close

मिक्लाजुङको प्राथमिकतामा पर्यटन 

मिक्लाजुङको प्राथमिकतामा पर्यटन 

Trulli
ADVERTISEMENT

पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पालिकाभित्रका पर्यटकीय गन्तव्य तथा सम्पदाको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । 


मिक्लाजुङ डाँडो धार्मिक, प्राकृतिक रुपमा महत्वपूर्ण मानिन्छ । यही डाँडाको नामबाट गाउँपालिकाको नाम जुराइएकाले पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको हो ।


गाँउपालिकाभित्रका पर्यटन क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख अमरराज माखिमले बताए । 


‘हामीले पर्यटकीय पूर्वाधार विकासका काम थालेका छौं । कतै काम भइरहेका छन् भने कतै आगामी प्राथमिकतामा राखिएका छन् । जरिबुटे डाँडामा बुद्धपार्क निर्माणलाई गौरवको योजनाको रुपमा अघि बढाएका छौं’, माखिमले भने ।


प्रदेश सरकारसँग पनि मिलेर काम भइरहेको उनको भनाइ छ । पर्यटनलाई गाउँपालिकाको मुख्य आम्दानी स्रोत बनाउन धमाधम पूर्वाधार निर्माण गरिरहेको उनले बताए ।


मिक्लाजुङमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वका अनगन्ती गन्तव्य छन् । भेडेटार-रवि-राँके सडक कालोपत्रे भएपछि तराई तथा विदेशबाट पनि पर्यटक आउने अपेक्षा गाउँपालिकाको छ ।


सूर्योदय दृश्यावलोकनका लागि महत्वपूर्ण गन्तव्य मिक्लाजुङ धार्मिक रुपमा पनि प्रसिद्ध छ । 


मिक्लाजुङको काखमा रहेको लेखगाउँमा गोजुलाभोदुला ताल रहेको छ । यी क्षेत्रको विकास तथा प्रचार हुन सके बर्सेनि ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने लेखगाउँका सञ्जय राई बताउँछन् ।


बेहुली ढुंगा, स्वर्गद्ववारी मन्दिर, यावाराङ झरनाको संरक्षण र प्रचारको काम पनि अगाडि बढेको अध्यक्ष माखिमले जानकारी दिए ।