close

निर्धारित तालिकाभन्दा डेढ घण्टापछि प्रधानमन्त्री ओली घुन्सा पुगे

निर्धारित तालिकाभन्दा डेढ घण्टापछि प्रधानमन्त्री ओली घुन्सा पुगे

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - प्रधानमन्त्री केपी शर्मा ओली निर्धारित समयभन्दा करिब डेढ घण्टा ढिलो गरी मात्र ताप्लेजुङको दुर्गम गाउँ घुन्सा पुगेका छन् । ओली सवार नेपाली सेनाको हेलिकोप्टर भर्खरै मात्र घुन्सामा अवतरण गरेको घुन्सा पुगेका पत्रकार महासंघ ताप्लेजुङका कार्यवाहक अध्यक्ष चन्द्र पन्धाकले जानकारी दिए ।


प्रधानमन्त्री ओली बिहान १० बजे घुन्सा आइपुग्ने कार्यतालिका रहे पनि उनी साढे ११ बजेपछि मात्र घुन्सामा अवतरण गरेका थिए । प्रधानमन्त्री ओली केहीबेरमै घुन्सामा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुनेछन् । उनी घुन्सा फउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । 


यो कार्यक्रमलगत्तै घुन्सा फउण्डेसनको आधिकारिक वेवसाइट शुभारम्भ गर्ने कार्यक्रमसमेत रहेको छ । यसको व्यवस्थापनका लागि प्रधानमन्त्री ओलीले आफ्ना सूचना प्रविधि विज्ञ अस्गर अलीलाई समेत घुन्सा लगेका छन् । प्रधानमन्त्री ओलीले घुन्सालीलाई सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ । 


घुन्साको कार्यक्रममा प्रधानमन्त्री ओली, पर्यटनमन्त्री योगेशकुमार भट्टराई र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ओलीसँगै संविधानसभाका सभाध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि आएका छन् । 


कार्यक्रममा ओलीलाई फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङको नेतृत्वमा रहेको स्थानीय टोलीले स्वातग गरेका छन् । घुन्साको कार्यक्रम सकेर दिवा खानापश्चात प्रधानमन्त्री ओलीसहितको टोली ओलाङ्चुङगोलामा रहेको सशस्त्र प्रहरीको बीओपी केन्द्र, सीमावर्ती क्षेत्र टिपतालापासलगायतको हवाई निरीक्षणमा सहभागी हुने कार्यक्रम रहेको छ । 


हिउँको समस्या कारण प्रधानमन्त्री ओलीले सीमा क्षेत्र र बीओपी केन्द्रको हवाई निरीक्षण गर्ने सम्भावना रहेको थेबेले जानकारी दिए । ताप्लेजुङको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओलीसहितको टोली इलामको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।