close

चमेलिया आयोजना स्थलका बासिन्दा ४ वर्षदेखि अन्धकारमा

चमेलिया आयोजना स्थलका बासिन्दा ४ वर्षदेखि अन्धकारमा

Trulli
ADVERTISEMENT

दार्चुला - शैल्यशिखर नगरपालिका वडा नम्बर- १ का पदमबहादुर खडायतको घर वरपर विद्युतका पोल र तार गाडिएको तीन वर्ष भयो । घर अगाडि पोल गाडेपछि विद्युत पाउने आशा पलाएको थियो । घर नजिकै विद्युतगृह पनि छ । विद्युतगृहबाट गाउँ १५ मिनेटको दूरीमा छ । 


झट्ट हेर्दा गाउँमा विद्युतीकरण भएको होला भनेर जोसुकैले पनि अनुमान लगाउन सक्छन् । तर, गाउँमा पुग्दा भने अवस्था फरक देखिन्छ । 


तीन वर्षअघि गाडिएका विद्युतका पोल ढलिसकेका छन् । पोल गाडेको एक महिना नहुँदै विद्युतका पोलहरू ढलेका हुन् भने तारहरू चुँडिएर अलगअलग भएका छन् । गाउँ पूरै अन्धकार छ । घरमा टुकी र सोलार बालेर अहिले रात काट्नुपरेको खडायत बताउँछन् । 


२७ माघ २०७४ मा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर- १ शिखर बलाँचमा निर्माण भएको ३० मेगावाट चमेलिया जलविद्युत आयोजनाको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । विद्युत उद्घाटन गरेको चार वर्ष भयो, अहिलेसम्म आयोजनास्थलकै वरिपरि न त विद्युत बल्यो, न पोल नै ठडियो । 


साविकका शिखर गाविसका वडा नम्बर ३, ४, ५, ७, ८ र ९ का बस्ती अन्धकारमा छन् । यहाँका थाला, जोगेउडा, भुइँकाडा, बारिल, कमलकाडा, टुडालगायतका वस्तीमा विद्युत पुग्न नसकेको हो । 


घर अगाडि गाडिएका विद्युतका पोल हेर्नुबाहेकको विकल्प छैन, पशुपति नाथले भनिन्, ‘पोल गाडिएको वर्षौं हुँदा पनि पावर हाउस छेउकै बस्ती अन्धकारमा छन् ।’

 

‘घर छेउबाटै ३० मेगावाट चमेलिया जलविद्युतले सुदूरपश्चिम उज्यालो बनाएको छ । यहाँका स्थानीयले भने विद्युत समयमै पाउने आशा अझै छैन’, स्थानीय गणेश खडायतले भने । विद्युत स्थानीयले पाउनुपर्छ भन्दै पटकपटक आवाज उठाए तर सुनुवाइ भएको छैन । विद्युतकै लागि स्थानीयले आयोजनास्थलमा अनशनसमेत बसेका थिए । अनशन खुलाउने बेला तत्कालै विद्युतीकरण हुने बताइएको भए पनि अहिलेसम्म बत्ती बल्न सकेको छैन ।


अहिले विद्युत प्राधिकरण र ठेकेदारको लापर्वाहीका कारण स्थानीय निराश छन् । ‘गाउँमा केही ठाउँमा विद्युतका पोल र तार पुगेका छन् । विद्युतको ठेक्का पाएका ठेकेदार गाउँमा पुग्दैनन्’, खडायत भन्छन्, ‘हामीले राखेको मागबारे सुनुवाइ भएको छैन ।’


शैल्यशिखर नगरपालिका- १ का वडा अध्यक्ष भरतबहादुर खडायत विद्युत विस्तार चाँडो गर्नुपर्‍यो भन्दै पटकपटक मागपत्र बुझाउँदा पनि सुनुवाइ नभएको बताउँछन् । विद्युतीकरणका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण दार्चुलालाई वडाको तर्फबाट र सर्वसाधारणको भेला गरेर मागपत्र बुझाउँदा पनि कार्यायल जिम्मेवार नबनेको उनको भनाइ छ । 


जनताले चार वर्षदेखि बत्ती बाल्न पाएका छैनन् । अहिले पनि आयोजना छेउका स्थानीयले सोलार टुकीको भरमा बस्नुपरेको छ । तर, यस क्षेत्रमा विद्युतीकरण नगरिँदा समस्या भएको बारे सरोकारवाला उदासीन छन् । स्थानीयले तिहारको समयमा गाउँमा बत्ती बाल्न अल्टिमेटम दिए पनि विद्युत बल्न सक्ने अवस्था भने छैन ।


नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाह तीन-चार महिनाभित्र शिखरमा विद्युतीकरणको काम सकिने बताउँछन् । ‘अहिलेसम्म निर्माण व्यवसायीले बैतडी क्षेत्रमा काम गर्‍यो’, उनले भने, ‘बैतडीमा काम सकिएको छ । अहिले शिखर क्षेत्रमा काम गर्नका लागि तिहारलगत्तै विद्युत प्राधिकरणले तार दिएपछि विद्युतीकरणको काम सकिनेछ ।’