close

प्रधानमन्त्री ओलीलाई कुरिरहेको छ घुन्सा

प्रधानमन्त्री ओलीलाई कुरिरहेको छ घुन्सा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित दुर्गम सुन्दर पर्यटकीय क्षेत्र घुन्सामा ८ मंसिरमा प्रधानमन्त्री केपी ओली सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्न आउने कार्यक्रम तय भएको छ ।

 

करिब ६० घर रहेको घुन्सामा प्रधानमन्त्री आउने भएपछि स्थानीयले विभिन्न मागका थैलीसहित स्वागतको तयारी गरेका हुन् ।


प्रधानमन्त्री ओलीले घुन्सा भ्रमणका क्रममा सोमवार बिहान त्यहाँ निर्माण भएको सामुदायिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गर्नेछन् । तर, घुन्सालीले भने १५ शय्याको अस्पताल बनाइदिन प्रधानमन्त्री ओलीसँग माग राख्ने भएका छन् ।


हिमाली क्षेत्रको स्वास्थ्य जोखिम टार्न आफूहरूले प्रधानमन्त्री ओलीसँग अस्पतालै बनाइदिन आग्रह गर्न लागेको स्थानीय चुङ्दाक शेर्पाले बताए । ‘यो हाम्रालागि सबैभन्दा ठूलो सहयोग हुनेछ’, उनले भने ।


सामुदायिक स्वास्थ्य केन्द्र सामाजिक अभियन्ता याङ्जोम शेर्पाको अगुवाइमा स्थापित घुन्सा फाउन्डेसनको सक्रियतामा संकलित रकमबाट बनेको हो । पछि प्रदेश १ सरकारले त्यहाँ आवास कक्ष बनाउन सहयोग गरेको छ ।


डन्डु शेर्पाले घुन्सामा रहेको सामुदायिक स्वास्थ्य इकाइलाई कम्तीमा १५ शय्याको अस्पताल बनाइन सरकारले सहयोग गरे स्थानीय र कंचनजंघा आउने-जाने पर्यटक दुवैलाई सहयोग मिल्ने बताउँछन् ।


‘स्वास्थ्योपचारै नपाएर जनताले मर्नुपर्ने अवस्था अन्त्यका लागि पनि घुन्सामा जनशक्ति र उपकरण सम्पन्न अस्पताल आवश्यक छ’, उनले भने ।

 

घुन्सा फाउन्डेसनका अध्यक्ष तथा याङ्जोम शेर्पा देशका कार्यकारी प्रमुखको उपस्थिति घुन्सामा हुन लागेको खबरले हिमाली क्षेत्रका बासिन्दामा खुसी छाएको बताउँछिन् । ‘प्रधानमन्त्री ओलीसमक्ष कम्तीमा १५ शय्याको अस्पताल बनाइदिन आग्रह गर्छौं’, उनले भनिन्, ‘हामी यो माग सुनाउन र उहाँलाई सुन्दर बस्ती घुन्सामा स्वागत गर्न आतुर छौँ ।’