close

झुलाघाट नाका खोलिँदै 

झुलाघाट नाका खोलिँदै 

Trulli
ADVERTISEMENT

बैतडी- भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ । ८ मंसिर सोमबारदेखि १२ मंसिर शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । ‘भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सहज होस् भनेरै पाँच दिनका लागि नाका खोल्ने तयारी भएको हो’, उनले भने ।


नेपाल सरकारको निर्णयपछि जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए ।


पेन्सनधारी नेपाली नागरिकले कोरोनाका कारण सीमानाका बन्द भएपछि गत चैतदेखि पेन्सन थाप्न पाएका छैनन् । नाका खुलेको समय पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरूले समेत आउजाउ गर्न सक्नेछन् ।


बैतडीमा एक हजार २०० भन्दा बढी भारतीय पेन्सनधारी नागरिक छन् । पाँच दिनभित्र पेन्सन बुझ्न नाका खोलिन लागेको हो । नाकामा पेन्सनधारीहरूले आउजाउ गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड पालना गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।


गत चैतमै नाका बन्द भएपछि पेन्सन बुझ्न नपाएका भारतीय पेन्सनधारी नेपालीलाई दैनिक छाक टार्ने समस्या भएको छ ।

 

सुर्नया गाउँपालिका- २ का हरिजितसिंह पाण्डेले भने, ‘पेन्सन बुझ्न नपाउँदा आर्थिक समस्या भएको छ । पेन्सन नबुझेको नाै महिना भयो । ११ महिनासम्म झुलाघाटबाट पेन्सन ल्याउन नसके इलाहावाद जानुपर्छ । उता फेरि धेरै कागजात पुर्‍याउनुपर्छ । वृद्ध भएकैले समस्या हुन्छ । अहिले नाका खुल्ने खबरले खुसी छौँ ।’


विगतमा भारतमै काम गरेका पेन्सनधारीले पाउँदै आएको ज्येष्ठ नागरिक भत्तासमेत सरकारले कटौती गरेपछि झनै समस्या भएको दशरथचन्द नगरपालिका- ६ का अभिषेक जोशीले बताए । 

 

‘विगतमा भारतीय पेन्सनधारीले नेपालबाट वृद्धभत्तासमेत पाउँदै आएका थियौँ । अहिले त्यो पनि कटौती भयो । यसले गर्दा नाका बन्दको समय चाडपर्वमा समेत बेखर्ची बस्नुपर्‍यो’, उनले भने ।


पेन्सन बुझ्नका लागि नेपालमा कुनै बैंक स्थापना गरिदिन भारतीय पेन्सनधारीहरूको माग छ । बैंक स्थापनाका लागि पहल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जेगीले बताए ।