close

‘वडा अध्यक्षले जाडोमा लुगा दिन्छ, तलब पनि कहिल्यै लिँदैन रे !’

‘वडा अध्यक्षले जाडोमा लुगा दिन्छ, तलब पनि कहिल्यै लिँदैन रे !’

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका वडा नं.- ५ का वडा अध्यक्ष डण्डु शेर्पा निर्वाचित भएर आएको छ महिना पूरा हुनेवित्तिकै गाउँसभामार्फत घोषणा गरे- ‘म यो कार्यकालभर आफ्नो पारश्रमिक निजी प्रयोजनमा खर्च गर्दिनँ, गाउँकै जनतालाई फाइदा हुने गरी कुनै सामाजिक काममा खर्चिनेछु ।’ 


पहिलो पटक जनप्रतिनिधि भएका उनलाई आफ्नो पहिलो अनुभव लिनै छ महिना लाग्यो । तीन वर्ष भयो, त्यसपछि उनले वर्षभरिको आफ्नो पारिश्रमिक गाउँपालिकाबाट एकमुष्ट बुझ्छन् र पालिकाभरका जेष्ठ नागरिकलाई न्यायो कपडा खरिद गरेर वितरण गर्छन् । 


वितरणका लागि उनले कार्यतालिका पनि बनाएका छन् । त्यो हो- मंसिर महिनाको पहिलो साता । उनले आइतबार पनि पालिकाभरका १५१ जना जेष्ठ नागरिकलाई न्यानो कपडा बाँडेका छन् । यस पटक उनले ज्याकेट, टोपी, भुवावाला ट्राउजर र टेक्ने लौरो वितरण गरेका छन् । यी सामग्री वितरण गर्न डण्डुको मासिक पारिश्रमिकबापतको वार्षिक रकमले पुग्दैन । ‘बाँकी आफैँ थपथाप गर्छु र वितरण गर्छु’, डण्डुले भने । 


वडा अध्यक्ष डण्डुले पारिश्रमिकबापत मासिक १८ हजार रुपैयाँ पाउँछन् । यसो गर्दा उनले पाउने वार्षिक रकम भनेको दुई लाख १६ हजार रुपैयाँ हो । तर, उनले वार्षिक करिव दुई लाख ५० हजार रुपैयाँदेखि दुई लाख ७० हजार रुपैयाँ बराबरको सामग्री खरिद गरी वितरण गर्दै आएका छन् । 


यस वर्ष दुई लाख ७० हजार रुपैयाँको सामग्री वितरण गरिएको उनले जानकारी दिए । जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गर्न आयोजित कार्यक्रमको सम्पूर्ण खर्च उनी आफैँले वहन गर्दै आएका छन् । 


वडा सचिव बिमल यक्सोका अनुसार कार्यक्रममा सहभागीलाई चिया र खाजाको प्रबन्धका लागिसमेत वडापालिकाबाट एक पैसा खर्च हुँदैन । ‘सम्पूर्ण खर्च उहाँकै हो’, वडा सचिव यक्सोले भने । 


यस वर्ष कोरोना सन्त्रासका कारण विनाभीडभाड कार्यक्रम गरिएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए । कार्यक्रम स्थलमा मास्क र स्यानिटाइजरसमेतको प्रबन्ध उनी आफैँले गरेका थिए । 


हिमालको नजिक पर्ने पापुङ बढी चिसो हुने क्षेत्र हो । त्यसैले यहाँ न्यानो कपडा आवश्यक हुन्छ । अझ बालबालिका र वृद्धवृद्धाका लागि वयस्कहरूलाई भन्दा बढी न्यानो आवश्यक हुन्छ । ‘यही भएर वडा अध्यक्ष न्यानो कपडा वितरण कार्यक्रम राखिएको हो’, डण्डुले भने । 


पहिलो छ महिनाको सेवा, सुविधा आफूले बुझेकामा उनलाई पश्चात्ताप छ । उनले त्योभन्दा बढी रकम त जेष्ठ नागरिकका लागि खरिद गरिएका न्यानो कपडामा खर्चिएका छन् तर पहिलो छ महिनाको सुविधा भने आफैँले भोग गरे । ‘थाहा नपाएर मबाट त्यो भूल भयो’, उनले भने । 


आफू सुविधाभोगका लागि नभई जनताको सेवक बन्न नै वडा अध्यक्ष भएको बताउने डण्डुले आफ्नो पारिश्रमिक जनताकै लागि खर्चिएको जानकारी दिए । स्थानीय ७६ वर्षीय बिर्खबहादुर साँवाले बर्सेनि वडा अध्यक्षले दिएकै न्यानो कपडाबाट हिउँद कटाउँछन् । ‘बर्सेनि दिन्छ, किन्नुपरेको छैन तलव पनि लिदैन रे ’, वडाध्यक्ष डण्डुप्रति लक्षित गर्दै उनले आफ्नै भाषा र शैलीमा भने । 


जनप्रतिनिधिहरू सुविधाभोगी भएको भनेर तीब्र आलोचना भइरहेका बेला डण्डुको मनकारी व्यवहारले ‘यस्ता पो जनप्रतिनिधि’ भन्ने उदाहरण प्रस्तुत भएको स्थानीय बताउँछन् ।