close

अग्ला डाँडामा भ्यू टावरको होडवाजी

महावीर पुनको प्रश्नः टावरको रकम अनुसन्धानमा लगाए हुन्न ?

अग्ला डाँडामा भ्यू टावरको होडवाजी

महावीर पुनको प्रश्नः टावरको रकम अनुसन्धानमा लगाए हुन्न ?

Trulli
ADVERTISEMENT

खोटाङ– २०६६ सालमा खोटाङ र भोजपुरको सिमानामा रहेको ट्याम्केडाँडामा ३२ तलाको गणतन्त्र टावर निर्माण सुरु गरियो । तर, एक दशक बित्दा पनि तीन हजार १०० मिटर उचाइ रहेको ट्याम्केडाँडामा गणतन्त्र टावर ठडिएन बरु टावरका लागि खनिएको जगको खाल्डो नै पुरिँदै गएको छ ।


गणतन्त्र टावर निर्माणको काम अलपत्र परेको अवस्थामा गत २४ कात्तिकमा सोही स्थानमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले भ्यू टावर शिलान्यास गरेका छन् ।


ट्याम्केडाँडामा ३६५ मिटर अग्लो हुने भनिएको गणतन्त्र टावर निर्माणको सपना पूरा नहुँदै प्रदेश सरकारको १३ करोड ६२ लाख ८१ हजार रुपैयाँमा अर्को भ्यू टावरको काम सुरु गरिएको हो । शहरी विकास तथा भवन कार्यालय धनकुटाले बोलपत्र आह्वान गर्दा आर एण्ड सी-कुन्सालिङ कन्स्ट्रक्सन जेभीले भ्यू टावरको ठेक्का हात पारेको छ ।


आगामी २६ जेठ २०८२ भित्र पूरा गर्नेगरी २७ जेठ २०७७ मा सम्झौता गरिएको भ्यू टावर सुटुक्क शिलान्यास गरिएको भन्दै आलोचना भयो । भोजपुर र खोटाङका कतिपय जनप्रतिनिधि, स्थानीय सरकार प्रमुखलाई नै भ्यू टावर शिलान्यास कार्यक्रमका बारेमा जानकारी दिइएन ।


ट्याम्केडाँडा सिमाना भएका स्थानीय सरकार प्रमुखले समेत शिलान्यासका बारेमा जानकारी नपाएको भन्दै सामाजिक संजालबाटै आक्रोश पोखेका छन् । सगरमाथा, मकालु, कंचनजंघा, ल्होत्सेलगायतका हिमशृंखला दृश्यावलोकन गर्न सकिने पर्यटकीयस्थल ट्याम्केडाँडामा किराँतको पहिचान झल्किनेगरी भ्यू टावर निर्माण हुने भनिएको छ । ट्याम्केडाँडामा गणतन्त्र टावरको ठाउँमा भ्यू टावरको काम सुरु भएपछि हाल पक्ष र विपक्षमा बहस भइरहेका छन् ।


कतिपयले ट्याम्केडाँडाको पर्यटन प्रवद्र्धनमा टावरले योगदान पु¥याउने तर्क गरिरहेका छन् भने कतिपयले प्राकृतिक रूपमा टावरकै रूपमा रहेको अग्लो डाँडामा टावर बनाउन खोज्नु ‘बजेट स्वाहा बनाउनु’ मात्र हो भनिरहेका छन् । हुन पनि अहिले जताततै डाँडाडाँडामा टावर बनाउने होडबाजी नै चलेको देखिन्छ ।

 

अग्लाअग्ला डाँडामा करोडौँ खर्चेर भ्यू टावर निर्माण भइरहेको प्रति राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले भने विरोध गरेका छन् । सामाजिक संजालमार्फत पुनले पर्यटक भित्र्याउने निहुँमा नेपालका धेरै ठाउँमा सयौँ र हजारौँ मिटर अग्ला डाँडामा पैसा खाने उद्देश्यले भ्यू टावर निर्माण भइरहेको दाबी गरेका छन् । उनले भ्यू टावर निर्माणमा खर्च हुने पैसालाई देशको अतिआवश्यक र गतिलो काममा प्रयोग गर्नुपर्ने धारणा राखेका छन् ।


‘नेपालका सबै डाँडाहरू प्राकृतिक टावरहरू हुन् र हाम्रा डाँडाहरू कृत्रिम टावरहरूभन्दा हजारौँ गुणा अग्ला छन् । मैले टेम्केडाँडाको भ्यू टावर बनाउने कुराको मात्र विरोध गरेको होइन, दृश्यावलोकन र पर्यटक भित्र्याउने निहुँमा सयौँ र हजारौँ मिटर अग्लो प्राकृतिक डाँडामा २०÷३० मिटर अग्लो टावरहरू पैसा खाने उद्देश्यले बनिसके र बन्दै छन्’, पुनले लेखेका छन्, ‘मेरो भनाइ त्यो पैसा अहिलेलाई अतिआवश्यक र गतिलो काममा प्रयोग गरौँ भन्ने हो ।’


यस्ता टावरहरू बनाउनुभन्दा पहिला देशलाई अनुसन्धान तथा विकासको माध्यमबाट धनी बनाऔँ, देश धनी भएपछि जेजे बनाए पनि हुन्छ ।’


ट्याम्केडाँडामा भ्यू टावर शिलान्यास गरिएपछि पुनले ४ कात्तिकमा सामाजिक संजालमार्फत पहिला देश समृद्ध बनाउएर मात्र भ्यू टावर बनाउनुपर्ने धारणा राखेका थिए ।