close

बैंक जस्ता माई नगरका बाख्राः फुत्त दियो, पैसा लियो

बैंक जस्ता माई नगरका बाख्राः फुत्त दियो, पैसा लियो

Trulli
ADVERTISEMENT

इलाम - इलामको माई नगरपालिका- १० लुम्बक गाउँका ४३ वर्षीय खड्गबहादुर बस्नेत परिवारको खानानाना जुटाउन १० वर्ष मलेसियामै हराए । मलेसियाबाट फर्किएपछि त्यहाँ कमाएर बचत भएको केही पैसाले ट्याक्सी किनेर चलाए पनि त्यसले लामो समय फापेन । गाउँको चोकमै घर भएका उनले सबै व्यवसाय छाडेर तीन वर्षयता बाख्रापालनलाई आम्दानीको स्रोत बनाएका छन् । 

 

बस्नेतको खोरमा १५ माउ बाख्रा छन् । पाठापाठी बिक्री गर्छन् । वर्षको अढाई लाखको आम्दानी हुने गरेको उनी सुनाउँछन् । बस्नेत भन्छन्, ‘बाख्रा पालेर केही सन्तुष्टि मिलेको छ । यसैलाई फैलाउने योजना छ । फाप्यो भने बाख्रा  बैंकजस्तै हो रहेछ ।’

 

यस्तै, सालबोटेका गणेशबहादुर मगर मिस्त्री हुन् । उनले पनि घरमा बनाएको  खोरमा ३५ बढी बाख्रा छन् । बाख्राको, दानपानी र घाँस चरनमा लैजानु उनको दैनिकी बनेको छ । ‘गाउँको मिस्त्री त मौसमजस्तै हो । काम पाए गर्ने, नपाए फुर्सद भइहाल्ने । यही फुर्सदले बाख्रा पाल्न सिकायो । केही वर्षयता बाख्रा पालेरै परिवारको भरथेग गरिरहेको छु’, मगर भन्छन् ।


वर्ष दिनअघि व्यवसाय दर्ता गरे सरकारी अनुदान पाइने गाउँले अगुवाले भनेको सुनेर ‘गणेश बाख्रा फार्म’ वडा कार्यालयमा दर्ता गराएको उनी सुनाउँछन् । घले गाउँकी संगीता राईले पनि ५० बढी बाख्रा पाल्दै आएकी छिन् । उनले ६ जनाको परिवारको घर खर्च बाख्रा पालेरै धान्दै आएकी सात वर्ष भयो । खेतीबालीको काम सकेर बाँकी समय बाख्राको स्याहारमा जुट्ने गरेको राई बताउँछिन् । बाख्रा पालेरै आर्थिक सन्तुष्टि मिलेको उनको अनुभव छ । 

 

‘बाख्रा पालेर कमाएको आम्दानी अन्य आयस्रोतभन्दा आकर्षक छ । यसबाटै परिवारको भविष्यका सपना पूरा गर्ने सोच छन् । तर, व्यावसायिक सीप, प्राविधिक ज्ञान अभाव नहुँदा समस्या भएको छ’, राई भन्छिन् । 

 

नमिलेको चुरे पहाड, भिरालो जमिन, पाखासँग टाँसिएका कान्लाको बस्तीमा परम्परागत रूपमा पाँचदेखि ५० बढी बाख्रा पालेर वर्षौंदेखि नगरपालिकाको चुरेका स्थानीयले जीवन निर्वाह गर्दै आएका छन् । 

 

३० वर्षदेखि बाख्रा पालेरै परिवार चलाउँदै आएका अभिमान राई भन्छन्, ‘परिवार चलाउने खर्च अभावले वैकल्पिक आम्दानीको स्रोत जुटाउन परम्परागत रूपमै गाउँले बाख्रापालनमा लागेका हुन् । अहिलेसम्म आयआर्जन मात्र बनेको बाख्रापालनलाई व्यावसायिक बनाउन आवश्यक छ । यसका लागि सीप, ज्ञान र प्रविधि चाहिएको छ । यसको जोहो गर्न सकिएको छैन ।’

 

उनका अनुसार गाउँलेमा व्यवसाय दर्ता गर्नुपर्छ भन्ने चेतनासम्म छैन । जानकार भएकाले पनि दर्ता गर्दा के सेवा-सुविधा पाइन्छ, कसले दिन्छ, टाठाबाठाले मात्रै लिन्छन् भन्ने सोच रहेको उनी बताउँछन् ।

 

चुरे क्षेत्रमा पर्ने यो बस्तीमा काठले बनेका   ६ सय बढी घरधुरी छन् । पाखा र कान्लाका जंगलमा घाँस–दाउरा प्रशस्त छन् । गाउँलेले यही जंगलको स्रोतलाई आधार बनाएर वडामा अहिले २७ कृषि व्यवसाय दर्ता गराएका छन् । दर्ता भएका २७ कृषि व्यवसायमध्ये २१ बाख्रापालन रहेको वडाध्यक्ष मानबहादुर बस्नेतले जानकारी दिए ।

 

बाख्राको आम्दानीले समृद्धि

 

यहाँका स्थानीय बाख्रा पाल्नु भनेको किसानको बैंकमा जम्मा गरेको पैसाजस्तै हो भन्छन् । जतिखेर आवश्यक पर्‍यो त्यतिबेलै बिक्री गरेर खर्च व्यवस्थापन गर्न सहज हुने भएपछि बाख्रालाई बैंकसँग दाँजेको स्थानीय अभिमान राई बताउँछन् । ‘बाख्रा पालेर बजार लगिरहनु पर्दैन । घरमै व्यापारी आउँछन्’, स्थानीय खड्गबहादुर बस्नेत भन्छन्, ‘व्यापारी घरमै पैसा लिएर बाख्रा किन्न आउँछन् ।’ 

 

आफूलाई खर्चको खाँचो परेका बेला घरबाटै बिक्री गर्दै आएका स्थानीय गणेशबहादुर मगरलाई पनि बचत रकमजस्तै लाग्छ, बाख्रापालन । मान्छे घरैमा बाख्रा किन्न आएपछि व्यवसाय अगाडि बढाउन सहज भएको उनको अनुभव छ । पशुधनको रूपमा लिइएको बाख्रापालनलाई व्यावसायिक बनाउन सकिए आम्दानी खोज्न अन्त जानै नपर्ने स्थानीय पवित्रा मगर बताउँछिन् ।

 

बाख्रापालकले पाएनन् प्राविधिक सेवा 

 

ताप्लेजुङको आङ्खोप, अहिलेको सिदिङ्बा गाउँपालिकाबाट २०४३ मा माई नगरपालिका-१० घलेगाउँ आएका अभिमान राईले ३० वर्षदेखि परम्परागत रूपमै बाख्रा पाल्दै आएका छन् । गाउँमा सबैभन्दा पहिले बाख्रापालन सुरु गरेका उनले अहिलेसम्म पशु प्राविधिक सेवा दिन नआएको सुनाए ।

 

७५ वटासम्म बाख्रा पालेर पाँच जनाको परिवारको खर्च कटाएर पनि जग्गा जोड्न सकिएको उनी बताउँछन् । राई भन्छन्, बाख्रापालनबाटै बच्चा पढाएँ । सबै घरखर्च चलेकै छ । रोग लागेर उपचार नपाउँदा बाख्रा मरे ।’

 

मौसमी खेतीबालीको कामबाहेक बाख्रामै रमाइरहेका राई बाख्रापालनको सीप, आधुनिक खोर नहुँदा परम्परागत रुपमै पाल्नु परेको गुनासो गर्छन् । कतैबाट सहयोग पाउन नसकिएको उनी बताउँछन् । ‘बाख्रापालनलाई व्यावसायिक बनाउन  आधुनिक खोर निर्माण, उन्नत जात, ऋण र अनुदान पाउन सकिएको छैन’, उनले भने । 

 

बाख्रापालनलाई मुख्य आम्दानीको स्रोत बनाएका दुर्गादेवी राई बाख्राका लागि पशु प्राविधिक नहुँदा समस्या भएको सुनाउँछन् । ‘बाख्रापालन त गरेको छु तर कति खेर रोगले खोरै सखाप बनाइदेला भन्ने चिन्ता छ । बाख्रा बिरामी हुँदा उपचार गर्ने प्राविधिक सरकारले व्यवस्था गरिदिनुपर्छ’, उनले भने ।

 

वडामै छैन सरकारी अनुदान र पशु प्राविधिक

 

बाख्रापालन पछिल्लो समय मुख्य आम्दानीको स्रोत बने पनि वडामा पशु प्राविधिक छैनन् । सरकारी अनुदान पनि पाउन नसकिएको स्थानीयको गुनासो छ । पछिल्लो पुस्ताका युवामा समेत यो व्यवसायको आकर्षण बढेकाले बाख्रापालनलाई स्थानीयले मुख्य आम्दानीको स्रोत बनाए पनि सरकारी सहयोग पाउन नसकिएको स्थानीय गणेशबहादुर मगर बताउँछन् ।

 

भौगोलिक अवस्था पनि बाख्रापालनका लागि उपयुक्त रहेकाले किसानका लागि राहत पाउन मुस्किल भएको स्थानीय खड्गबहादुर बस्नेतको गुनासो छ । 

 

बस्नेत भन्छन्, ‘बाख्रापालनलाई व्यावसायिक बनाउन आवश्यक भए पनि  सरकारको आँखा पुगेन । वडामा पशु प्राविधिक छैनन् । स्थानीयले चाहेको पेसा व्यवसायमा सरकारले लगानी गरे मात्र दिगो आम्दानी लिन सकिन्थ्यो ।’ बाख्रापालनका लागि सरकारी अनुदान उपलब्ध गराउन पहल भइरहेको वडाध्यक्ष मानबहादुर बस्नेतले बताए ।

 

कर्मचारी अभावका कारण पशु प्राविधिक व्यवस्थापन हुन नसके पनि छिट्टै व्यवस्थापन गर्ने योजना रहेको उनी सुनाउँछन् । नगरपालिका प्रमुख दीपककुमार थेबे दर्ता गरेर व्यवसाय सञ्चालन गरेर  व्यावसायिक प्रस्ताव नगरमा पेस गरे मात्र कृषिमा अनुदान दिन सकिने बताउँछन् ।