close

अब पाँचखालका सबै घरमा स्वच्छ र शुद्ध खानेपानी

अब पाँचखालका सबै घरमा स्वच्छ र शुद्ध खानेपानी

Trulli
ADVERTISEMENT

काभ्रे - काभ्रेको पाँचखाल नगरपालिकाका सबै घरधुरीमा स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउन पाँचखाल- ९ चारपिप्लेमा एक लाख ५० हजार लिटरको ब्याक वास ट्यांकीको शिलान्यास भएको छ ।


एसियाली विकास बैंकको सहयोग एवं पाँचखाल नगरपालिकाको समन्वय र संयुक्त लगानीमा पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले नगरको पहरी बस्तीको मुख्य ट्यांकीबाट ब्याक वासको रुपमा संकलन गरिने पानी राख्न निर्माण हुने एक लाख पचास ५० क्षमताको ट्यांकीको स्थानीय समाजसेवी रत्नबहादुर पहरीले शिलान्यास गरेका हुन् ।


पाँचखाल नगरका ६ हजार एक सय घरधुरीमा खानेपानीको पहुँच पुर्‍याउने उद्देश्यले सम्झौता भएको ३० महिनाभित्र निर्माण सम्पन्न गरिने समितिले जानकारी दिएको छ । 


गत असारमा सम्झौता भई काम सुरु गरेको आयोजनाको मुहान सुनकोसी र बिमिरे दोभान रहेको छ । पहरीले लामो समयदेखि पाँचखालबासीले भोग्दै आएको खानेपानीको समस्याबाट मुक्त हुन लागेकामा खुसी भएको बताए । 


पाँचखालका नगरप्रमुख महेश खरेलले नगरपालिकाको पहिलो समस्या खानेपानी र दोस्रो समस्या नगरका ग्रामीण बस्तीमा रहेको धुले सडक भएकाले खानेपानीसँगै धुले सडकलाई पिच गर्दै लगिने जानकारी दिए । ‘खानेपानीको आवश्यकता पूरा हुँदै छ । एक वडा एक पिचको अवधारणा ल्याएका छौं । धेरै ठाउँमा पिच सडकको कामसमेत सुरु भएको छ,’ खरेलले भने ।

 

कार्यक्रमका सुनकोसी पाँचखाल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले नगरमा रहेका सबै राजनीतिक दल र नगरबासीसँग सहकार्य गर्दै निर्धारित समयमा योजना सम्पन्न गर्ने बताए । खानेपानीका लागि पदभन्दा पनि योजना ठूलो भएकाले यसलाई महत्व दिएर अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।

 

सुनकोसीलाई मुहान मानेर १५ असार २०७७ मा हुवासुई कन्काई जेभीसँग काभ्रेको पाँचखालमा एक अर्ब ९८ करोड  बजेट रहेको उक्त आयोजनामा कुल बजेटको ७० प्रतिशत एडिबी, नगर विकास कोषबाट २५ प्रतिशत र पाँच प्रतिशत जनश्रमदानमा आयोजना निर्माण भइरहेको छ ।