close

धितुङका विपन्न किसानलाई निःशुल्क कृषि सामग्री

धितुङका विपन्न किसानलाई निःशुल्क कृषि सामग्री

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका किसानलाई निःशुल्क बिउ तथा कृषि सामग्री वितरण गरिएको छ । नगरपालिकाको आग्रहमा जीवकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत स्वीस सरकार विकास सहयोगको सहयोगमा शनिबार धितुङका तीन सय ४५ घरपरिवार किसानलाई कृषि सामग्री तथा बिउ वितरण गरिएको हो ।


विपन्न किसानलाई हलेसी तुवाचुङ नगरप्रमुख इवन राई र उपप्रमुख  विमला राईले हिल ट्यांकी, प्लास्टिक टनेल, सिड–स्प्रे, हजारी र बीउबिजन वितरण गरे ।

 

नगरपालिकाका ११ वडामध्ये २५ कात्तिकमा  हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका तीन सय २५ परिवार र ४ मंसिरमा   हलेसी तुवाचुङ–९ सल्लेका दुई सय १६ किसानलाई कृषि तथा बिउबिजन वितरण गरिसकिएको नगरप्रमुख राईले बताए ।


‘किसानलाई निःशुल्क बिउ र कृषि सामग्री वितरण गर्न नगरपालिकाको बजेटले पुग्दैन । सोही कारण कारितास नेपाल र नवकिरण सेवा समाज नेपालको सहजीकरणमा नगरपालिकाका १० रोपनीभन्दा कम जग्गा भएका किसानलाई कृषि सामग्री वितरण सुरु गरेका हौं’, नगरप्रमुख राई भन्छन् ।


गत वर्षको लामो खडेरीका कारण खाद्य संकट झेलेका किसानका लागि नगरपालिकाले राहत माग गरेको आधारमा चार हजार ५३ किसानलाई दुई करोड ४४ लाख वरावरको कृषि सामग्री एबं बिउ उपलब्ध गराएको हो ।

 

किसानले रोजेको कृषि सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । कृषि सामग्री तथा बिउ क्रमशः अन्य वडाका किसानलाई पनि वितरण गर्ने तयारी छ ।


बाहुनीडाँडाका तीन सय ९४, डिकुवाका तीन सय ८०, च्यास्मिटारका तीन सय ९७, बडहरेका दुई सय ८८, दुर्छिमका चार सय ५४, मंगलटारका तीन सय ४०, महादेवस्थानका तीन सय ३३, सल्लेका दुई सय १६ र राजापानीका पाँच सय ८१  कृषकलाई कृषि सामग्रीका साथै बिउबिजन वितरण गरिने नगरपालिकाले बताएको छ ।

 

‘गत वर्षको खाद्य संकटको समय हामीले संघीयर, प्रदेश सरकार र दाता निकाय एसडिसीलाई सहयोगका लागि आग्रह गरेका थियौं । सोही आधारमा  एसडिसीबाट सहयोग प्राप्त भएको हो,’ नगरप्रमुख राईले भने, ‘हामीलाई संघीय र प्रदेश सरकारबाट सहयोग प्राप्त भएन ।’