close

सामुदायिक तथा संस्थागत विद्यालय खुलाउँदै तिलोत्तमा, संक्रमित परिवारका लालाबाला भए ‘नो इन्ट्री’ 

सामुदायिक तथा संस्थागत विद्यालय खुलाउँदै तिलोत्तमा, संक्रमित परिवारका लालाबाला भए ‘नो इन्ट्री’ 

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय स्वास्थ्य सावधानी अपनाएर  आउँदो ७ मंसिरबाट खुल्ने भएका छन् । कोरोना महामारीको कारण गत चैतदेखि बन्द रहेका विद्यालय विद्यार्थीलाई भौतिक रुपमै कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउने गरी खुल्ने भएका हुन् । 

 

संघीय सरकारले तय गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचाअनुसार जनस्वास्थ्य प्रोटोकल मापदण्ड अवलम्बन गरी विद्यार्थीको पठनपाठन सुचारु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए । नगर शिक्षा समितिको विस्तारित बैठकमा छलफल भई नगरस्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार पारित गरेको मापदण्डमा रहेर विद्यालय खुल्ने उनले जानकारी दिए ।

 

तोकिएको मापदण्डअनुसार विद्यालय सञ्चालन भए-नभएको अनुगमन गर्न जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक संघ-संस्था, प्याब्सन, एनप्याब्सनका प्रतिनिधि रहेको अनुगमन समितिसमेत गठन गरिएको छ । 

 

मापदण्डअनुसार विद्यालयले कक्षाकोठाभित्र विद्यार्थीहरूको भौतिक दूरी कायम गर्न एक बेन्चमा दुई विद्यार्थी मात्र राख्ने व्यवस्था मिलाउनुपर्नेछ । विद्यार्थी संख्या, भौतिक पूर्वाधार उपलब्धतासमेतको आधारमा कक्षा १ देखि आलोपालो विधिबाट कक्षा सञ्चालन गर्ने मापदण्ड तय गरिएको छ ।

 

मापदण्डअनुसार अर्को निर्णय नहुँदासम्म विद्यालयले कक्षा १ भन्दा तल प्ले गु्रप, नर्सरी, एलकेजी, युकेजीका विद्यार्थीलाई विद्यालय बोलाउन पाइने छैन । 

 

ज्वरो तथा रुघाखोकी लागेका विद्यार्थी वा एकाघरका सदस्य कोरोना संक्रमित भए ती परिवारका विद्यार्थीलाई विद्यालय पठाउन पाइने छैन । विद्यार्थी, शिक्षक, कर्मचारी विद्यालय हाताभित्र प्रवेश गर्दा अनिवार्य रुपमा साबुनपानीले हातधुने, मास्क लगाउने, तापक्रम मापन गर्ने व्यवस्था सम्बन्धित विद्यालयले मिलाउनुपर्ने मापदण्डमा भनिएको छ ।

 

यस्तै, चार सयभन्दा बढी विद्यार्थी संख्या भएका विद्यालयले अनिवार्य रुपमा कम्तीमा एक जना विद्यालय नर्सको व्यवस्था गर्ने तथा सोभन्दा कम विद्यार्थी भएका विद्यालयले नजिकको सरकारी स्वास्थ्य संस्थासँग समन्वय र सम्पर्क गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने पनि मापदण्डमा उल्लेख छ ।


  
विद्यालयमा विद्यार्थीको बसाइ अवधि लामो हुन नदिन मध्यान्तर नगरी निरन्तर रुपमा कक्षा सञ्चालन गर्नुपर्ने, बस सेवा सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न नपाइने, बस प्रयोग गरेको दिनको आधारमा मात्र विद्यार्थीबाट बस भाडा लिनुपर्ने पनि मापदण्डमा तोकिएको छ ।

 

विद्यालयहरूले व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैलाई समेटी मापदण्डअनुसार कक्षा सञ्चालन कार्ययोजना बनाई १० मंसिरभित्र नगरपालिकाको शिक्षा शाखामा अनिवार्य रुपमा पेस गर्न नगरपालिकाले सबैलाई पत्राचार गरेको छ ।