close

रोगी बन्दै भवानीपुर, फोहोर जलाउँदाको धुवाँले दिउँसै अन्धकार

रोगी बन्दै भवानीपुर, फोहोर जलाउँदाको धुवाँले दिउँसै अन्धकार

Trulli
ADVERTISEMENT

सुनसरी - गत वर्ष इटहरी- १९ भवानीपुरकी हेमकुमारी गिरी नोबेल अस्पताल गइन् । सास बढ्ने समस्या लिएर गएकी उनमा दमको लक्षण देखिएको भन्दै औषधी सेवन गर्न डाक्टरले सल्लाह दिए । त्यसपछि दैनिक औषधी सेवन गरिरहेकी छन् । 


विषाक्त धुवाँ र धुलोबाट बच्च डाक्टरले सुझाए । गिरीको उपचारमा संलग्न डा. निरज नेपालले कार्बनमोनोअक्साइडको मात्रा बढी भएकाले समस्य निम्तिएको गिरीको रिपोर्ट कार्डमा लेखेका छन् । २५ सय परिवार संख्याको उक्त गाउँ धुवाँ र फोहोरको चपेटामा परेको छ । बस्ती छेउको जंगलमा इटहरी र धरान उपमहानगरको फोहोर फ्याँक्न सुरु गरेदेखि नै भवानीपुरका बासिन्दामा स्वास्थ्य समस्या देखिन थालेको हो ।


जंगलबाट आउने अमिलो, पिरो धुवाँले सास फेर्न गाह्रो हुने गिरी बताउँछिन् । जंगलदेखि पश्चिम दक्षिण क्षेत्रमा रहेको गाउँमा बिहान र साँझमा बहने उत्तरी हावाले धुवाँ गाउँतर्फ फैल्याउने गरेको उनले सुनाइन् । 


फोहोरबाट तामा, फलामलगायत धातु उत्खनन् हुने गरेको छ । तिनै मेटल उत्खनन् गर्नेहरूले फोहोर जलाउने गरेका छन् । यसले गर्दा बिहान र बेलुकाको समय गाउँभरि हुस्सु लागेजस्तै धुवाँ फैलिन्छ । 


इटहरी उपमहानगरको फोहोर हाँसपोसा सामुदायिक वनमा फ्याँकिँदै आएको छ । हाँसपोसा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष महेन्द्र गिरी वन समितिको अनुमतिबिनै उपमहानगरले फोहोर फ्याँकेको बताउँछन् । 

 

‘केही समयअगाडि फोहोर फ्याक्छौँ भनेर मागे पनि पछि सल्लाह गरौंला भनेर धमाधम फोहोर थुपारियो’, गिरीले भने । तर, इटहरी उपमहागनर र सामुदायिक वनबीचको सम्झौतामा मासिक ४५ हजार उपमहानगले उपलब्ध गराउने उल्लेख छ । 


इटहरी उपमहानगरको वातारणशाखा प्रमुख पुष्पनारायण चौधरीका अनुसार इटहरी बजारबाट मात्र दैनिक ४० टन फोहोर संकलन हुन्छ । यसले गर्दा करिब एक सय बिघा सामुदायिक वन फोहोरले ओगटेको हो ।


मानव बस्ती नजिकै खोला किनारमा फोहोर विसर्जन गरिएकाले बर्खायाममा फोहोर बगेर घरसम्मै आउने गरेको स्थानीय गोपाल गिरी बताउँछन् । ‘खेतीयोग्य जमिनमा सिरिन्ज, बोतल र प्लास्टिक बगेर आउने गरेका छन्’, उनले भने, ‘फोहोर सेउती खोलाले बगाएर रामधुनी नगरपालिकाको खेतीयोग्य जमिनमा ल्याउँछ ।’ 


सहरको फोहोर व्यवस्थापन नहुँदा त्यसको सीधा असर गाउँबासीमा परेको छ । गाउँको फोहोर संकलन नहुने तर तिनै गाउँलेले फोहोरको असर भोग्नुपरिरहेको छ । यति मात्र होइन, धरान, इटहरी सडक खण्डमा बिहान र साँझको समय यात्रा गर्नेलाई समेत सास्ती हुने गरेको छ ।  धरानमा मोबाइल पसल सञ्चालन गर्दै आएका इटहरीका भरत अग्रवाल पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको बताउँछन् । केही दिन यात्रा नगर्दा कम हुने र यात्रा गरेको दिनदेखि समस्या बल्झिने गरेको उनको बुझाइ छ । 

 

नियमित धरान, इटहरी आउजाउ गर्ने रमेश घिमिरेको पनि समस्या उस्तै छ । नाक थुनिने, अमिलो, पिरो खकार आउने समस्या देखा परेको उनी बताउँछन् । डाक्टरले धुवाँधुलोबाट बच्नुपर्ने बताए पनि नियमित यात्रा गर्नुपर्दा रोग निम्तिने डर रहेको उनको गुनासो छ ।

 

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्त्री रोग विशेषज्ञ डा. देव घिमिरे फोहोरबाट निस्कने धुवाँले सामान्यदेखि सुत्केरी आमा र बच्चा दुवैमा असर गर्र्ने सुनाउँछन् । ‘फोहोरको धुवाँले बच्चा सुस्तमनस्थितिको हुनेदेखि जन्मिँदै श्वासप्रश्वासमा समस्या देखिने सम्भावना बढी हुन्छ’, डा. घिमिरे भन्छन्, ‘नागरिकमा श्वासप्रश्वास मात्र नभई आँखा, फोक्सो, कलेजो,दिमागसम्म त्यसको असर पुग्छ ।’

 

फोहोरकै कारण कार्बनडाअक्साइडको मात्र शरीरमा बढी भए पनि मानसिकदेखि शारीरिक रोग लाग्नु सामान्य हुने उनको तर्क छ । सयाैं चुरोटको धुवाँभन्दा फोहोरको धुवाँ बढी हानिकारक हुने उनी बताउँछन् । 

 

इटहरी उपमहानगरको फोहोर व्यवस्थापन जिम्मा पाएको वेस्ट म्यानेजमेन्ट प्रालिले अहिलेसम्म त्यसको दिगो व्यवस्थापन गर्न सकेको छैन । २०७० अगाडि तत्कालीन नगरपालिकाले नै व्यवस्थापन गर्दै आएको थियो । 

 

त्यसपछि इन्भ्यारो केयर कन्सर्न प्रालि नामक कम्पनीले फोहोर व्यवस्थापन जिम्मा लिएको थियो । वातावरण शाखा प्रमुख चौधरीका अनुसार पाँच वर्षका लागि ठेक्का पाएको कम्पनीले फोहोर प्रशोधन गर्ने भने पनि जस्ताको तस्तै फ्याँक्ने गरेको छ । 

 

पाँच वर्षसम्म ठेक्का दिए पनि उपमहानगरले कम्पनीलाई कडाइ गर्न सकेको छैन । २०७५ असोजमा म्याद सकिएपछि पुनः अर्को सम्झौता भयो । वेस्ट म्यानेजमेन्टसँगको सम्झैतामा वैज्ञानिक ढंगले फोहोर व्यवस्थापन गर्न सकिने उल्लेख छ । तर, कम्पनीले रकम भएन भन्दै जंगलमै फोहोर विसर्जन गर्दै आएको छ । 


वन क्षेत्रमा फोहोर फ्याँक्न अनुमति दिने वन समिति, फोहोर थन्क्याउने कम्पनी र उपमहानगरबाटै फोहोर जलाउने काम भइरहेको छ । 

 

सरोकारवालाको मौनता 


भवानीपुरका वासिन्दा र पूरै गाउँ रोगको चपेटामा परे पनि दुई नगर र सरोकारवाला निकायको ध्यान जान सकेको छैन । अव्यवस्थित सहरीकरणले यसको नेतृत्व गरिरहेको छ । पर्यावरणको ख्यालै नगरी विस्तार भएको सहरीकरणको अभ्यासले पर्यावरण असन्तुलित हुँदै गएको वर्यावरणविज्ञ बताउँछन् ।


पर्यावरणविज्ञ प्रज्ज्वल राउत अव्यवस्थित सहरीकरणले वातावरण र पर्यावरण ध्वस्त बन्दै गएको सुनाउँछन् । ‘पर्यावरणलाई जोगाउन जल, जमिन र जंगलको सुरक्षा गर्नुपर्छ । पानी, वायु, जल, जमिनजस्ता पर्यावरणीय तत्वको क्षयीकरणले अनेकौं समस्या निम्तिरहेका छन् । जंगलमै फोहोर बिसाउने स्थल बनाइएपछि नागरिकले सास्ती नपाउने कुरै भएन’, राउतले भने ।

 

केन्द्रीय जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०११ मा इटहरीको अधिकतम तापक्रम ३७ डिग्री सेन्टिग्रेड थियो भने २०१८ मा आइपुग्दा ४२ डिग्रीसम्म पुग्यो । पर्यावरणविज्ञ राउतका अनुसार फोहोर व्यवस्थापन र पर्यावरण सन्तुलनका रिड्युस, रियुज र रिसाइकल विधि अपनाउन सकिन्छ । 


रिड्युस अर्थात् कम फोहोर उत्पादन गर्न सकिन्छ । यसले गर्दा फोहोरमैला व्यवस्थापनमा झन्झट पर्दैन । प्लास्टिक तथा कागजी फोहोरलाई कम उत्पादन गरी त्यसको विकल्पको प्रयोग गर्न सकिन्छ । स्थानीय सरकार, सरोकारवाला निकायबाट घरघरमै फोहोर उत्पादनमा कमी गर्ने चेतना जगाउनुपर्छ । हरेक नागरिकलाई सफा र सुन्दर नगर निर्माण अभियानका हिस्सेदार बनाउनुपर्ने उनको सुझाव छ । 


फोहोरको रूपमा निस्किएका कागज, प्लास्टिक, बोतलको रियुज (पुनः प्रयोग) गर्न सकिन्छ । खेलौना बनाउने, सजावटका सामग्री तयारी गर्न सकिन्छ । यसले गर्दा फोहोर न्यूनीकरण त हुन्छ नै, रोजगारी पनि सिर्जना हुन्छ । 


रिसाइकल विधिबाट फोहोर प्रशोधन गरेर प्रयोग गर्न सकिन्छ । नकुहिने प्लास्टिकजन्य फोहोरबाट कार्पेट, कुर्सीलगायत सामग्री तयार पार्न सकिन्छ । त्यसका लागी निजी कम्पनीसँगको सहकार्य अनिवार्य चाहिने उनी सुनाउँछन् । 

 

कुहिने फोहोरलाई अर्गानिक मल बनाएर बिक्री गर्न सकिन्छ अथवा घरघरमा अर्गानिक मल उत्पादन गरी कौसी खेतीलाई प्रोत्साहन गर्न सकिन्छ ।  सहरबासीले पर्यावरणबारे ख्याल गर्नुपर्ने उनी सुझाउँछन् । ‘मुख्यतः हाम्रो सहरबाट सबै जलचर, थलचर जनावर बाहिर गए भने जीवन सम्भव छ कि छैन भनेर सोच्नुपर्छ,’ राउत भन्छन्, ‘यही इटहरीमा पहिला कति चराचुरुंगी थिए ? अहिले चराको चिरबिर सुन्न पनि मुस्किल पर्छ ।’ फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन नहुँदा वनजंगल नासिँदै गएको उनको दाबी छ ।