close

भोलिबाट अधिकांश स्थानीय तहका विद्यालय खुल्दै, कतिपयमा अझै अन्योल

भोलिबाट अधिकांश स्थानीय तहका विद्यालय खुल्दै, कतिपयमा अझै अन्योल

Trulli
ADVERTISEMENT

काठमाडौं– सरकारले कोरोना जोखिमको मूल्यांकन गरी स्थानीय तहलाई विद्यालय खोल्ने अधिकार दिएसँगै देशभरका पालिकाहरु विद्यालय खोल्ने छलफलमा जुटेका छन् । कतिपय स्थानीय तहले आइतवारबाट पठनपाठन सुरु गर्ने निर्णय गरेका छन् ।


सिन्धुलीको कमलामाई नगरपालिकामा रहेका विद्यालय आइतवारबाट संचालन हुने भएका छन् । शुक्रबार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, विद्यार्थी लगाएत सरोकारबालाहरुको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अप्नाएर विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।


कमलामाई नगरपालिका अन्र्तगत रहेका सवै विद्यालयहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ बमोजिम कार्ययोजना बनाएर विद्यालय सञ्चालन गर्नु पर्ने उनले जानकारी दिए ।

 

सरुमारानीका पनि आइतवारबाटै

 

प्यूठानको सरुमारानी गाउँपालिका भित्रका विद्यालय पनि आइतवारबाटै खुल्ने भएका छन् ।

गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठकबाट तय भएका १३ बुँदे मापदण्ड अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमु गिरीले जानकारी दिए । विद्यालयलाई स्वास्थ्य मापदण्डहरु पालना गरी उच्च सतर्कताका साथ सजकता अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गरिएको उनले बताए ।


जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) को बिहिवार बसेको बैठकले बिद्यालय पठनपाठन  स्थानीय तहले कोभिडको अवस्था, सहजता हेरेर आवस्यक निर्णय लिन सक्ने निर्णय गरेको थियो । सोही अनुसार सरुमारानी गाउँपालिकाले बिद्यालय खोल्ने निर्णय गरेको जनाएको छ ।


सरुमारानी गाउँपालिका भित्र १८ प्रावि, आधारभुत २, मावि ७ , मदरसा २ वटा, संस्थागत ३ वटा गरी ३२ वटा विद्यालय छन् ।


स्याङ्जाको भीरकोट नगरपालिकाका सबै विद्यालय आइतवारबाटै खुल्दैछन् ।

नगरपालिकाका शिक्षा प्रतिनिधि तथा विभिन्न सामुदायिक र संस्थागत विद्यालयका प्रिन्सिपल तथा प्रधानाध्यापकहरुबीच भएको छलफलमा आइतबारदेखि विद्यालय संचालन गर्ने सहमति भएको हो ।

केही समयअघि मात्रै शिक्षा मन्त्रालयले विद्यालय संचालन गर्ने जिम्मा स्थानीय निकायलाई दिएपछि नगरलपालिकाले सक्रियता बढाएको हो ।

विद्यालय संचालन गर्न भने स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा अपनाउनुपर्ने छ । विद्यालय सवारीमा मास्क र सेनिटाइजर अनिवार्य राख्नुपर्ने छ । विद्यालय प्रवेशद्वारमा नै हात धुने व्यवस्था गरिएको हुनुपर्नेछ । स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउनुपर्ने छ ।

हेटौंडामा खोल्ने कसरत


कोरोना भाइरस जोखिम नभएका तथा कम जोखिम भएका विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारले पाएपछि हेटौंडाका विद्यालय खोल्ने कसरत गरिएको छ ।

 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय सरकारलाई दिएको थियो । हेटौंडा उपमहानगरपालिकाले शुक्रबार निजी विद्यालयका प्रधानाध्यापकसँग अन्तक्र्रिया गर्दै विद्यालय सञ्चालनको विषयमा छलफल गरेको छ । हेटौंडाका नगर प्रमुख हरि बहादुर महतले स्वास्थ्य सावधानी अपनाएर विद्यालय खोलिने जानकारी दिए ।

 

धेरै विद्यार्थी भएका विद्यालयमा पालैपालो पठनपाठन गर्ने महतले बताएका छन् । विद्यालयले स्यानीटाइजर, मास्क, हात धुने साबुनको अनिवार्य व्यावस्था गरी सामाजिक दुरी कायम गरेर मात्र पठनपाठन सञ्चालन गर्न आग्रह गरे । उपमहानगरले आगामी आइतबार सामुदायिक विद्यालयका प्रधानध्यापकसँग विद्यालय खोल्ने विषयमा छलफल गर्ने भएको छ ।

 

छलफलबाट निस्किएको निष्कर्षका आधारमा नगर शिक्षा समितिको बैठकले विद्यालय सञ्चालनको निर्णय गर्ने महतले बताए । निजी विद्यालयका प्रधानाध्यापकसँग कक्षा १ देखि १२ सम्मको पठनपाठन कसरी सञ्चालन गर्ने ? भन्ने विषयमा लिखित सुझाव लिइएको छ । कोरोना भाइरस संक्रमणका कारण विगत ८ महिना देखि निजी तथा सामुदायिक विद्यालय बन्द छन् ।

लकडाउनको अवस्थामा विद्यालय नै आइसोलेसन तथा क्वारेन्टाइनको रुपमा समेत प्रयोग भएका थिए । यसबीच वैकल्पिक विधिबाट समेत कतिपय विद्यालयले पठनपाठन सञ्चालन गरिरहेका छन् । तर अनलाइन प्रणालीमार्फत् सबै विद्यार्थीहरुको पहुँच पुग्न सकेको छैन ।