close

पूर्वाधार विकास कार्यालयको भवनमा अब कोभिड अस्पताल बन्ने

पूर्वाधार विकास कार्यालयको भवनमा अब कोभिड अस्पताल बन्ने

Trulli
ADVERTISEMENT

जुम्ला - जिल्ला विपद् व्यवस्थापन समितिले सुविधा सम्पन्न कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 


कोरोना संक्रमित र अन्य बिरामी उपचार गर्नका लागि जिल्लामा एउटै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला मात्र भएपछि कोभिड अस्पताल छुट्टै बनाउनुपर्ने अवस्था आएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । 


जिल्ला खेलकुद विकास समितिको कभर्ड हल नजिकको पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको उनले बताए । उनले भने, ‘अस्थायी कोभिड अस्पतालका लागि आवश्यक भवन खोजी गर्न गठित समितिले पेस गरेको प्रतिवेदनका आधारमा पूर्वाधार विकास कार्यालय रहेको भवनमा कोभिड अस्पताल बनाउने निर्णय भएको हो ।’

  
उक्त भवनमा रहेको पूर्वाधार विकास कार्यालय जिल्ला समन्वय समितिभित्र रहेको तत्कालीन जिल्ला प्राविधिक कार्यालय रहेको भवनमा स्थानान्तरण गर्ने जनाएको छ । 


त्यसैगरी कोरोना संक्रमित बिरामीलाई उपचारका लागि अस्पतालसम्म ल्याउन एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ । यहाँका सात स्थानीय तहले एम्बुलेन्सको भाडा स्वरूप ८६/८६ हजार रुपैयाँ उपलव्ध गराउने गरी व्यवस्थापन गरिएको हो । 


जुम्लामा कोरोना संक्रमितको संख्या ४०४ जना पुगेको छ । ३७१ जना संक्रमित निको भएर घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । 


त्यस्तै, जिल्लामा ३३ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये २८ जना होम आइसोलेसनमा र पाँच जना मात्र संस्थागत आइसोलेसनमा रहेका जनाइएको छ । 


हिउँदको समयमा हुन सक्ने हिमपातलाई मध्यनजर गर्दै हिमपात पूर्वतयारी योजना पनि जिल्ला विपद् व्यवस्थापन समितिले बनाएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । 


उक्त योजनालाई कार्यान्वयनमा ल्याउनका लागि नेपाल सरकार, गृह मन्त्रालयसँग आवश्यक बजेट माग गर्ने र स्थानीय तहले पनि सो कार्यका लागि बजेट व्यवस्थापन गर्ने निर्णय भएको बताइएको छ ।