close

चालू खर्च जोगाएर आमा समूहलाई साउण्ड सिस्टम, दीर्घ रोगीलाई आर्थिक सहयोग

चालू खर्च जोगाएर आमा समूहलाई साउण्ड सिस्टम, दीर्घ रोगीलाई आर्थिक सहयोग

Trulli
ADVERTISEMENT

खोटाङ - सामान्यतः चालू खर्चका लागि छुट्याइएको बजेट जोगाइँदैनन् । नक्कली बिल भर्पाई खडा गरेर भए पनि चालू खर्चको बजेट सक्ने प्रवृत्ति मौलाउँदो छ । तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ६ मंगलटारमा भने वडा कार्यालयले चालू खर्चको रकम जोगाएर सामाजिक हितका क्षेत्रमा खर्च गर्दै आएको छ ।

 

वडा कार्यालय मंगलटारले पछिल्लो चौमासिकको चालू खर्चबाट बचाइएको रकमबाट आमा समूहलाई साउण्ड सिस्टम तथा विभिन्न दीर्घरोगीलाई आर्थिक सहयोग गरेको छ । 


गत असारदेखि कात्तिकसम्मको प्रथम चौमासिकका लागि नगरपालिकाबाट चालू खर्च स्वरूप दुई लाख प्राप्त भएकामा सो रकमलाई बचाएर स्थानीय छतिवने आमा समूहलाई ११ हजार रुपैयाँको साउण्ड सिस्टम तथा मुटु रोगी कर्णबहादुर आले मगर, घाँटीको समस्या भएका बागधन राई र पेटको समस्याका कारण आन्द्राको अप्रेसन गरिएको छलीमायाँ बस्नेतलाई जनही पाँच-पाँच हजार रुपैयाँ प्रदान गरिएको मंगलटारका वडा अध्यक्ष रमेश राउतले बताए । 


साउण्ड सिस्टम भने वडा अध्यक्ष राउतको उपस्थितिमा वडा सदस्य धनलक्ष्मी बिकले आमा समूहकी अध्यक्ष मीना बस्नेतलाई हस्तान्तरण गरेकी छन् । वडा कार्यालयले बैठक भत्ता, दैनिक भ्रमण भत्ता, इन्धन, मर्मत, मसलन्द खर्चका लागि आएको चालू खर्चलाई उबारेर विगतका समयदेखि नै दीर्घरोगीलाई सहयोग गर्दै आएको जनाएको छ । 


‘यो चौमासिकमा नगरपालिकाबाट दुई लाख प्राप्त भएको थियो । वडाको कामकाज संचालन, इन्धन, मर्मतदेखि भत्तासम्म त्यही दुई लाखभित्र गर्नुपर्ने हुन्छ’, वडा अध्यक्ष राउतले भने, ‘तर, हामीले चिया खर्चबाट रकम बचाएर आमा समूहलाई साउण्ड सिस्टम र तीन जना रोगी जनतालाई सहयोग गरेका छौँ ।’


यसअघिका चौमासिकमा पनि चालू खर्चको रकम उबारेर विपन्न र दीर्घरोगीलाई सहयोग गर्दै आएको भन्दै उनले जनप्रतिनिधिले चाहेमा चालूको रकम पनि उबार्न सकिने बताए ।


 
फछर्योटका क्रममा झमेला 


चालू खर्चको रकम जोगाएर अन्य शीर्षकमा खर्च गर्दा फछर्योटका क्रममा भने वडा कार्यालयलाई समस्या हुने गरेको छ । नगरपालिकाको कर्मचारीले सम्बन्धित शीर्षकमा बाहेक अन्य शीर्षकमा गरेको खर्चलाई मिलान गर्न अस्वीकार गर्ने गरेको वडा अध्यक्ष राउतको भनाइ छ । 


‘जे शीर्षकमा रकम विनियोजन गरिएको हो, त्यही शीर्षकमा सक्नुपर्छ जस्तो गर्नुहुन्छ कर्मचारी साथीहरू । तेल भनेको छ भने तेलकै बिल ल्याउनुपर्ने ! तेल कम हालेर हामीले अरू काम गर्छु भन्न पनि नपाउनु त?’, वडा अध्यक्ष राउतले भने, ‘कर्मचारी साथीहरू तेल हालेको, बाइक मर्मत गरेको, ड्यू खाएको बिल ल्याउनुस् भन्नुहुन्छ । बरु तेल हालेकै बिल ल्याउँला अरू काममा खर्च गरौँला भनेर आएका छौँ ।’