close

उदयपुरका घरमा भरिँदै छन् धानका भकारी

उदयपुरका घरमा भरिँदै छन् धानका भकारी

Trulli
ADVERTISEMENT

उदयपुर - उदयपुरमा यो वर्ष धान उत्पादन करिब १३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष खेतीको समय वर्षा हुनु र अनुकूल मौसम भएका कारण उत्पादन बढ्ने देखिएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको हो ।    


उदयपुरमा धानबालीका लागि उपयोग हुने कुल खेतीयोग्य जमिन १३ हजार तीन सय ८० हेक्टरमा यो वर्ष धान खेती गरिएको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख प्रकाश विश्वकर्माले बताए । ‘अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब १३ प्रतिशत उत्पादकत्व बढ्ने पूर्वानुमान गरेका छौं’, केन्द्र प्रमुख विश्वकर्माले भने ।

 

जिल्लाका आठ वटै स्थानीय तहमा रहेका कृषि विकास शाखाहरूले उपलब्ध गराएको तथ्यांकअनुरुप धान उत्पादन वृद्धि हुने आकलन गरिएको छ । तर, जिल्लाको क्षेत्रीय स्रोत केन्द्रबाट यकिन तथ्यांक नआउँदा अन्तिम नतिजा सार्वजनिक हुन अझै केही समय पर्खिनुपर्ने कार्यालयले जनाएको छ ।


स्रोत केन्द्र कटारी तथा बेल्टारलगायतका क्षेत्रबाट तथ्यांक आउन अझै केही समय पर्खिनु पर्ने अवस्था छ । जिल्ला सदरमुकाम तथा आसपास क्षेत्रलगायत कटारी नगरपालिकाको रिस्कु, त्रिवेणी, कटारी, तथा त्रियुगा नगरपालिकाको जोगिदह, चुहाडे, गैरन, राजावास, शाहीखोला र बागचौरीमा धान खेती बढी हुने गरेको छ ।


यस्तै, चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर, बेली, बसाहा, बेल्टार तथा बेलका नगरपालिकाको तपेश्वरी, भागपुर, आम्बासी, रामपुर, गुरुङचौरी र टप्पुलगायत क्षेत्रमा धान खेती गरिएको छ । 

 

जिल्लामा यस वर्ष किसानले भाले मन्सुली, मन्सुली, राधा १२, मिथेला, लोकतन्त्र, तरहरा १, सुख्खा १ र २, हर्दिनाथ १/२,  स्थानीय प्रजातिका धानको खेती गरिएको ज्ञान केन्द्रका प्रमुख विश्कर्माले बताए ।

 

गत वर्ष कुल १२ हजार सात सय ११  हेक्टरमा धान खेती गरिएको थियो । ४७ हजार नौ  सय २० दशमलव ४७ मेट्रिक टन धान उत्पादन भएको थियो भने यो वर्ष १३ हजार तीन सय ८० हेक्टरमा धान खेती लगाइएको र यसमा ५४ हजार आठ सय ५८ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको विश्वकर्मा बताउँछन् ।

 

यो वर्ष धान खेतीका लागि अनुकूल मौसम र फौजी किरालगायत रोगप्रकोप नभएकाले उत्पादन बढेको ज्ञान केन्द्रका प्रमुख विश्वकर्माले जानकारी दिए ।

 

जिल्लाभित्रै उत्पादनको मात्रा बढ्ने भएपछि खाद्य समस्या समाधान हुने उनी सुनाउँछन् । स्थानीय उत्पादनले थेग्न नसकेपछि यहाँका बजारमा सिरहा तथा सप्तरीका बजारबाट चामल आयात हुने गरेको छ ।

 

तर, अघिल्लो वर्षको तुलनामा यस वर्ष उदयपुरमा ६ हजार नौ सय ३८ मेट्रिक टन धान बढी उत्पादन हुने पूर्वानुमान गरिएको छ  ।