close

गाउँपालिकाको बर्थिङ सेन्टरमा सुत्केरीलाई भान्सा

गाउँपालिकाको बर्थिङ सेन्टरमा सुत्केरीलाई भान्सा

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व) - भूमे गाउँपालिकाअन्तर्गतका पाँचवटा स्वास्थ्य चौकीका बर्थिङ सेन्टरमा सुत्केरी आमाहरूका लागि भान्छा घर बन्ने भएको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाले पाँचवटा स्वास्थ्य चौकीमा संचालनमा रहेका बर्थिङ सेन्टरमा सुत्केरीका लागि भान्छा घर बनाउने भएको हो । 


वडा नम्बर- २ काँक्री, वडा नम्बर- ३ सीमा, वडा नम्बर- ४ काँडा, वडा नम्बर- ६ महत र वडा नम्बर- ९ चुनबाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरी प्रसूति सेवा संचालन भइरहेको छ । यी पाँच स्वास्थ्य चौकीमा प्रसूति सेवा संचालन भइरहे पनि सुत्केरी भएका आमाहरूलाई खानपिनका लागि खाना पकाउन समस्या भइरहेकाले यी स्वास्थ्य चौकीमै तीन लाख रुपैयाँको दरमा भान्छा घर निर्माण गरिने गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

 

सुत्केरी आमाहरूका लागि खाना र अन्य स्वास्थ्य चौकीमै बास बस्नुपर्ने अवस्थाका व्यक्तिका लागि भान्छा घर निर्माण गरिने भएको अध्यक्ष बुढाले जानकारी दिए । 

 

स्वास्थ्य चौकी नजिकै होटल भएका स्थानमा बिरामीले होटलबाट सेवा लिने गरेका छन् भने स्वास्थ्य चौकी नजिक वस्ती तथा होटल नभएका स्वास्थ्य चौकीमा स्वास्थ्य चौकीका कर्मचारीको भान्छाबाट खाना पकाई बिरामीलाई खुवाउनुपर्ने बाध्यता छ । 


बर्थिङ सेन्टर रहेका स्वास्थ्य चौकीमा अब सुत्केरी आमाहरूका लागि भान्छा घर बनेमा स्थास्थ्य चौकीमा बास बस्नुपर्ने अवस्थाका बिरामीलाई समेत उक्त भान्छा घरले सहज हुने भूमे- ३ स्वास्थ्य चौकी सीमाकी अनमी सुकमाया रोकाले बताइन् ।