close

१५ शय्याको अस्पताल शिलान्यास नहुँदै विवादित

१५ शय्याको अस्पताल शिलान्यास नहुँदै विवादित

Trulli
ADVERTISEMENT

नवलपरासी– सरावल गाउँपालिकाअन्तर्गत १५ शय्याको अस्पताल शिलान्यास नहुँदै विवादित भएको छ ।


गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न संघीय सरकारको स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल निर्माण गर्ने नीतिबमोजिम १५ मंसिरमा देशभर अस्पताल भवनको शिलान्यास गर्ने तयारी छ ।  


कार्यपालिकाको बैठकले कुपोषित बच्चा धेरै रहेको वडा तथा बाढी प्रभावित क्षेत्रलाई मध्यनजर गर्दै वडा नं. ५ मा अस्पताल बनाउने निर्णय गरेको थियो । गाउँपालिकाले एक हप्ताका लागि जग्गा खोज्ने समय वडाका जनप्रतिनिधिलाई दिएको थियो ।


जग्गा खोजीमा गएको टिमले सरावल– ५ दुबौलियामा रहेको कित्ता नम्बर २३८ को तीन बिघा १२ कट्ठा पाँच धुर जग्गामा अस्पताल बनाउन उपयुक्त हुने भन्दै गाउँपालिका अध्यक्षलाई देखाएको वडा– ५ का वडा अध्यक्ष दिनेश सहानीले बताए ।


सो स्थानमा गाउँपालिकाले अनुगमन गर्दा ठिकै ठहराएको भए तापनि त्यस ठाउँको जोतभोग गर्दै आइरहेका स्थानीयले जग्गामा विवाद रहेको बताउँदै निवेदन दर्ता गराएका छन् ।


बार लगाइएको उक्त स्थानबारे गाउँपालिकाबाट नापी कार्यालय नवलपरासीमा यथार्थ पता लगाउँदा नक्सामा ताल तलैया देखापरेको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिए ।


दुई हप्ता बितिसक्दा पनि वडाबाट कुनै ठोस निर्णय नआउँदा कार्यपालिकाले ७ मंसिरमा बडहरामा अस्पताल बनाउने निर्णय गरेको थियो ।


कार्यपालिकाको निर्णयप्रति आपत्ति जनाउँदै वडा– ५ का अध्यक्ष दिनेश सहानीसहित स्थानीय तथा वडा– ६ का अध्यक्ष कैलाश यादव, वडा– ७ का अध्यक्ष हेयात खाँसहितको टोलीले आइतबार साँझ र सोमबार दिउँसो गाउँपालिका गेट अगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन्  ।


वडा– ५ का अध्यक्ष दिनेश सहानीले आफूहरू एकपछि अर्को ठाउँ दुबौलिया, जीतपुर, फूलबारियामध्ये कुनै एक स्थानमा अस्पताल निर्माण गर्नका लागि जग्गाबारे गाउँपालिकामा छलफल गर्दा पनि बडहरामा बनाउने निर्णय गाउँपालिकाको बैठकले गरेको आरोप लगाए ।


गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले दुई हप्ता बितिसक्दा वडाबाट कुनै ठोस निर्णय नआउँदा कार्यपालिकाले ७ मंसिरमा बडहरामा अस्पताल बनाउने निर्णय गरेको बताए ।


अध्यक्ष चौधरीले कार्यपालिकाको निर्णयअनुसार कानुनबमोजिम आफूहरूले कदम चालेको बताए । आफूले नियमानुसार कदम चालेको बताउँदै जनताको हकहितका लागि आफूहरूले लिएको निर्णय सही रहेको उनले दाबी गरे ।