भने, ‘पहिले गाउँ आउने व्यापारीले उचित मूल्य दिन्थे । गाउँघरमा मूल्य पनि कम पाइने र उधारो बढी दिनुपर्छ । खपत  भनेजस्तो हुँदैन ।’

 

राईका अनुसार बाख्राको पाठा ब्याएको करिब पाँच महिनामा बेच्न योग्य हुन्छ । सिजन कटिसकेको बोका पनि गोठमा राख्दा आम्दानी घटेको उनको गुनासो छ । ‘गत वर्ष सिजनमा प्रतिगोटा १०÷१२ हजारका दरले बोका बिक्री गरेका थियौं,’ उनले भने, ‘तर यो वर्ष कोरोनाले बिक्री हुन सकेन । गाउँघरमा सात-आठ हजारमा खोज्छन् । त्यसैले आम्दानी घट्यो ।’

 

तीन वटा आधुनिक खोर बनाएका राईले बाख्रालाई नुहाउने डिपिङ सेन्टरलगायतका पूर्वाधारसमेत निर्माण गरेका छन् । अहिले उनको गोठमा दुई सय ५० माउ बाख्रा छन् । गोठमा स्थानीय जातको खरी बाख्रा, जमुना पारी, बोयरलगायत प्रजातिका बाख्रा रहेको राईले जानकारी दिए ।

 

०५७ मा ग्रामीण पशु स्वास्थ्य सेवा तालिम लिएर दस वर्ष गाउँबस्तीमै पशु उपचार गर्ने क्रममा व्यावसायिक बाख्रापालन गर्ने सोच जागेको उनी सुनाउँछन् । त्यहीँ सोचले श्रीमतीलाई पनि भेटरेनरी पढाएर अहिले दुवै जना बाख्रापालनमा लागेको राईले बताए ।

 

भेटरेनरी ज्ञान भएकाले बाख्रा सामान्य बिरामी पर्दा आफैंले उपचार गर्ने हुँदा व्यवसाय गर्न सहज भएको श्रीमती जिनाकुमारी राई मगरको अनुभव छ । बाख्रापालनका लागि राईले करिब १५ रोपनी जग्गामा घाँस खेती गरेका छन् । बाख्राका लागि पोषिलो घाँस इपिलिपी, इन्डुला, टाँकी, किम्बु, कोइराला, नेपियर, भटमासेलगायत प्रजातिका घाँस लगाएको उनी बताउँछन् । 

 

‘गत वर्षजस्तो सामान्य अवस्था रहेको भए यो वर्ष करिब ५० रोपनी जग्गा किनेर घाँस खेती गर्ने सोच थियो’, राईले भने, ‘कोरोनाका कारण अवस्था सामान्य रहेन । त्यसैले सबै भताभुंग भयो ।’

 

बोयर बोकालाई दुई लाख ७६ हजार 

 

राईले सुर्खेतबाट ल्याएका बोयर जातको बोका र बाख्रा अहिले गाउँमै चर्चाको विषय बनेको छ । उनले ५० केजी तौलको बोयर बोका दुई लाख ७६ हजार रुपैयाँमा सुर्खेतको अस्मिता फर्मबाट किनेर ल्याएका थिए ।

 

प्रतिकेजी एक हजार रुपैयाँका दरले तीन वटा बोयर जातका बाख्रा एक लाख सात हजारमा खरिद गरेको उनले बताए ।

 

राई भन्छन्, बाख्रा फर्मलाई स्रोत केन्द्रको रुपमा अघि बढाउने लक्ष्य छ । कुनै निकायबाट अनुदान पाउनासाथ हचुवाको भरमा गरेको व्यवसाय सफल हुँदैन ।’