close

खस्कँदै नेपाली हाते कागजको उत्पादन

खस्कँदै नेपाली हाते कागजको उत्पादन

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङलाई उद्योग वाणिज्य संघ बाग्लुङले एक जिल्ला एक उत्पादनका लागि नेपाली हाते कागजको जिल्ला घोषणा गरेको छ । उद्योग वाणिज्य महासंघले पनि बाग्लुङलाई हाते कागजको जिल्लाको रुपमा चिनाएको छ । 

 

तर, बाग्लुङमा हाते कागजको उत्पादन बर्सेनि खस्कँदो अवस्थामा छ । भएका उद्योगहरू पनि संरक्षण नहुँदा धराशयी बन्दै गएका छन् । उत्पादन घट्दा कामदार पलायन भएका छन् भने ग्रामीण उद्योगहरू जीर्ण बन्दै गएका छन् । कतिपय लोप भइसकेका छन् ।


कच्चा पदार्थ संकलनमा कठिनाइ, कामदार अभाव र बजारीकरणमा समस्या भएको उद्यमीहरूको गुनासो छ । बजारमा सजिलै बिक्री नभएपछि उत्पादनमा लागेकाहरूले पनि अर्को पेसा रोज्न थालेका छन् । 

 

लेखानीमा केही वर्ष अघिसम्म सञ्चालित उद्योग अहिले धराशयीजस्तै छ । ‘पहिला दर्ता नभई चलेको रहेछ । दर्ता प्रक्रिया थाल्दै छौं,’ काठेखोला गाउँपालिका वडा-  ८ की अध्यक्ष चित्रकला छन्त्यालले भनिन्, ‘उद्योग विभागमा दर्ताका लागि धेरै प्रक्रिया पूरा गर्नुपर्ने देखियो ।’ 

 

हाते कागज केही समयअघिसम्म स्थानीय जंगलको लोक्ताबाट उत्पादन भएकामा टाढाबाट ल्याउँदा अनिवार्य दर्ता हुनुपर्ने बाध्यताले उनीहरू त्यसको प्रक्रियामा अगाडि बढेका हुन् । सामान बिक्री गर्दा बनाउने बीिदेखि खरिद गर्दाको भुक्तानीसमेत दर्ता प्रमाणपत्र अनिवार्य भएकाले उद्यमीको एकल प्रयासले नहुने छन्त्यालले बताइन् ।

 

पालिका तहबाट भौतिक पूर्वाधारमा अनुदान वा निर्माणको काममा सहयोग गर्न सकिने गाउँपालिका अध्यक्ष अमर थापाले बताए । केही मर्मतका लागि चालू वर्ष पनि बजेट रहेको उनले जानकारी दिए । 

 

तमानखोलामा दशकअघिसम्म सञ्चालित घरेलु उद्योग सबै नासिएका छन् । तमानमा नेपाली हाते कागज उत्पादन हुन्थ्यो । बजार व्यवस्था नहुनु र कागजको गुणस्तर सुधारसमेत नभएपछि लोप भएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । 

 

‘बजारको आधुनिक नेपाली कागजसँग हाम्रा उत्पादनले प्रतिस्पर्धा गर्न सकेनन् र लोप भए,’ बुढाले भने, ‘परम्परा जोगाउन पहल गरे पनि कामदार पाइन छाडे ।’

 

नेपाली हाते कागजका लागि सानो लगानी र हातैले काम गर्नुपर्ने भएकाले उद्यमीले धेरै मिहिनेत गर्नुपर्छ । तर, बजारिया सामानसँग प्रतिस्पर्धी मूल्यमा जानुपर्दा गाह्रो भएको उनले बताए । 

 

फोटोकपी गर्न मिल्ने, प्रिन्टमा प्रयोग हुने गुणस्तरको नेपाली कागजको माग बजारमा भए पनि परम्परागत विधिबाट सम्भव नभएको उद्यमीहरू सुनाउँछन् । 

 

ताराखोलामा एउटा उद्योग सञ्चालनमा छ तर उक्त उद्योगले उत्पादन गरेको कागज  फोटोकपीका लागि उपयुक्त छैन । त्यसैले बजारमा प्रतिस्पर्धी बन्न सकेका छैनन् ।  उद्यमीले डायरी, झोलाजस्ता सामग्री बनाएका छन् । 

 

गाउँपालिकाको समेत सहयोग पाएर ताराखोलास्थित जुल्फे लोक्ता प्रशोधित तथा हाते कागज समूहले मात्र अहिले व्यावसायिक कागज उत्पादन गरेको छ । कार्यालय प्रयोजनका लागि भने बिक्री नभएको ताराखोलाकी उद्यमी मीरा रोकाले गुनासो गरिन् । 

 

घरेलु तथा साना उद्योग विकास समितिको रणनीतिक योजनामा पनि नेपाली कागज संरक्षण गरिने सूचीकृत थियो । समितिबाट कार्यालयमा रुपान्तरण भएपछि यो विषय ओझेल परेको छ । ताराखोलाले घर-घरमा उद्यमी बनाउने योजनामा पनि हाते कागज उल्लेख छ ।

 

बाग्लुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी संरक्षणको योजना भए पनि बजारका अन्य कागजले स्थानीय उत्पादन ओझेल परेको बताउँछन् । ‘संघले गर्ने उपयोगमा धेरैजसो स्थानीय उत्पादन प्रयोग गरेका छौं तर मेसिनहरू नयाँ ल्याएर बजारको प्रतिस्पर्धी बनाउन सकिएको छैन,’ राजभण्डारीले भने, ‘महासंघले यो कार्यक्रम स्थगित गरेकाले पहिलाजस्तो अभियानमा जोड्न सकिएको छैन ।’


लोक्ताको नर्सरी बनाएर उत्पादन बढाउने योजना भने संघले बनाएको उनले दाबी गरे । संघ र अन्य सरकारी संस्थामा अहिलेसम्म जिल्लाको यकिन उत्पादन र आयात निर्यातको तथ्यांक छैन ।