close

काठमाडौंका सार्वजनिक जग्गामा अब पार्क, कहाँकहाँ बन्दै छ ?

काठमाडौंका सार्वजनिक जग्गामा अब पार्क, कहाँकहाँ बन्दै छ ?

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरले आर्थिक वर्ष ०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका ३० भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ।


ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ । महानरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गाको पहिचान गर्दै त्यसको संरक्षण गरी खुला क्षेत्र विकास गर्ने र हरियाली प्रवद्र्धन गर्ने कार्यलाई प्रमुख प्राथमिकताका साथ अघि बढाएको छ ।

 

अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले यो आर्थिक वर्षको बजेटमा पार्क निर्माण, हरियाली प्रवद्र्धनलगायतलाई प्राथमिकतामा राखिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।


‘हरियाली प्रवद्र्धन गर्ने, सहरको सौन्दर्य बढाउन पार्क निर्माण गर्ने महानगरको नीति नै हो,’ शाक्यले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र सम्वद्र्धनलगायतलाई प्राथमिकतामा राखेर अघि बढेका छौं ।’


‘महानगरबासीलाई टहलिन र खुला ठाउँमा आनन्द लिन यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाइएको  उनले बताए । नगरप्रमुख शाक्यले भने, ‘हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौं अभियानलाई पनि प्राथमिकतामा राखेका छौं ।’


महानगरले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर ज्येष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, ज्येष्ठ नागरिक आश्रम, सहिद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिला मैत्री पार्कलगायत रहेका छन् ।


त्यसो त, महानगरको पार्क निर्माण योजना आगामी आर्थिक वर्षका लागि मात्र होइन । महानगरले यसअघि पनि पार्क निर्माणका लागि बजेट छुट्याउँदै आइरहेको छ । यीमध्ये केही पार्कहरू निर्माणकै चरणमा छन् । कतिपय पार्क निर्माण हुन सकेका छैनन् ।

कुन पार्कका लागि कति रकम ?

योजनाअनुसार महानगरले वडा–१५ मा सहिद पार्क निर्माणका लागि १ करोड, वडा–५ मा नरबुद्ध पार्कका लागि १ करोड ५० लाख, कुलेश्वर आवास क्षेत्रभित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख विनियोजन गरेको छ ।


त्यस्तै, वडा–१४ को ज्ञानतीर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को कुमारी मन्दिर नजिकै र धोबीखोला दोभानको सार्जजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ ।


महानगरले वडा–८ को गुह्येश्वरीपारि पार्क निर्माण गर्न २० लाख, वडा–७ को कालोपुल र भत्केको पुलको बीचमा आइल्यान्डपार्क निर्माण गर्न ४० लाख, वडा–९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा–४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, वडा–४ कै शिवस्थली पार्क निर्माणका लागि अनुमानित ६ करोडमध्ये यस वर्षका निम्ति १ करोड विनियोजन गरेको छ ।


वडा–१४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्विमिङ पुल पुनर्निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१७ को धोबीचौर परिसरमा निर्माण र गाहिती पुनर्निर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तारका लागि १ करोड, वडा–३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणका लागि डीपीआर प्रतिवेदन तयार पार्न १ करोड विनियोजन गरेको छ । उक्त स्थानमा अहिले अल्पकालीन रुपमा हरियालीसहितको आइल्यान्ड निर्माण गरिएको छ ।


महानगरले आफ्नो ड्रिम प्रोजेक्टका रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माण गर्ने भनिएको भृकुटीमण्डपमा अहिले करीब २८ प्रतिशत मात्रै खुला स्थान रहेको महानगरको सहरी योजना आयोगले जनाएको छ ।


महानगरका अनुसार विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत २ करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, वडा–३१ मा ज्येष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि बहुवर्षीय योजनामा २ करोड विनियोजन गरिएको छ ।


त्यसैगरी वडा–३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बाग्मती मनोहरा दोभानदेखि बालकुमारी पुल हुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणका लागि दुई करोड, कोटेश्वर महादेवस्थानको सिँढी स्तरोन्नति र पार्क निर्माणका लागि ३० लाख विनियोजन गरेको पनि महानगरले जानकारी दिएको छ ।


त्यस्तै, वडा–३२ को जनमैत्री हरित उद्यान निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत १ करोड, वडा–२५ को महानगर ज्येष्ठ नागरिक पार्क निर्माणका लागि १ करोड, वडा–११ को थापाथलीमा सडक किनारा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को चेसपार्क स्तरोन्नतिका लागि ३६ लाख, वडा–४ को महानगर बाजे–बज्यै पार्कको बहुवर्षीय योजनाका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


वडा–३१ को प्रयोगमार्ग पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१० मा स्ट्रिटफुड पार्क निर्माणका लागि २५ लाख, वडा–१० को सानो गौचरण पार्क सुधारका लागि १ करोड, वडा नम्बर–३० को मैतीदेवी पार्क निर्माणका लागि ५० लाख, वडा–३१ को जागृति बाल उद्यान निर्माणका लागि ५० लाख, वडा–३२ को पुरानो टाउनप्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणका लागि ५० लाख, खुला योग तथा व्यायामशाला निर्माणका लागि ५० लाख, वडा–४ को विशालनगरमा पार्क निर्माण कार्यका लागि ५० लाख विनियोजन गरेको छ ।


महादेव खोला, बल्खु, करखुसी, सामाखुसी, विष्णुमती, बाग्मती नदी किनारको सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र नदी नियन्त्रणका लागि पनि महानगरले करिब ७ करोड बजेट विनियोजन गरेको छ ।


यी स्थानमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट नगरसभाबाट पारित भइसकेको छ ।


चालू आर्थिक वर्षमा बने दर्जन बढी पार्क

 

काठमाडौं महानगरले आर्थिक वर्ष २०७६÷०७७ मा २३ वडामा सहिद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ ।


त्यसैगरी वडा–४ मा टुँडालदेवी पार्क,  टुसाल पार्क निर्माणको काम पनि महानगरले सम्पन्न गरेको जनाएको छ ।

विभिन्न वडामा मदन भण्डारी पार्क, वडा नम्बर–४ मा सुकेधारा कृष्ण गल्ली पार्क, वडा नम्बर–३ मा बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क निर्माणको पनि महानगरले पहिलो चरणको काम सम्पन्न गरेको छ ।


यी ठाउँमा बन्दै छ पार्क

 

महानगरले आर्थिक वर्ष २०७६/०७७ मै न्ह्योखा, शान्ति नमुना, गौरीघाट हरियाली, धोबीखोला, त्रिपुरेश्वर ज्येष्ठ नागरिक, कुलेश्वर, कुलेश्वर आवास क्षेत्र, बाग्मती नगर, कुमारी, रानीबारी पोर्पा अजिमा, वडा–२१ मा लङ, कमलपोखरीलगायत पार्कको निर्माण सुरु गरिसकेको छ ।

 

यी पार्क निर्माणका लागि करिब ३८ करोड बजेट व्यवस्था गरेको छ । बाग्मती नगर पार्क करिब सात करोड र लङ पार्क करिब ६ करोडको लगानीमा निर्माण भइरहेका छन् ।


कमलपोखरी गुरुयोजनाअन्तर्गत करिब सात करोडको लगानीमा निर्माण कार्य सूचारु रहेको महानगरले जानकारी दिएको छ ।


महानगरको सहयोगमा छिमेकी नगरमा पनि


काठमाडौं महानगरले छिमेकी नगरपालिकासँग पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रवद्र्धनमा जोड दिँदै आएको छ । २७ माघ २०७६ मा काठमाडौंका दस नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण अघि बढाएको महानगरले जानकारी दिएको छ ।


ती पार्क निर्माणका लागि महानगरले प्रतिनगरपालिकाका लागि १ करोड रुपैयाँ दिइसकेको छ । अहिले सबै नगरपालिकाभित्र पार्क निर्माण भइरहेको महानगरले बताएको छ ।