close

कोरोना देखिएपछि बुङ्गलका विद्यालय फेरि बन्द हुन थाले

कोरोना देखिएपछि बुङ्गलका विद्यालय फेरि बन्द हुन थाले

Trulli
ADVERTISEMENT

बझाङ - समुदायस्तरमा कोरोना संक्रमण बढेपछि बुंगल नगरपालिकाभित्रका विद्यालय फेरि बन्द हुन थालेका छन् । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै कोरोना प्रभावित क्षेत्रका संचालित विद्यालयमा शिक्षण सिकाइ क्रियाकलाप बन्द गरिएको बुङ्गल नगरपालिका स्वास्थ्य शाखा संयोजक धनकृष्ण रेग्मीले बताए ।


पछिल्लो समय बुङ्गल नगरपालिकाले १७ कात्तिकदेखि नगरका सम्पूर्ण विद्यालयमा शिक्षण सिकाइको कार्य संचालन गरेको थियो । बुङ्गल नगरपालिकाका वडा नं. ४, ६ र ८ का छ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सरस्वती माध्यमिक विद्यालय बिजगडा, शारदा आधारभूत विद्यालय खिरातडी, कन्या माध्यमिक विद्यालय बटुलसेरा, महेन्द्र आधारभूत विद्यालय, कफलसेरी आधारभूत कफलसेरीलगायत कोरोना प्रभावित क्षेत्रका अन्य सातवटा विद्यालयहरू अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नगरपालिकाको शिक्षा शाखालाई जानकारी दिई विद्यालय बन्द गरेको सम्बन्धित विद्यालयहरूले जानकारी दिएका छन् । 


यस्तो अवस्थामा विद्यालय खोले थप जोखिम हुन सक्ने भन्दै विद्यालयहरू बन्द गरिएको हो । नगरपालिकाभित्रका विद्यालयमा कक्षा ११ को परीक्षा भने ८ मंसिरसम्म संचालन भइरहेको छ । त्यस्तै, ९ मंसिरदेखि हुने कक्षा १२ को परीक्षा संचालनको तयारी पनि भइरहेको छ ।


पठनपाठन बन्द गरे पनि विद्यालयको दैनिक प्रशासनिक कार्य भने संचालन गर्न दिने निर्णय भएको छ । बुङ्गल नगरपालिकाकै पनि कारोना प्रभावित ठाउँबाहिरका विद्यालय भने संचालन भइरहेका छन् । बुङ्गल नगरपालिकाका शिक्षा शाखा प्रमुख रेग्मीले जोखिम आँकलन गरेर विद्यालय संचालन गर्न निर्देशन दिइसकेको बताए ।