close

तन्नेरीलाई कृषि कर्ममा तान्दै खोटाङका स्थानीय सरकार 

तन्नेरीलाई कृषि कर्ममा तान्दै खोटाङका स्थानीय सरकार 

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको ऐसेलुखर्क गाउँपालिकाले कोभिड-१९ का कारण वैदेशिक रोजगारी गुमाएर थातथलो फर्किएका तथा गाउँमै कृषि पेसामा संलग्न विपन्न महिलालाई कृषि सामग्री वितरण गरेको छ ।


नेपाल कृषि सेवा विकास कार्यक्रम परियोजनासँगको साझेदारीमा गाउँपालिकाले कोरोनाका कारण रोजगारी गुमाएर घर फर्किएका १० युवा तथा गाउँमै कृषि पेसा अपनाइरहेका २० विपन्न महिला कृषकलाई कृषि सामग्री प्रदान गरेको हो । 


रोजगारी गुमाएर विभिन्न देशबाट फर्किएका युवालाई कृषि उद्यमशीलता विकास गर्न कृषि सामग्री प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक प्रमोदकुमार राजभण्डारीले बताए । 


‘रोजगारी गुमाएर विदेशबाट फर्किएका युवा तथा गाउँमै कृषि पेसा अपनाइरहेका विपन्न महिला कृषकलाई प्लास्टिक टनेल, प्लास्टिक पोखरी, स्प्रेयर, मल्चिङ, थोपा सिँचाइ, क्रेट, नर्सरी ट्रेलगायतका कृषि सामग्री प्रदान गरेका छौं’, उनले भने ।

 

गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले किसानलाई कृषि सामग्री हस्तान्तरण गरे । यस्तै, महिलाको कार्यबोझ घटाउन चार कृषक समूहलाई बहुउद्देश्यीय मिल, चार कृषक समूहलाई थ्रेसर, पाँच कृषक समूहलाई ब्रसकटर र चार समूहलाई मिनिपावर ट्रेलर प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

 

गाउँपालिकाले बाख्रापालक उद्यम विकासतर्फ पाँच बाख्रा फर्मलाई चाफकटर र नर्सरी सुदृढीकरणका लागि दुई नर्सरी सञ्चालक किसानलाई प्लास्टिक पोखरी, एग्रोनेट र प्लास्टिक टनेल प्रदान गरेको छ । 

 

दिक्तेल रुपाकोट मझुवागढीमा सय युवालाई कृषि सामग्री 

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोभिड-१९ का कारण रोजगारी गुमाएर विदेशबाट घर फर्किएका सय युवालाई कृषि सामग्री प्रदान गरेको छ ।

 

रोजगार गुमाएर फर्किएका नगरपालिकाका १५ वडाका युवालाई स्वीस सरकार-हेल्भेटास नेपालको आर्थिक सहयोगमा नेपाल कृषि सेवा विकास कार्यक्रममार्फत सिलपोलिन प्लास्टिक टनेल, थोपा सिँचाइ सेट र आइपिएम (एकीकृत शत्रुजीव व्यवस्थापनका सामग्री) प्रदान गरिएको नगरपालिकाका कृषि प्रसार अधिकृत धमेन्द्र कलौनीले बताए । 

 

नगरपालिकाले २० किसानलाई सिँचाइ पोखरीका लागि प्लास्टिक सहयोग तथा व्यावसायिक बाख्रापालक किसानलाई सात वटा बोयर जातका बोका वितरण गरेको जनाएको छ । कृषि सामग्री दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले हस्तान्तरण गरे ।

 

यस्तै, नगरपालिकाका ७० किसानलाई च्याउको बिउ र आवश्यक प्रविधि सहयोग (तालिम) उपलब्ध गराउने नगरपालिकाको तयारी छ । ‘शनिबार र आइतबार च्याउ उत्पादनसम्बन्धी तालिमसँगै किसानलाई यसको बिउ वितरण गर्छौं’, कृषि प्रसार अधिकृत कलौनीले भने ।


 
रावाबेंसीका किसानलाई ४७ लाख बराबरको कृषि सामग्री 

 

रावाबेंसी गाउँपालिकाले रोजगारी गुमाएर विदेशबाट फर्किएका तथा गाउँमै कृषि फर्म सञ्चालन गरिरहेका युवालाई कृषि सामग्री वितरण गरेको छ । 


रोजगारी गुमाएर स्वदेश फर्किएका तथा गाउँपालिकाकाभित्र सञ्चालनमा रहेका ५५ कृषि तथा पशुपालन कृषक समूहलाई गाउँपालिकाले स्वीस सरकारको आर्थिक सहयोगमा नेपाल कृषि सेवा विकास कार्यक्रममार्फत कृषि सामग्री वितरण गरेको हो ।


रोजगारी गुमाएर घर फर्किएका तथा गाउँपालिकाभित्रका ६ वडाका कृषि तथा पशुपालक किसानलाई ४७ लाख बराबरको कृषि सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लीलानाथ निरौलाले बताए । 

 

‘रावाबेंसीका किसानलाई तीन हजार सात २० केजी गहुँको बिउ, धान, गहुँ र कोदो झार्ने ६ वटा थ्रेसर मेसिन, मौरीका ६० आधुनिक घार, बिउ भण्डारण गर्ने एक हजार झोला, बोयर जातका चार बोका, घाँस काट्ने तीन वटा च्याफकटर प्रदान गरेका छौं’, निरौलाले भने ।

 

यस्तै, अन्न तथा पशुजन्य सामग्री तौलिने ६ थान वेट मेसिन, चल्ला उत्पादन गर्ने एक थान मेसिन (ह्याचरी), १२ थान प्लास्टिक पोखरी, माछालाई अक्सिजन दिने एक थान मेसिन र मकै छोडाउने तीन थान मेसिन पनि वितरण गरिएको अध्यक्ष निरौलाले बताए । 

 

६ कृषक समूहलाई थ्रेसर मेसिन, तीन वटा बाख्रा फर्मलाई चाफकटर र ६ वटा बाख्रा फर्मलाई तौलिने वेट मेसिन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।