close

काठमाडौं महानगरले थाल्याे स्वाब संकलन

काठमाडौं महानगरले थाल्याे स्वाब संकलन

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरले आइतबारदेखि स्वाब संकलनका लागि मोबाइल भ्यान सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसको निःशुल्क पिसीआर परीक्षणका लागि काठमाडौं महानगरले स्वाब संकलन सुरु गरेको हो ।


महानगरभित्र रहेका अशक्त, असहाय र ज्येष्ठ नागरिकको पिसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब संकलन गरिनेछ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर महानगरलाई हस्तान्तरण गरेपछि भ्यान सञ्चालनमा आएको हो ।

 

राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका सचिव डा. महेशकुमार अधिकारीले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भ्यान हस्तान्तरण गरे । 


कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई अझ बढी प्रभावकारी बनाउन मोबाइल भ्यानमार्फत स्वाब संकलन सुरु गरिएको महानगरप्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

 

महानगर प्रमुख शाक्यले लकडाउनको सुरु अवधिदेखि नै कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र उपचार कार्यलाई प्रभावकारी बनाउन लागिरहेको बताए । 


महानगरपालिकासँग भएको थोरै जनशक्तिबाट पनि प्रभावकारी काम अघि बढाइरहेको पनि उनको भनाइ थियो । ‘पछिल्लो समय यसलाई अझ प्रभावकारी बनाउन नास्टको प्राविधिक सहयोगमा निर्माण भएको मोबाइल भ्यानमार्फत स्वाब संकलनको काम सुरु गरेका छौं,’ उनले भने, ‘यो भ्यानमार्फत अशक्त, अपांगता भएका, दीर्घ रोगी र ज्येष्ठ नागरिक जो विभिन्न कारणले चाहेर पनि घर बाहिर निस्केर हामीले स्वाब संकलन गरेको ठाउँसम्म आउन सक्दैनन् । उनीहरूलाई लक्षित गरी यो कार्य अघि बढाएका हौं ।’ 


उनले त्यस्ता व्यक्तिको स्वाब संकलनलाई विशेष प्राथमिकतामा राखेर काम गरिने बताए । कोरोनालाई हेलचेक्र्‍र्याइँ नगर्न नगरप्रमुख शाक्यले सुझाव दिए ।

 

‘सरकारको तर्फबाट हामी लागिरहेका छौं । स्थानीय व्यक्ति र समुदाय पनि हातेमालो गरेर अघि नबढे यसलाई नियन्त्रण गर्न सकिन्न,’ उनले भने, ‘सरकारले गरिहाल्छ भनेर सर्वसाधारणले हेलचेत्र्mयाइँ गर्ने हो भने नियन्त्रणभन्दा बाहिर जान सक्छ । सरकारले तोकेको मापदण्डभित्र रहेका नागरिकको निःशुल्क परीक्षण गर्न महानगरपालिका तयार छ । लक्षित वर्गलाई उपचारबाट वञ्चित नगराउने हाम्रो अभियानलाई साथ दिएर सकेसम्म असहाय, विपन्न र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन र सक्नेले आफैं परीक्षण गर्न सक्छन् ।’
 
कन्ट्याक ट्रेसिङमा परेकालाई पनि निःशुल्क उपचार 


काठमाडाैं महानगरले कन्ट्याक ट्रेसिङमा परेकालाई निःशुल्क उपचार गर्ने भएको छ । संक्रमण संख्या घटाउने गरी सबैलाई सकेसम्म स्वास्थ्य मापदण्डको पालना गर्न नगरप्रमुख शाक्यले आग्रह गरे ।
 
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, नास्टका प्रबिवधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकालसहितका अधिकारी सहभागी थिए । 


प्रविधिमा आधारित यो प्रणालीबाट सुरक्षित सेवा प्रदान गर्न सहयोग पुग्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । उनले भने, ‘अनुसन्धान र विकासका क्षेत्रमा प्रतिष्ठानसँग सहकार्यलाई निरन्तरता दिन्छौं । सवारीमा जडान भएको कक्षमा बसेर एक पटकमा दुई जनाको स्वाब लिन सकिनेछ । हरेकको स्वाब लिइसकेपछि कक्षमा भएको स्वीच थिचेपछि स्वाब लिइएको ठाउँ स्वचालित रुपमा निःसंक्रमण हुनेछ ।’

 

नास्टका वरिष्ठ प्राविधिक अधिकृत डा. शंकर ढकालले भने, ‘यसमा जसको स्वाब लिइएको छ, उसैले भिटिएम आइस बक्समा राख्नुपर्नेछ । स्वास्थ्यकर्मीलाई पिपीई लगाउँदा हुने झन्झटबाट कमी गराउन यो कक्षको निर्माण गरिएको हो । यसअघि संकट व्यवस्थापन केन्द्र, नेपाल प्रहरीलगायत संघ-संस्थाका लागि यस्तै प्रकारको प्रणाली उपलब्ध गराइसकेका छौं ।’ 


यो बुथ निर्माण गर्न ३ लाख २० हजार ६ सय रुपैयाँ खर्च लागेको छ । यसको प्राविधिक पक्षको विकास र जडान नास्टले गरेको हो । 


सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार सोमबारबाट वडास्तरीय सेवाका लागि भ्यान परिचालन हुनेछ । आइतबार सभागृहबाटै महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्ले, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठलगायतको स्वाब संकलन गरिएको छ ।