close

दुर्गम गाउँपालिका सिलिचोङमा अब भिडियो एक्सरे सेवा 

दुर्गम गाउँपालिका सिलिचोङमा अब भिडियो एक्सरे सेवा 

Trulli
ADVERTISEMENT

संखुवासभा - संखुवासभाको दुर्गम क्षेत्रमा पर्ने सिलिचोङ गाउँपालिकाको ताम्कुमा भिडियो एक्सरे सेवा सुरु भएको छ । भिडियो एक्सरे सेवा सुरु भएपछि सिलिचोङका स्थानिय हर्षित भएका छन् । 

 

सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा रहेको अस्पतालमा भिडियो एक्सरे सेवा सुरु भएको हो । यो सँगै गर्भवती महिलाहरुले बच्चाको अवस्थाबारे जानकारी लिन दुई दिनसम्म पैदल यात्रा र धेरै खर्च गरेर सदरमुकाम खाँदबारी पुग्नुपर्ने बाध्यता हटेको स्थानीयले बताए ।  

 

सिलिचोङ भौगोलिक रूपमा विकट हुनुका साथै सदरमुकाम खाँदबारीदेखि सीधा यातायातको सुविधालेसमेत छोएको छैन । अधिकांश समय उक्त अस्पतालमा अहेब र अनमीले अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । एकजना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि उक्त अस्पतालमा भौगोलिक कारणले कर्मचारी तथा स्वास्थ्यकर्मीहरू नै बस्न मान्दैनन् । 

 

ताम्कुमा गत साताबाट सुरु भएको एक्सरे सेवा ग्रामीण क्षेत्रमा अत्यन्तै प्रभावकारी भएको छ । एक गैरसरकारी संस्थाले पाँच लाखबराबरको युएसजी मेसिन र २१ दिने तालिम सहयोग गरेपछि ताम्कुको उक्त अस्पतालमा सेवा सुचारु भएको हो । 

 

गाउँपालिकाको प्रत्येक वडाको स्वास्थ्य संस्थामा गएर प्रत्येक दुई-दुई महिनामा नियमित शिविर समेत सञ्चालन गर्ने योजना रहेको सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र कुलुङले बताए । 


सिलिचोङ गाउँपालिकामा पाँचवटा वडा रहेका छन् । हालसम्म एक सयभन्दा बढी गर्भवती महिलाले भिडियो एक्सरे सेवा लिएका छन् । उक्त सेवामार्फत आमा र बच्चाको मृत्युदरमा समेत कम हुने गाउँपालिकाले विश्वास लिएको छ । 

 

गर्भवती महिलाले गाउँमा नै यस्तो सेवा पाएकोमा खुसी ब्यक्त गरेका छन् । धेरै समयको प्रयासपछि यो सफलता हात परेकोमा गाउँपालिकाका अध्यक्ष राम बहादुर कुलुङसमेत मख्ख छन् ।