close

हुम्लाका चार गाउँपालिका सञ्चारसम्पर्क बाहिर

हुम्लाका चार गाउँपालिका सञ्चारसम्पर्क बाहिर

Trulli
ADVERTISEMENT

हुम्ला - हुम्लाको तल्लो क्षेत्रमा रहेका चार  गाउँपालिकामा पुनः सञ्चारसम्पर्क विच्छेद भएको छ । नेपाल टेलिकमका टावरले काम नगरेपछि चार गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको हो । 

 

जिल्लाको सर्केगाड, अदानचुली, खार्पुनाथ, ताँजाकोट, चंखेली, नाम्खा र सिमकोट गाउँपालिकाभित्र टेलिकमका ९ वटा टावर निर्माण गरिए पनि काम नगरेपछि सञ्चारबाट विमुख हुनुपरेको स्थानीयको गुनासो छ । 

 

जिल्लाको तल्लो क्षेत्रमा राखिएको टावरले एक महिनादेखि काम गर्न छाडेको छ । यस्तै, सर्केगाड गाउँपालिकाको भदालीमा रहेको टावरले पनि महिनौंदेखि काम गर्न छाडेको स्थानीय सुरबहादुर रोकायाले बताए । ‘मर्मतका लागि पटक-पटक टेलिकममा खबर गर्दा पनि कुनै सुनुवाइ भएन । टेलिफोन सम्पर्क विच्छेद भएपछि घरबाहिर रहेका सदस्यसँग कुरा गर्न पनि सकिएन’, रोकाले भने । 


ताँजाकोट, चंखेली, अदानचुली गाउँपालिकामा केही समयअगाडि मर्मत गरिएको टेलिकमको टावर नचल्दा फोन सेवा पुनः अवरुद्ध भएको हो । लामो समयदेखि हुम्लामा राखिएका टेलिकमका टावरले काम नगर्दा मोबाइलमा पैसा मात्र राख्ने तर सुविधा नपाउने अवस्था रहेको उनले बताए । 


सात वटै गाउँपालिकाभित्रका करिब ५० हजार बढी नागरिक फोन सेवाबाट वञ्चित भएका छन् । टावरकै गडबडीका कारण फोनै नलाग्ने र लागे पनि नसुनिने अवस्था रहेको स्थानीयको गुनासो छ ।

 

फोन नभएपछि विभिन्न काममा बाधा परेको चंखेली गाउँपालिकाका विष्णुभक्त जैशीले बताए । ‘चंखेलीको मेल्छाममा रहेको नमस्ते टावरले ९ कात्तिकदेखि काम नगरेपछि पालिकाका करिब आठ हजार नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छौं’, जैशीले भने ।


जिल्लाभर अवरुद्ध फोन सेवा सुचारु गराउन टेलिकम हुम्लालाई मर्मतका लागि आग्रह गरिए पनि सुनुवाइ नभएको स्थानीय दाबी गर्छन् ।