close

वषौंपछि भिडेमूलको मुहान धिमगाउँ झरेपछि...

वषौंपछि भिडेमूलको मुहान धिमगाउँ झरेपछि...

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको हिमाली गाउँपालिका वडा–६ धिमका स्थानीयले वर्षांैपछि आफ्नै घरअगाडि धाराको पानी झरेपछि खुसीयाली मनाएका छन् । खानेपानीको पहुँचबाट टाढा रहेका वडा–६ का स्थानीयले पहिलो पटक धाराको पानी उपभोग गर्न पाउँदा खुसी मनाएका हुन् ।


बाजुराका ९ स्थानीय तहमध्ये दुर्गम धिमका स्थानीयलाई हिमाली गाउँपालिकाको १ करोड १२ लाख लगानीमा १२ खानेपानीका धारा जडान गरिएका छन् । गत आर्थिक वर्षको ५० लाख र चालू आर्थिक वर्षको ५० लाख जम्मा १ करोडको लगानीमा खानेपानी धारा निर्माण भएको गाउँपालिकाका प्रवक्ता तथा वडा–४ का वडाअध्यक्ष रमेश विकले जानकारी दिए ।


उनले भने, ‘गत आर्थिक वर्ष ०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ५० लाख र गाउँपालिकाको ५० लाख लागानीमा खानेपानीको व्यवस्थापन भएको हो । धिमका प्रत्येक टोलमा खानेपानीका धारा पु¥याउने लक्ष्यअनुसार अहिले गाउँपालिकाले १२ लाख रकम छुट्याइसकेको छ’, उनले भने ।
 

धिमबासीलाई सहज खानेपानी व्यवस्था गर्न भिडेमूल खोलाको मुहानबाट पानी ल्याइएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल र उपाध्यक्ष चन्दादेवी बुढाले सुनाए । वडा–६ का वडाअध्यक्ष सुरेन्द्रबहादुर मल्लले भने, ‘गत आर्थिक वर्षमा सात वटा धारा निर्माण भएका छन् । यो आर्थिक वर्षमा पाँच वटा धारा निर्माण गरी धिमबासीलाई खानेपानीको व्यवस्था गरेका हौं ।’


पुस्तौंदेखि खोलाको पानी खान बाध्य धिमका स्थानीयले गाउँमै स्वच्छ पानीका धारा झर्न थालेपछि पानीकै लागि एक घन्टाको बाटो हिँड्ने समस्याबाट छुटकारा पाएका छन् । ‘गाउँदेखि झन्डै एक घन्टाको बाटो हिँडेर खोलाबाट पानी ल्याउनुपथ्र्यो । अहिले गाउँपालिकाले गाउँमै खानेपानीका धारा बनाइदिएपछि सहज भयो’, स्थानीय धिकता रावतले भनिन् ।
 

धिमगाउँबाट झन्डै १४ किलोमिटर टाढाको भिडेमूल खोलाको मुहानबाट ल्याइएको पानीले गाउँमा १२ वटा धारा निर्माण गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर रावतले जानकारी दिए ।


उनका अनुसार अहिले भिडेखोला खानेपानीबाट धिमेका झन्डै चार सय घरपरिवार लाभान्वित भएका छन् । यसअघि गाउँमा खानेपानी सुविधा नहुँदा घन्टौंको बाटो हिँडेर खोलाको पानी खानुपर्ने अवस्था हटेको स्थानीय कला रावत बताउँछिन् । ‘गाउँमै पानी आएपछि  बर्खाका बेला खोलाको धमिलो पानी खानुपर्ने र घन्टांै हिँडेर ल्याउनुपर्ने झन्झट हटेको छ,’ रावतले भनिन् ।


स्थानीयका घरघरमा पानी आएपछि गाउँका बाँझा जमिन पनि सदुपयोग हुन थालेका छन् । खानेपानी अभावले वर्षांंैदेखि बाँझै रहेका घरनजिकैका जमिन सदुपयोग गरी स्थानीयले तरकारी फलाउन थालेका छन् । ‘घर वरपरका बारी पनि हरियाली हुन थाले । घरघरमै पानी पुगेपछि गाउँघरका शौचालय सफा देखिन थालेका छन्’, गाउँपालिकाकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी भन्छन् ।

 

चार सय घरपरिवारलाई १२ वटा धाराले पर्याप्त पानी नपुगेको स्थानीयको गुनासो छ । ‘सरकारले एक घर एक धाराको अवधारणा लागू गर्ने भनेको छ । अहिले त्यो योजना गाउँमा लागू भएको छैन । यसका लागि स्थानीय सरकारलाई अनुरोध गरेका छौं’, उपभोक्ता समितिका अध्यक्ष रावतले भने ।


‘धिमेका झन्डै २२ सय घरधुरीका नागरिकलाई १२ वटा धाराले मात्र खानेपानी सम्भव नदेखिएकाले एक घर एक धारा निर्माणको अभियान अगाडि बढेको छ’, गाउँपालिका अध्यक्ष मल्लले भने ।