close

लाखौं खर्चेर बनाइएका सदरमुकामका शौचालय अलपत्र

पिसाब लाग्यो कि खोल्सा खोज्नुपर्ने बाध्यता

लाखौं खर्चेर बनाइएका सदरमुकामका शौचालय अलपत्र

पिसाब लाग्यो कि खोल्सा खोज्नुपर्ने बाध्यता

Trulli
ADVERTISEMENT

गुल्मी– तम्घासको बालमन्दिर नजिक दुईजना व्यक्तिले पिसाब गर्दै गरेको  तस्विर सामाजिक संजालमा भाइरल भयो । खुल्ला दिसामुक्त जिल्लाकै ठुला अड्डा अगाडिको त्यो दृश्य निकै लजास्पद थियो ।

 

जिल्लामा यो नौलो बिषय भने होइन । तम्घासको मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय छैनन् । भएका पनि प्रयोगमा छैनन् । क्षेत्र नं २ को मुख्य व्यापारिक क्षेत्र उदिनढुङा हो । सँगै बसपार्क पनि छ ।


नागरिक र सवारीसाधन आवतजावत गर्ने उदिनढुङामा कुनै सार्वजनिक शौचालय छैन् । दैनिक सयौं गाडी बसपार्कमा हुन्छन् । त्यो भन्दा तेब्बर संख्या मानिसको हुन्छ । तर, दिसा पिसाब लागे होटल वा गोप्य पिछाड खोज्नुपर्ने बाध्यता रहेको इस्मा गाउँपालिका–४ दोहलीका सवारी चालक दामोदर बस्नेतले गुनासो गरे ।

 

बाटोमा पनि दिसापिसाव गर्ने स्थान नभएकाले सदरमुकाम आउने यात्रुहरु मर्कामा पर्ने गरेको बस्नेतले बताए । ‘तम्घासमा पिसाब लागे होटल छिर्नुको बिकल्प छैन । तर, सवैसँग पर्याप्त पैसा हुँदैन,’ उनले भने, ‘शौचालयका बिषयमा कैयौंपटक यात्रुले गुनासो गर्छन् ।’


सार्वजनिक शौचालय नहुँदाको बसपार्क र बजारकै छेउँमा लुकेर पिसाब गर्नेहरुका कारण दुर्गन्ध फैलिएको छ । अलपत्र बसपार्क भवनमा समेत पिसाब फेर्ने गरिएको छ । त्यस्तै मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रुसँगै सरकारी कार्यालय आउने सेवाग्राही र बजारमा किनमेल गर्ने ग्राहकहरु मर्कामा परेका छन् । सवै सरकारी कार्यालयको शौचालयमा सेवाग्राहीको पहुँच छैन ।


कार्यालयमा लामो सयम बिताउनेहरु बढी समस्यामा छन् । बजार गर्न आउनेहरु पनि होटलमा नास्ताको बहाना बनाएर शौचालयको प्रयोग गर्न बाध्य छन् । ‘बाटोमा गाडीले पनि भनेको ठाउँमा रोकेन, बजारमा कहाँ पिसाब फेर्नु?’, मालिका गाउँपालिका २ का रोशन थापाले भने, ‘सदरमुकाममै सार्वजनिक शौचालय नहुनु निकै लज्जाको बिषय हो ।’


शहिचोकमा तत्कालीन जिल्ला विकास समिति र तम्घास गाविसको आर्थिक सहयोगमा निर्माण गरिएको सार्वजनिक शौचालय प्रयोगबिहीन छ । शौचालय निर्माण गरेको करिव १० बर्ष पुग्यो तर, सरसफाई र नियमित संचालनको व्यवस्थापन नहुँदा सर्वसाधरणले प्रयोग गर्न पाएका छैनन् ।

 

‘पसलमा आउनेहरुले पिसाब लागेर दुःख पोख्छन् नजिकैको शौचालय प्रयोगमा छैन,’ पाल्पाली फेन्सी स्टोर्सका संचालक देवराज पाण्डेयले भने, ‘राज्यको लगानी बालुवामा पानी बन्यो ।‘ अर्घाखाँची बसपार्क पुतली बजारमा तीन बर्ष अघि निर्माण गरिएको शौचालय पनि संचालनमा छैन ।

 

स्थानीयका अनुसार त्यो शौचालय करिव १३ लाखमा निर्माण गरिएको हो । तर, संचालन नहुँदै शौचालयको आधा भाग चर्किएर भत्किन लागेको छ । निर्माण भएको तीन वर्षसम्म शौचालय संचालनको विषयमा नगरपालिकाले कुनै पहल नगरेको अर्घाखाँची बसपार्क सरसफाई समिति संयोजक दिपक आचार्यले गुनासो गरे ।


‘दिसापिसाब गर्न होटल र खोल्सा कुर्नुपर्ने बाध्यतामा नागरिक छन्, लाखांै खर्चेको शौचालय संचालन नभई भत्किन थाल्यो,’ उनले भने, ‘खै स्थानीय सरकार कहाँ छ, पत्तै छैन् ।’

 

भगतवती मन्दिर नजिकै पनि लेकबेसी आमा समूह र बुढाथोकी बसपार्कमा अनटेष्ट युवा क्लवले निर्माण गरेका शौचालय भने नियमित छन् । क्लब र समुहले एक÷एक जना व्यक्तिलाई शौचालय सरसफाई र हेरविचारको जिम्मा दिएको स्थानीयले बताए ।


मुख्य बजार क्षेत्रको उदिनढुङा, पुरानो बजार, लाँकुरीमञ्च र बुढाथोकी बसपार्कमा नियमित संचालन हुने सार्वजनिक शौचालयको आवश्यकता छ । बिकल्पको रुपमा क्लवले बनाएका शौचालय नियमित संचालन र सरसफाई गरे केही सहज हुने व्यवसायीहरु बताउँछन् ।


जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, अदालत, सरकारी वकिल कार्यालय, जिल्ला प्रहरी, कृषि, वन, अस्पताल र स्वास्थ्य कार्यालय लगभग एकै ठाउँमा छन् । सेवाग्राहीको निकै भीड हुने कार्यालयहरु भएकै स्थानमा सार्वजनिक शौचालय छैनन् ।


रेसुंगा नगरपालिका १ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बजारीकरण र जनसंख्याको हिसावले सार्वजनिक शौचालयको महसुस भएकाले नयाँ निर्माण तथा पुराना व्यवस्थित गर्ने बिषयमा छलफल भइरहेको बताउँछन् । उनले गत वर्ष थोरै बजेटमा केही काम भएको र अहिले पनि पुनः बजेट बिनियोजन भएकाले थप काम गरिने बताए ।