close

कुस्माका विद्यालयमा आइतवारबाट पठनपाठन

कुस्माका विद्यालयमा आइतवारबाट पठनपाठन

Trulli
ADVERTISEMENT

पर्वत– कोरोना भाइरसका कारण बन्द भएका कुस्मा नगरपालिकाभित्रका विद्यालय आइतवारबाट खुल्ने भएका छन् ।


बिहीवार बसेको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले आइतवारबाट विद्यालय खोल्ने निर्णय गरेको हो ।


करिव ८ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्र नै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीको पठनपाठनमा समेत असर पुगेका कारण आइतवारदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्ने निणर्य भएको  नगरप्रमुख रामचन्द्र जोशीले बताए ।

 

‘आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सुचारु गर्न निर्देशन दिएका हौँ,’ प्रमुख जोशीले पालिकाखरसँग भने, ‘विद्यालयले आफ्नो अवस्था हेरेर पठनपाठनलाई कसरी व्यवस्थित गर्न सक्छ सोही अनुसार व्यवस्थापन गरी पठनपाठन सुरु गर्न भनेका छौं ।’

 

जिल्लामा कोरोना जोखिमको अवस्था न्यून हुँदै गएकाले विद्यालय संचालन गर्ने निणर्य गरिएको कुश्मा नगरपालिकाका शिक्षा शाखाका अधिकृत राजेन्द्र क्षेत्रीले जानकारी दिए ।


उनका अनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, स्यानिटाइजर र भौतिक दुरी कायम गरेर विद्यालय खोल्न भनिएको हो । विद्यालयको भौतिक पूर्वाधारको अवस्था हेरेर एकैपटक सवै कक्षा सञ्चालन गर्ने वा विहान, दिउँसो र साँझ गरेर भौतिक दुरी कामय हुनेगरी सञ्चालन गर्ने भन्ने विषयमा भने अवस्था हेरे निर्णय लिइने उनको भनाइ छ ।

 

गत जेठदेखि संस्थागत विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका थिए भने केही सामुदायिक विद्यालयले अनलाइन र टोल शिक्षा चलाइरहेका छन् ।