close

१० लाखमुनिका योजना टोल विकास समितिलाई

१० लाखमुनिका योजना टोल विकास समितिलाई

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आफ्नो टोल क्षेत्रको विकासका लागि स्थानीय समुदायकै सदस्यको अपनत्व सिर्जना गर्न टोल विकास संस्थालाई उपभोक्ता समितिको मान्यता दिएको छ । 

 

अब सिरिजंघामा १० लाख रुपैयाँमुनिका सबै योजनाको संचालन टोल विकास संस्थामार्फत हुनेछ । विकास निर्माणकै लागि गठन भएका उपभोक्ता समिति बिनालाइसेन्सको ठेकेदार बनेको तथा योजना संचालनप्रति जवाफदेही र उत्तरदायी बन्न नसकेको आरोप लाग्न थालेपछि गाउँपालिकाले टोल विकास संस्थामार्फत विकास निर्माण अघि बढाउने भएको हो ।

 

गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ विकास र समृद्धिका लागि स्थानीय समुदायकै सदस्यको अपनत्व सिर्जना गर्न टोल विकास संस्थालाई अघि सारिएको बताउँछन् । ‘टोल विकास संस्था अधिकार र दायित्व दुवै बोकेको निकाय भएकाले यसमार्फत काम गर्दा उपभोक्ता हितमा हुने निष्कर्षसहित उपभोक्ता समितिको मान्यता दिएका हौँ’, उनले भने ।

 

गाउँपालिकाले टोल विकास संस्था गठन तथा परिचालनसम्बन्धी कार्यविधि नै बनाएको छ । स्थानीय सरकार संचालन ऐनको दफा १२ को उपदफा (२) को खण्ड (क) को उपखण्ड (२) मा स्थानीय तहमार्फत टोल विकास संस्था गठन तथा परिचालन हुनेसम्बन्धी व्यवस्था छ ।

 

सोही व्यवस्थामा टेकेर बनाइएको कार्यविधिका आधारमा टोल विकास संस्थालाई उपभोक्ता समितिको हैसियत प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । 

 

साविकका आठ गाविस क्रमशः सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामांखे, खेवाङ र याम्फुदिन मिलेर बनेको सिरिजंघामा ७२ वटा टोल विकास संस्था गठन भएका छन् । साविकका प्रत्येक गाविसका प्रत्येक वडामा अहिले एउटा टोल विकास संस्था रहेको छ । 


अहिले एउटा वडामै नौवटा टोल विकास संस्था गठन भएका छन् । ‘तिनै टोल विकास संस्थामार्फत १० लाख रुपैयाँमुनिका सम्बन्धित वडाका योजना त्यहीँका टोल विकास संस्थाले कार्यान्वयन गर्ने व्यवस्था मिलाएका छौँ’, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने । 

 

टोल विकास संस्थाको गठन र आबद्धताको प्रक्रियाले यिनलाई उपभोक्ता समितिको रूपमा लैजान प्रेरित गरेको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाका प्रवक्ता सन्तोष चाम्लिङका अनुसार टोल विकास समिति सहमति भए सहमतिमा र नभए निर्वाचनमार्फत चयन गरिनेछ ।

 

समितिका दुई मुख्य कार्यकारी पद क्रमशः अध्यक्ष र सचिवमध्ये एक जना महिला हुनु अनिवार्य छ । प्रत्येक टोल विकास संस्थामा सम्बन्धित टोल विकास क्षेत्रका प्रत्येक घरका एक-एक सदस्य हुनेछन् ।

 

तिनै घरधुरी सदस्यले टोल विकास समितिको नेतृत्व चयन गर्ने अधिकार राख्छन् । ‘दलीय, जातीय, भाषिक, वर्गीय, क्षेत्रीय र लैंगिक सबै प्रकृतिले विविध बनेको समाजका सदस्यले आफैँ टोल विकास समिति गठन गर्ने भएकाले यसलाई उपभोक्ता समिति मान्दा त्यहाँ पनि विविधता नै देखिन्छ’, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले टोल विकास संस्थाको औचित्य पुष्टि गरे ।

 

उनका अनुसार टोल विकास संस्थाको कार्यकारी अवधि दुई वर्षको हुने भएकाले त्यतिबेलासम्म योजना संचालनका लागि पटकपटक उपभोक्ता समिति गठन गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।


टोल विकास संस्थाको खाता संचालन पद्धतिदेखि लेखा व्यवस्थापनसम्मका काममा गाउँपालिका आफैँले नियमित नियमन र अनुगमन गर्नुपर्ने भएकाले यिनलाई नै उपभोक्ता समिति मान्दा काममा वित्तीय तथा भौतिक दुवै हिसाबले अनुशासन कायम हुने गाउँपालिको विश्वास छ ।


‘राम्रो काम गर्नेलाई पुरस्कार र नगर्नेलाई जरिमाना गर्ने प्रावधानले पनि टोल विकास संस्थामार्फत काम गर्दा राम्रो हुने विश्वास छ’, गाउँपालिका अध्यक्ष गुरुङले भने ।