close

१४ सयलाई रोजगारी दिने योजनामा फुङ्लिङ नगरपालिका

१४ सयलाई रोजगारी दिने योजनामा फुङ्लिङ नगरपालिका

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चालू आर्थिक वर्षमा एक हजार ४२७ जना बेरोजगारलाई रोजगारी दिने भएको छ । नगरपालिकाभित्रका बेरोजगारहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत वर्षभरमा कम्तीमा १०० कार्यदिन रोजगारी दिन लागिएको हो ।

 

फुङ्लिङ नगरपालिकाका रोजगार संयोजक सरिता लिङ्देनका अनुसार चालू आर्थिक वर्षामा ९०३ पुरुष र ५२४ महिलालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत यस्तो रोजगारी प्रदान गरिन लागिएको हो । 


लिङ्देनका अनुसार नगरपालिकामा रोजगारीका लागि आवेदन दिएकामध्ये एक हजार ४२७ जना बेरोजगार सूचीमा दर्ता भई रोजगार पाउन योग्य बनेका छन् । नगरपालिकाले विपन्न श्रमिकको ज्यालाबापत ५१ लाख ७० हजार रुपैयाँ वितरण गर्नेछ । 


श्रमिकलाई कम्तीमा दैनिक ५१७ रुपैयाँका दरले भुक्तानी गरिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमको कूल ६३ लाख रुपैयाँ बजेटमध्ये रोजगार सेवा केन्द्रको सुदृढीकरणमा एक लाख ५३ हजार रुपैयाँ र सेवा केन्द्रको संचालन खर्चमा ६४ हजार रुपैयाँ खर्च गरिनेछ । 


रोजगार संयोजक र प्राविधिक सहायकको तलब भत्ता, स्थानीय भत्ता र पोसाक भत्तासमेतमा गरी कूल नौ लाख १३ हजार रुपैयाँ खर्च हुनेछ । कार्यविधिअनुसार रोजगारी पाउने श्रमिकहरूलाई नगरपालिकाले छनोट गरेका योजना संचालन तथा कार्यान्वयनमा उपयोग गरिने भएको छ । अघिल्लो वर्ष न्यूनतम श्रमिक मूल्यमा करिव १०० रुपैयाँ थप गरेर नगरपालिकाले दैनिक श्रमिक मूल्य वितरण गरेको थियो ।