close

यसरी भइन् रुम्जाटारकी रम्बा महेन्द्रकी अघोषित रानी !

यसरी भइन् रुम्जाटारकी रम्बा महेन्द्रकी अघोषित रानी !

Trulli
ADVERTISEMENT

ओखलढुंगा- नारायणहिटी दरबारले सधैंँ लुकाएकी पात्र हुन्, रम्बा गुरुङ । उनलाई दरबारमा गीता गुरुङ र पछि मनकुमारी शाह भनेरसमेत चिनाइयो ।

 

रम्बा राजा महेन्द्रको पहिली रानी थिइन्, तर अघोषित । महेन्द्र र रम्बाको सम्बन्धबाट जन्मिए रवीन्द्र शाह । उनी वीरेन्द्रभन्दा जेठा थिए तर राजा हुन पाएनन् । न त रम्बा महारानी नै भइन् ।

 

राजा महेन्द्रले रम्बालाई बाहिरिया रानी बनाए । पछि बाबु त्रिभुवनलगायत दरबारले बिहे गर्न अनुमति नदिएपछि ठकुरी जातकी महारानी विवाह गरेर आधिकारिक बनाए ।

 

दरबारबाहिरका रवीन्द्र किन भएनन् युवराज र राजा ?

 

रम्बातर्फका महेन्द्रका जेठा छोरा हुन्, रवीन्द्र शाह । उनलाई दरबारका सदस्यभन्दा धेरैले कवि र गीतकारको रूपमा चिन्छन् ।


उनको ‘रानी तलाउ किनारा’, ‘श्रद्धाको फूल चढाइदिनु आएर लासमा, नपाए फूल भइगयौ तिमी, रोइदिनु आमा’, ‘फूलको पातमा दुई थोपा आँसु यो मेरो खस्यो कि’, ‘म फूलसँग भुलूँ कि, म जूनसँग खुलूँ कि’ जस्ता दर्जनौँ गीत चर्चित छन् ।


उनले लेखेका गीत नारायण गोपाल, तारा देवी, आशा भोस्ले, गौरी केसीलगायतका गायक/गायिकाले गाएका छन् । रवीन्द्र पिता महेन्द्रझैँ राम्रा कवि र गीतकार थिए । उनले आफ्ना गीत र कवितामा आफू र आमाका पीडाहरूलाई पोखेको केही समालोचकहरूले बताएका छन् ।


उनका छोरीहरू रचना प्रसाई‌ं, सिर्जना थापा र छोरा पवीन्द्रविक्रम शाह छन् । रवीन्द्रको निधन २०५४ सालमा भयो । रवीन्द्रको मावली रुम्जाटार भए पनि उनको मावलीसँग कुनै सम्बन्ध रहेन ।


उनका मामा श्रीकृष्ण गुरुङलाई रवीन्द्रका सन्तानको बारेमा कुनै जानकारी छैन । रम्बा गुरुङको विषय जोडेर नगेन्द्र न्यौपानेले लेखेको ‘दरबारबाहिरकी महारानी’ नामक उपन्यासको कथावस्तु यिनै रम्बा गुरुङको हो ।  


यसरी भइन् रुम्जाटारकी रम्बा अघोषित महारानी !


ओखलढुंगास्थित हालको सिद्धिचरण नगरपालिका- ४ मा पर्ने रुम्जाटारको इतिहास कोट्याउँदा फरकफरक तर रोचक कहानी भेटिन्छन् । जोस्मनी धर्मका प्रचारक, सर्जक कवि ज्ञानदिलदास, पहिलो गीत रेकर्ड गराउने महिला मेलवादेवीदेखि सेनापति झँगल गुरुङसम्मको इतिहास छ ।


यतिमात्र होइन, रुम्जाटारसँग तत्कालीन दरबारसँगको पनि रोचक सम्बन्ध छ । युवराज महेन्द्रले रुम्जाटारकी रम्बा गुरुङलाई श्रीमती बनाएका थिए । उनका छोरा पनि जन्मिए । तर, दरबारले अस्वीकार गरेकै कारण न रम्बाका छोरा रवीन्द्र राजा हुन पाए, न त उनले रानीकै हैसियत पाइन् ।


ऊबेला रुम्जाटारका शाही गुरुङको पेसा भेडापालन थियो । निकै ठूलो भेडा बथान भएका शाहीका चारवटी श्रीमती थिए । भेडी गोठमै मधेस पुगेको बेला जेठी श्रीमतीको कोखबाट रम्बा जन्मिइन् । यकिन सम्वत् कसैलाई थाहा छैन तर रम्बा जन्मिएपछि सुत्केरी व्यथाकै कारण शाही गुरुङले रम्बाकी आमा (जेठी श्रीमती) गुमाए ।


दरबार र रुम्जाटारको सम्बन्ध धेरै पहिलेदेखि थियो । धाईआमा र अन्य नोकरचाकर आवश्यक पर्दा रुम्जाटारदेखि दरबार लैजाने चलन थियो । रम्बा अलिक ठूली भएपछि उनका बुबाले दरबारमा लगेर छाडिदिए । रम्बाका बुबा शाही गुरुङको दरबारमा आउजाउ पछिसम्म चल्यो ।


त्रिभुवन राजा भएका बखत महेन्द्र युवराज थिए । महेन्द्रको रम्बासँग प्रेम सम्बन्ध गाँसियो, जुन कुरा त्रिभुवनलाई मनपरेको थिएन । नभन्दै रम्बाले दरबारमै छोरा रवीन्द्र शाह जन्माइन् ।

 

रवीन्द्रको जन्म १९९० वा १९९६ सालमा भएको भन्नेमा विवाद छ तर रम्बा गुरुङसँग १३ वर्ष बिताएका उनका भाई श्रीकृष्ण गुरुङ  रवीन्द्र १९९० सालमै जन्मिएको बताउँछन् ।


यदि रवीन्द्र १९९० सालमै जन्मिएका भएचाहिँ महेन्द्र १३ वर्षको उमेर हुँदै रवीन्द्र जन्मेको प्रमाणित हुन्छ । यदि १९९६ सालमा जन्मेका भए वीरेन्द्रभन्दा छ वर्षले जेठा देखिन्छन् । राजा महेन्द्रले बिहे गरेर ल्याएका दुईवटी रानी हुन् । इन्द्रराज्यलक्ष्मी र रत्नराज्यलक्ष्मीदेवी शाह । उनीहरू दिदीबहिनी थिए ।

 

यसरी दरबारले ब्याइते र ल्याइते भनेर छुट्याएको रम्बाको मृत्यु २०३० सालमा भयो । २०१७ सालदेखि दिदीको अन्तिम दिनसम्म सँगै बिताएका श्रीकृष्ण गुरुङ हाल ८७ वर्षका भए ।


उनी पूर्व बेलायती सेना हुन् । सात वर्ष बेलायती सेनामा जागिर खाएर फर्किएपछि दिदीसँग करिब १३ वर्ष बिताएका श्रीकृष्ण दिदीलाई गुरुङ भएकै कारण दरबारले जीवनभरि हेला गरेको बताउँछन् ।

 

के भन्छन् महेन्द्रका साला श्रीकृष्ण गुरुङ ?

 

दिदीको कोखबाट रवीन्द्र शाह जन्मिएपछि दरबारले यो ल्याइते रानीको होइन, ब्याइतेतर्फको भन्दै रवीन्द्रलाई नारायणहिटीबाट निकालेर बालकमै ठमेलमा लगेर राखेको रम्बा गुरुङका भाइ श्रीकृष्ण गुरुङ बताउँछन् । ‘दिदीचाहिँ अलिक पछिसम्म नारायणहिटिमै थिइन्, पछि महेन्द्रले इन्द्रराज्यलक्ष्मी बिहे गरेपछि दिदीलाई बत्तीसपुतलीमा घर किनेर सारिदिए’, उनले पालिकाखबरसँग भने ।


रवीन्द्र ठूलो भइसकेपछि ज्ञानेन्द्र, धीरेन्द्रहरूसँगै बालुवाटारमा २६-२६ रोपनी जग्गामा घर बनाएर दरबारले लहरै राखिदिएको थियो दरबारले । पछि रवीन्द्रले त्यो घरजग्गा बेचेर सरेको श्रीकृष्णको भनाइ छ ।

 

घर खर्च चलाउन महेन्द्रले दिन्थे २० हजार


रवीन्द्रले चन्दा शाहसँग बिहे गरे । ‘रवीन्द्रको बिहेमा म पनि थिएँ, त्यतिखेर बुबा महेन्द्र र उनका भाइहरू कसैको उपस्थिति भएन । बिहे गरेपछि केही समय रवीन्द्रले आमा रम्बा (मेरी दिदी)लाई सँगै राखे । तर, सासू-बुहारीको कुरा नमिलेपछि दिदी बत्तीसपुतलीस्थित पुरानै घरमा फर्किइन्’, ८७ वर्षीय श्रीकृष्णले सम्वादमा पुराना दिन सम्झिए ।


‘दरबारले चार जना नोकर र दिदीको घर खर्चसहित गरेर वार्षिक २० हजार रुपैयाँ दिन्थ्यो । रत्नबहादुर काजीले पैसा ल्याएर दिदीलाई दिन्थे । त्यो पैसाले एक वर्ष धान्न पुग्दैनथ्यो । त्यो सुविधा महेन्द्र बाँचुन्जेल मात्र कायम रह्यो ', उनले भने । २०२८ सालमा महेन्द्रको मृत्यु भएलगत्तै सबै सुविधा कटौती गरिएको श्रीकृष्ण सुनाउँछन् ।

 

त्यसपछि श्रीकृष्ण रुम्जाटार फर्किए

 

‘रवीन्द्रले दिदीलाई आमाको रूपमा कहिल्यै हेरेको मलाई थाहा भएन । आमा जस्तो व्यवहार पनि गरेन । उल्टै आमा बितेको केही महिनामै बत्तीसपुतलीको चार रोपनीको घरजग्गा पाँच लाखमा बेचिदियो’, श्री कृष्ण भन्छन्, ‘रवीन्द्रको नाममा भत्ता आउँथ्यो । ऊ रेडियो नेपालका भएभरका कर्मचारी ल्याएर दिनहुँजसो रक्सी ख्वाउँथ्यो ।’


महेन्द्रले पहिला दिल्ली पठाए, पछि विदेश जानै दिएनन्

 

राजा महेन्द्रले पढ्न भनेर रवीन्द्रलाई एक पटक दिल्ली पठाएका थिए । पछि उनलाई विदेश जानै नपाउने गरी दरबारले निषेध गरिदिएको श्रीकृष्णको स्मरणमा छ ।

 

‘दिदीलाई ब्रेन टीबी जस्तै टाउकोको रोग थियो । पहिले पनि भारतको भेल्लोर लगेर ठीक भएको थियो । पछि बल्झियो । फेरि वीर अस्पताल लगेर निको भयो’, उनी थगप्छन्, ‘बल्झिने र वीरमै लगेर उपचार गर्ने क्रम चल्दाचल्दै दिदीको निधन भयो अनि म फेरि रुम्जाटार फर्किएँ ।’


दिदीले दुई पटकसम्म बोलाएपछि काठमाडौं गएका श्रीकृष्ण बसुन्जेल जम्मा एक पटक राजा महेन्द्रले उनकी दिदी रम्बालाई घरमै आएर भेटे । ‘अरू बेला दिदीले नारायणहिटीमै गएर भेट्थिन् । यति हेला गरेर राख्यो कि गाडीको सुविधासमेत दिएन । एक पटक एउटा थोत्रो जिप दिएको थियो, त्यो पनि फिर्ता लगिदियो । टेलिफोन जडान गर्न अनुरोध गर्दा दरबारले गरिदिएन’, उनी गुनासो गर्छन् ।

 

दरबारमा सधैँ हेलाको पात्र


दरबारले जीवनभरि दिदीलाई हेला गरेको श्रीकृष्णको भनाइ छ । । ‘मेरी दिदी ठकुरी वा क्षत्री नहुनु नै त्यसको कारण थियो । गुरुङ भएकैले दिदीले हेलाको हेलामै जीवनको अन्तिम सास फेरिन्', उनी सम्झिन्छन् ।


त्यतिखेर कतिपयले रम्बाको भाइले दरबारको पैसा खायो पनि भनेछन् । यतिबेला श्रीकृष्ण सम्झिन्छन्, ‘तर, दिदीले दिएको दुई-चार पैसा खर्चबाहेक मैले भात खाने र बस्नेभन्दा अरू केही लिइनँ ।’

 

दरबारको रुम्जाटार मोह

 

दरबारसँग जोडिएर यति गहिरो सम्बन्ध नभए पनि रुम्जाटारका अन्य पात्रहरूको फरकफरक सम्बन्ध भएको कहानी सुन्न पाइन्छ । तर, कतै प्रामाणिक भने भेटिएको छैन ।

 

यद्यपि, राजाहरूको पूर्व भ्रमण हुँदा अनिवार्य रुम्जाटार आउने र बास बस्ने क्रमलाई यसका प्रमाणका रूपमा लिन सकिन्छ । दरबारलाई थुप्रै धाईआमाहरू दिएको रुम्जाटारले दरबारबाट भने धोका मात्र पायो तर पनि चुपचाप सहिदिएको छ ।


तस्वीरः राजा महेन्द्रको बाहिरिया रानी रम्बा गुरुङ, जुन तस्वीर उनको रुम्जाटारस्थित माइतीघरमा राखिएको छ । रम्बासँग १३ वर्ष सँगै बिताएका भाइ श्रीकृष्ण गुरुङ ।