close

जनताका गुनासा सुन्न नगरप्रमुखको घरदैलो अभियान

जनताका गुनासा सुन्न नगरप्रमुखको घरदैलो अभियान

Trulli
ADVERTISEMENT

दाङ-  दाङको तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डे विकट ग्रामीण क्षेत्रका जनताको गुनासो सुन्ने अभियानसहित घरदैलो चहार्न थालेका छन् । विकासका दृष्टिले पछाडि परेको उपमहानगरका विकट ठाउँका जनताले भोगेका कठिनाइ सुन्न र समाधान गर्न उपमहानगरप्रमुखले यस्तो अभियान चलाएका हुन् ।


‘‘जनतालाई प्रत्यक्ष भेट्दा वास्तविक समस्या थाहा हुन्छ र समाधानका लागि योजना बनाउन सजिलो हुन्छ,’ पाण्डेले भने । त्यसका लागि उपमहानगरका विभिन्न वडामा जनता भेट्ने कार्यतालिका बनेको छ ।’


जनताका गुनासा सुन्नैका लागि नगरप्रमुख पाण्डे वडा–१९ को विकट स्यालापानी र कुटिचौर पुगे । नगरप्रमुख घरदैलोमै आएपछि आप्mना गुनासाका पोका बिसाउन छिमेकी गाउँ तोप्पापानी, धरमपानी, श्रीचौरलगायतका ठाउँबाट मानिस भेला भएका थिए । ‘यसरी गाउँमै आएर समस्या सुनिदिने नेता पाइएको छ,’ स्थानीयले खुसी साटे ।


श्रीचौर टोल विकास संस्थाका अध्यक्ष तिलकराम घर्तीले स्वास्थ्य केन्द्रमा चौबीसै घन्टा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएपछि जनतालाई सहज भएको बताए । उनले नगरप्रमुख पाण्डेसमक्ष गाउँसम्मै पुग्ने सडक पक्की नहुँदा सास्ती बेहोर्नु परेको गुनासो गरे । तीन किलोमिटर सडक कालोपत्रेअन्तर्गत आधा मात्र काम भएको गुनासो गरे ।


विगतभन्दा विकासका केही काम अगाडि बढे पनि अझ धेरै बाँकी रहेको उनले नगरप्रमुखलाई जानकारी दिए ।


तोप्पापानी टोल विकास संस्थाका नन्दराम ओलीले सिँचाइ अभावका कारण खेत बाँझै रहेको बताए । ‘गाउँसम्म विद्युत् पुग्न सकेको छैन । केही ठाउँमा पोल गए पनि तार जोडिएन,’ उनले गुनासो गरे ।


आँगनबाटै बेलझुन्डी खानेपानीको पाइप गए पनि स्थानीयले प्रयोग गर्न नपाएको ओलीले नगरप्रमुख पाण्डेसमक्ष गुनासो गरे ।


शिवटोल विकास संस्थाका पहलबहादुर ओलीले स्यालापानी खोलामा तटबन्ध गरेर सिँचाइ सुविधा मिलाइदिन आग्रह गरे ।  विद्युत् प्राधिकरणले मिटर वितरणमा ढिलाइ गरेका कारण सिँचाइ हुन नसकेको बताए । केन्द्र सरकारले ठूला योजना मात्रै अगाडि बढाउने गरे पनि साना योजनामा ध्यान दिन नगरप्रमुखसँग ओलीले आग्रह गरे ।


कुटिचौर माविका प्रधानाध्यापक गोपाल खड्काले नगरप्रमुख पाण्डेसमक्ष स्थानीय सरकारको सहयोगमा विद्यालयको भौतिक संरचनाको काम अगाडि बढेको विद्यार्थी संख्या पनि विस्तारै उकालो लागिरहेको बताए । ‘पहिले दुई सय विद्यार्थी थिए, अहिले तीन सय ५० पुगेका छन्,’ प्रधानाध्यापक खड्काले भने ।


स्थानीयका गुनासो सुनेपछि नगरप्रमुख पाण्डेले जनताले सोचेअनुसार विकास गर्न आर्थिक स्रोत व्यवस्थापनमा कठिनाइ भएको बताए । ‘विकासका लागि जनताले योजना तानातान गर्ने प्रवृत्तिका कारण पनि कतिपय विकास अवरुद्ध भएको छ’, पाण्डेले भने ।

 

जनतामा विकासप्रतिको अपेक्षा बढ्दै गएकाले सबै मिलेर समृद्धिको लक्ष्य भेट्याउनुपर्नेमा उनले जोड दिए । ‘बत्ती नपुगेको ठाउँमा यो वर्ष नै सोलारमार्फत बत्ती पु¥याउने गरी काम अगाडि बढाउँछौं’, उनले भने ।


नगरप्रमुखको गाउँ चहार्ने टोलीमा कार्यपालिका सदस्य देवराज विक, वडा सदस्य धर्मा श्रेष्ठलगायत सहभागी थिए ।