close

जनप्रतिनिधिले नै गर्छन् छाउगोठको ढाकछोप

अछामका गाउँगाउँमा व्युँताइदै छ छाउगोठ

जनप्रतिनिधिले नै गर्छन् छाउगोठको ढाकछोप

अछामका गाउँगाउँमा व्युँताइदै छ छाउगोठ

Trulli
ADVERTISEMENT

अछाम- गत वर्ष १५ मंसिरको रात साँफेबगर नगरपालिका- ३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भयो । उनको मृत्युपछि गाउँगाउँमा छाउगोठ भत्काउने लहर चल्यो । जिल्लाका सबैजसो छाउगोठ भत्काइए  ।

 

तर, छाउगोठ भत्काउने निर्णय एक वर्ष नपुग्दै स्थानीयबाटै कार्यान्वयन भएन । यतिबेला जिल्लाका सबैजसो पालिकामा छाउगोठमै रजस्वला भएका महिलाको रात बित्न थालेको छ ।


कोरोना महामारी सुरुभएपछि त छाउगोठ निर्माणको होडबाजी नै चलेको छ । गत वर्ष मंसिरदेखि फागुनसम्म चलेको यो अभियान कोरोनाका कारण रोकियो । पालिका र वडाको ध्यान कोरोना व्यवस्थापन र रोकथामतिर हुन थालेपछि छाउगोठ भत्काउने अभियान ओझेलमा पर्‍यो ।


गत वर्ष ११ चैतमा लकडाउन भएपछि छाउगोठको अनुगमन नहुँदा फेरि गोठ बन्न थालेका छन् । भत्काइएका पुराना छाउगोठ मर्मत गरेर अछामका कतिपय ठाउँका महिला फेरि गोठमै बस्न थालेका छन् ।


छाउगोठ फेरि बन्न थालेको भन्दै जनप्रतिनिधिसमेत चिन्तित छन् । अधिकांश पालिकाका केही वडामा छाउगोठ बनेको र त्यहाँ फेरि किशोरी तथा महिला बस्न थालेका छन् ।


चौरपाटी गाउँपालिकाका- १ का वडा अध्यक्ष सालीभान साउदले छाउगोठ बन्न थालेकाले चुनौती थपिएको बताए । यसका लागि फेरि पनि अभियानलाई निरन्तरता दिन आवश्यक रहेको उनको भनाइ छ ।


गोठ भत्काइसके पनि निगरानी र अनुगमन नहुँदा छाउगोठ व्युँतिन थालेको छाउविरुद्धकी अभियन्ता पशुपति कुँवरले बताइन् । ‘गाउँमा फेरि छाउगोठ बनेका छन्, मैले गाउँमा गएर हेरेकी छु, केही भत्काउन बाँकी थिए, कोरोनाका कारण अभियान रोकिएको थियो, भत्काएका गोठ पुनः मर्मत गरिएको छ भने चर्पीलाई समेत छाउगोठ बनाइएको छ’, उनी भन्छिन् ।


अहिले एकै टोलमा १० वटा छाउगोठ बनिसकेका छन् । गोठ भत्काउने काम सँगसँगै कानुनी र मानसिक परामर्शको आवश्यकता रहेको उनले बताइन् । छाउगोठमा फेरि बस्न थालेका महिला र किशोरीलाई सम्झाउन खोज्दा उल्टै गाली गर्ने गरेको एक स्थानीय किशोरीले बताइन् । आफ्नो वडा टोलको बेइज्जत हुने डरले जनप्रतिनिधिले समेत छाउगोठको ढाकछोप गर्ने गरेको उनको आरोप छ ।

 

१० वर्षमै गयो १४ को ज्यान


छाउपडी कुप्रथाको बढी प्रभाव रहेको अछाममा हालसम्म कतिले गोठमै ज्यान गुमाए भन्ने कुराको आधिकारिक तथ्यांक कसैसँग छैन । पछिल्लो एक दशकको अवधिमा मात्र साँफेबगरकी पार्वती बुढा रावत, तुर्माखाँदकी पार्वती बुढा र गौरी बुढा, गाज्राकी रोशनी तिरुवालगायत १४ जनाभन्दा बढीले छाउगोठमा सुतेका बेला विभिन्न कारणले ज्यान गुमाए ।


यसमध्ये सर्पको डसाइबाट दुई जनाको, केहीको गोठमा बालेको आगोको धुँवाबाट निस्सासिएर र केहीको कठ्याङ्ग्रिएर ज्यान गएको छ । केहीको मृत्युको कारण खुलेको छैन ।


सर्वोच्च अदालतले १९ वैशाख २०६२ मा एक महिनाभित्र छाउपडी प्रथालाई कुरीति घोषणा गरी तीन महिनाभित्र निर्देशिका बनाई लागू गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको थियो ।


तत्कालीन सरकारले २६ वैशाख २०६३ मा छाउपडीलाई कुप्रथाका रूपमा घोषणा गर्‍यो । त्यसको झन्डै एक वर्षपछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले ‘छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४’ जारी गर्‍यो ।


१ भदौ २०७५ देखि लागू हुने गरी २०७४ असोजमा जारी भएको ‘मुलुकी अपराध (संहिता) ऐन, २०७४’ ले भनेको छ, ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउनुहुँदैन ।’


यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुन सक्ने र कसुर गर्ने व्यक्ति राष्ट्रसेवक भएमा थप तीन महिनासम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।


२०७३ सालमा महिला तथा बालबालिका कार्यालयले छाउगोठ अवस्था विश्लेषणसम्बन्धी घरधुरी सर्वेक्षण गरेको थियो । सर्वेक्षणका अनुसार अछाम जिल्लामा ३२ हजार ६०६ गोठ रहेको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी, जनप्रतिनिधि र स्थानीयको सक्रियतामा २०७६ पुसदेखि फागुनको पहिलो सातासम्ममा चार हजार ७८७ छाउगोठ भत्काइएका छन् । यहाँ कानुन कार्यान्वयनका प्रयास भएका छन् तर जिल्लामा कुप्रथा निमिट्यान्नचाहिँ भएको छैन ।