close

अनि भत्काइदिए कमलामाईका नगरप्रमुखले सडकको नाला

अनि भत्काइदिए कमलामाईका नगरप्रमुखले सडकको नाला

Trulli
ADVERTISEMENT

सिन्धुली– कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले निर्माण सम्पन्न भएको सडकको नाला भत्काइदिएका छन् । गुणस्तरहीन काम गरेको भन्दै नगरप्रमुख खत्रीले ढुंगाले हानेर निर्माण सम्पन्न नाला भत्काइदिएका हुन् ।


कमलामाई नगरपालिकामा निर्माणाधीन योजनाहरूको अनुगमन गर्ने क्रममा उनले कमलामाई नगरपालिका– ८ माईथानमा पुगेर सिमेन्ट र बालुवाको मात्रा नमिलेको र गुणस्तरहीन काम गरेको भन्दै ढुंगाले हानेर नाला भत्काइदिएका हुन् ।


गौरीमाई कन्स्ट्रक्सन काठमाडौंले निर्माणको जिम्मा पाएको माईस्थान–तीनतले–पातीपरान सडक खण्डमा निर्माण गरिएको ड्रेन टप क्यापिङमाथिको प्लास्टर नगरप्रमुख खत्रीले गुणस्तर नभएको भन्दै भत्काइदिएका हुन् ।


९९३ घनमिटर जाली, ८० मिटर ड्रेन, दुईटा ह्युम पाइप क्रसिङको जिम्मा पाएको गौरीमाई कन्स्ट्रक्सनलाई नगरप्रमुख खत्रीले स्टिमेटअनुसार चाँडै र गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् ।


खत्रीले कमलामाई नगरपलिका– १० मा निर्माणाधीन चदाहा पिकनिक स्थलमा पुगेर अनुगमन पनि गरेका छन् । उनले निर्माणमा खटिएका कामदारलाई सिमेन्ट र बालुवाको मात्रा मिलाउन आग्रह गर्दै आफैँले सिमेन्ट–बालुवा मुछेर कामदारलाई सिकाएका थिए ।


नगरप्रमुख खत्रीले विकास निर्माणका सवालमा स्टिमेटअनुसारको काम गर्न भन्दै गुणस्तरीय काम गर्न निर्माणको जिम्मा पाएकाहरूलाई आग्रह गरेका छन् ।

 

कमलामाई नगरपालिका कमजोर र गुणस्तरहीन काम गर्नेहरूलाई भुक्तानी दिन तयार नरहेको भन्दै दिगो र बलियो संरचना बनाउने नगरको अभियानमा लाग्न स्थानीयलाई पनि चनाखो हुन उनले आग्रह गरे ।