close

संक्रमितको उपचार गर्दै  पाल्पाका स्थानीय सरकार 

संक्रमितको उपचार गर्दै  पाल्पाका स्थानीय सरकार 

Trulli
ADVERTISEMENT

पाल्पा - पाल्पाका स्थानीय सरकारले आफ्ना नागरिकलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन र संक्रमितको निःशुल्क उपचारमा पालिकाको स्रोत उपयोग गरेका छन् । 


संघीय सरकारले सबै संक्रमितको उपचार नसक्ने जनाएको बेला पनि स्थानीय सरकारले भने यसलाई रोकेनन् । पालिकाले बनाएका आइसोलेसन सेन्टरमा उपचार सम्भव नभएका संक्रमितको उपचारका लागि अस्पतालसँग सम्झौता गरेका छन् । 


रामपुर नगरपालिकाले बाहेक अन्य नौवटा पालिकाले सुविधा सम्पन्न निजी अस्पतालहरूमा बढी समस्या देखिएका कोरोना संक्रमितहरूको उपचार गरी त्यसबापतको रकम पालिकाले तिरेका हुन् । कोरोना संक्रमित सार्वसाधारणको उपचारमा जिल्लाका स्थानीय सरकारले ३३ लाख ९६ हजार रुपैयाँ अस्पतालहरूलाई भुक्तानी गरेका छन् । 


रैनादेवी छहरा गाउँपालिकाले लुम्बिनी मेडिकल कलेज प्रभाससँग सम्झौता गरेर ४२ जना कोरोना संक्रमितको उपचारमा १० लाख रुपैयाँ स्रोत खर्च गरेको छ । सर्वसाधारणको स्वास्थ्य उपचारमा स्थानीय सरकार संवेदनशील रहेका बताउँदै कोरोना भाइरस संक्रमणसँग मिल्दा लक्षण देखिएमा परीक्षण र संक्रमण पुष्टि भएमा उपचार गाउँपालिकाकै स्रोतबाट गरिने पालिका अध्यक्ष रामबहादुर कार्कीले बताए । 


एक जना बिरामीलाई ज्वरो र झाडापखाला लागेपछि युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको तर उनको कोरोना रिपोर्ट नेगेटिभ देखिए पनि उनको उपचार खर्च पालिकाले तिरेको बताए । 


बगनासकाली गाउँपालिकाले लुम्बिनी मेडिकल कलेजमा छ जनाको उपचारमा दुई लाख ९० हजार र युनाइटेड मिसन अस्पतालमा चार जनाको उपचारमा एक लाख ५५ हजार रुपैयाँ पालिकाले प्रदान गरेको छ । पूर्वखोला गाउँपालिकाले कोरोना संक्रमित १० जनाको उपचार लुम्बिनी मेडिकल कलेजमा गराएको छ । 


उपचार खर्चबापत सात जनाको तीन लाख ३६ हजार रुपैयाँ कलेजलाई भुक्तानी दिएको छ । तीन जनाको उपचार खर्च भुक्तानी दिन बाँकी छ । रम्भा गाउँपालिकाले लुम्बिनी मेडिकल कलेजमा २७ जनाको उपचार गराएबापत नौ लाख रुपैयाँ भुक्तानी दिएको छ । जनतालाई कोरोना संक्रमण परीक्षण र उपचारका लागि गाउँपालिकाले अभिभावकत्व लिने पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । 


माथागढी गाउँपालिकाले पाँच जना सर्वसाधारणको उपचारमा एक लाख ६२ हजार रुपैयाँ खर्च गरेको छ । तिनाउ गाउँपालिकाले तानसेन स्कुल अफ हेल्थ साइन्स र युनाइटेड मिसन अस्पतालाई १२ जनाको उपचारबापत एक लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ भने रिब्दीकोट गाउँपालिकाले १३ जनाको उपचारमा अस्पतालमा एक लाख ३० हजार रुपैयाँ खर्च गरेको छ । 


स्थानीय आइसोलेसनमा सुविधा कम भएको र जटिल स्वास्थ्य समस्या देखिएमा उपचारमा चुनौती हुने देखिएपछि अस्पतालमै पठाएर उपचार गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताए । तानसेन नगरपालिकाले कोरोना संक्रमित १० जना सर्वसाधरणको उपचारमा मेडिकल कलेज र युनाइटेड मिसन अस्पताललाई दुई लाख ७४ हजार रुपैयाँको बिल भुक्तानी गरेको छ । 


निस्दी गाउँपालिकाले दुई जनाको उपचारमा ६७ हजार ४८६ रुपैयाँ खर्च गरेको छ । रामपुर नगरपालिकाले निजी अस्पतालहरूमा कोरोना संक्रमित सर्वसाधारणले उपचारबापतको रकम खर्च गरेको देखिँदैन ।