close

बुटवल उपमहानगरद्वारा विद्यालयसँग कक्षा संचालन कार्ययोजना माग

बुटवल उपमहानगरद्वारा विद्यालयसँग कक्षा संचालन कार्ययोजना माग

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उपमहानगरपालिकाले कोरोनाको महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय संचालनको अवस्थाबारे सरोकारवालासँग सुझाव मागेको छ । महामारी रोकथाममा सक्रिय हुँदै आएको उपमहानगरले स्वास्थ्य संवेदनशीलता र बालबालिकामा रहेको जोखिमलाई दृष्टिगत गरी विकल्पसहितको कार्ययोजना माग गरेको हो ।


शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवाहरूसँग महामारीबाट जोगिँदै विद्यालय संचालन गर्ने उपायबारे उपमहानगरले सुझाव माग गरेको हो ।  उपमहानगरलाई नागरिक स्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिनेछ । 

 

उपमहानगरले कोरोना महामारीको संक्रमण कम रहेका वडाका विद्यालयमा पठनपाठन नियमित गराएको छ भने जोखिम धेरै रहेका ठाउँमा कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ । उपमहानगरले सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसँग मागेको कक्षा संचालनका लागि कार्ययोजना ८ मंसिरसम्म पेस गर्नुपर्नेछ । 

 

बुटवलका वडा- १ देखि १३ मा रहेका सामुदायिक र संस्थागत विद्यालयमा नियमित कक्षा संचालनको अवस्था, सम्भावना र जोखिमबारे विस्तृत विवरण उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए । 

 

‘तोकिएका वडाका विद्यालयहरूबाट आउने कार्ययोजना एवं सुझाव अध्ययन र स्वास्थ्यसम्बन्धी विज्ञ, चिकित्सक, प्राविधिकसँग थप छलफल गरेर कक्षा संचालनको निर्णय गर्छौं’, उनले भने । 

 

स्वास्थ्य मापदण्ड पालना गर्दै व्यवस्थित सिकाइ केन्द्र संचालन गर्नेबारे वडा तहबाटै वस्तुगत अवस्थाको यथार्थ र सम्भावित जोखिम आकलनसहित सुझाव माग गरिएको प्रमुख सुवेदीको भनाइ छ ।

 

कोरोना संक्रमणको जोखिम उच्च रहेकाले विद्यालय संचालनका लागि विशेष सतर्कता अपनाउन जरुरी भएकाले विद्यार्थी संख्या र उपलब्ध भौतिक पूर्वाधारलगायत विषयलाई ध्यानमा राखेर स्वास्थ्यसम्बन्धी तोकिएका मापदण्ड पालना गर्ने गरी उपयुक्त विकल्प प्रयोग गर्न निर्देशन दिइएको प्रमुख सुवेदीले बताए ।


 
उपमहानगरले जारी गरेका विकल्पमध्ये उपयुक्त विकल्प छनोट गरी कार्यान्वयनमा लगेर विद्यालय संचालनसम्बन्धी कार्ययोजना तयार गरेर ८ मंसिरभित्र उपमहानगरमा पेस गर्न निर्देशन दिइएको छ । 


उपमहानगरले वडा- १ देखि १३ सम्मका क्षेत्रमा रहेका विद्यालयमा नियमित पठनपाठन संचालन गर्न सकिने/नसकिने विषयमा कार्ययोजना माग गरेको हो । बुटवलका वडा- १४ देखि १९ सम्म कोरोना संक्रमणको जोखिम कम रहेका क्षेत्र हुन् । 


संक्रमण भएका, निको भएका, संक्रिय संक्रमित रहेका संख्याका आधारमा जोखिम अवस्थाको मूल्यांकन गर्दै शिक्षण सिकाइ केन्द्रहरू मापदण्ड पूरा गरेर संचालन गर्न अनुमति दिइसकिएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् । 

 

वडा- १४ देखि १९ मा रहेका सामुदायिक र संस्थागत दुवै विद्यालयमा शिक्षण सिकाइका कक्षा दशैँ पूर्णिमाको भोलिपल्टदेखि नै नियमित संचालनमा रहेको र त्यहाँ पनि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । 

 

उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालका अनुसार बुटवलमा ६ मंसिरसम्म संक्रमितको संख्या तीन हजार ७३  छ । ६ मंसिरमा मात्र एकै दिन १३ संक्रमित थपिएका छन्, जसमा वडा- १४ देखि १९ सम्ममा एक जना पनि छैनन् । 

 

उपमहानगरका सुझाएका विकल्प

 

१) सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा संचालन गर्ने, अलगअलग समयमा अलगअलग कक्षा वा तह संचालन गर्ने,


२) आवश्यकता हेरी विद्यालय खुल्ने वा संचालनको अवधि-घन्टी छोट्याउने,


३) अवस्था हेरी प्रारम्भमा तल्ला कक्षा वा माथिल्ला कक्षा (जोखिम र सहजतालाई हेरी) संचालन गर्ने, 


४) कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा संचालन हुने गरी पालैपालो कक्षा संचालन गर्ने,


५) कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा संचालन गर्ने ।