close

जसले आफ्नै माटोमा अवसर देखे

जसले आफ्नै माटोमा अवसर देखे

Trulli
ADVERTISEMENT

बागलुङ - परम्परागत खेती प्रणालीले घरखर्च र वर्षभरिको गुजारा नचलेपछि विदेशिनेको भीडमा एकाध युवाले भने आफ्नै माटोमा अवसर खोजिरहेका छन् । गाउँमा काम गर्ने जनशक्ति छैन । हिजो आफ्नालागि वर्षभरि खाने आफैँ उब्जाउनेहरूले अहिले तरकारीसम्म घरमा उब्जेको खाँदैनन् ।


विप्रेषणको सहायतामा घर चलाएकाहरूलाई गाउँमा तरकारी उत्पादन गरेर बिक्री गर्ने हो भने त्यही आम्दानीको बाटो बन्छ । त्यस्तै अवसर छोपेका छन् बाग्लुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका यामप्रसाद शर्माले । उनले आफ्नो मकै, कोदो र गहुँ फल्ने बारीलाई तरकारीको बगैँचा बनाएका छन् । शर्माले तरकारी खेती सुरु गरेको १५ वर्ष भयो ।


परिवार पाल्न र केही बचत गर्नसमेत उनले तरकारीबाटै पुर्‍याएका छन् । शर्माले चार रोपनी जग्गामा तरकारी खेती गरेका छन् । बन्दा, काउली, प्याज, लसुन, गोलभेँडा, केराउ जस्ता तरकारीका साथै प्याज, बन्दा, काउलीका बिरुवासमेत उत्पादन गरेर बिक्री वितरण गर्नु उनको दैनिकी हो । शर्मा भन्छन्, ‘तरकारीसँग मेरो गहिरो साइनो छ । बिरुवा हुर्किंदा फुर्किन्छु, ओइलाउँदा आफैँ बिरामी परेजस्तो हुन्छु ।’ 


घर खर्च, तरकारीका बिरुवा उत्पादनदेखि बजारीकरणसम्मको सबै खर्च कटाउँदा वार्षिक दुई लाख रुपैयाँ खुद नाफा गर्ने गरेको उनले सुनाए । ‘विदेश गएको भए बिटो आउँदो हो तर आफ्नो बारीमा काम गर्दाको मज्जा बेग्लै छ’, उनले भने ।


शर्माको कृषि पेसामा उनकी श्रीमती सन्तु पौडेलले पनि साथ दिएकी छन् । ‘अब कृषिमै भविष्य खोज्ने हो’, ४६ वर्षीय शर्माले भने, ‘आफ्नो माटोलाई सिँचाइ गर्दै गर्वका साथ कृषक भनेर परिचय दिने गरेको छु ।’ 


उनले उत्पादन गरेको बेमौसमी तरकारीको बजार गाउँमै छ । मौसमअनुसारका तरकारी भने बाग्लुङ बजार पठाउने गरेका छन् ।


उत्पादित कृषि उपजको बजारीकरणमा समस्या नभए पनि मिहिनेतअनुसारको पारिश्रमिक पाउन कठिन भएको उनको गुनासो छ । बजारमा बिचौलियाले गर्ने मोलमोलाइले शर्माको मन सधैँ पोल्छ । काठेखोला गाउँपालिकाबाट अहिलेसम्म ५० हजार रुपैयाँ अनुदान लिएका शर्माले औजार र प्रविधिको सहयोग पाए अझै उन्नत तरिकाले तरकारी फलाउन सकिने बताए ।


उनको तरकारी बारीमा रासायनिक मलको प्रयोग निषेध गरेको शर्माको भनाइ छ । ‘कहिलेकाहीँ कमिलाको बिषादी र डडुवाको औषधिबाहेक अन्य रासायनिक बिषादी प्रयोग गर्दैनौँ’, उनले भने, ‘गाईभैँसीको मल र गहुँत खेतीलाई पुग्छ ।’ 


अर्ग्यानिक उत्पादन भए पनि बजारमा भने भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने उनको गुनासो छ ।