close

टिंकर नाका खुलेकै दिन भारतीय बजार धार्चुलाका पसल रित्याए दार्चुलावासीले

टिंकर नाका खुलेकै दिन भारतीय बजार धार्चुलाका पसल रित्याए दार्चुलावासीले

Trulli
ADVERTISEMENT

दार्चुला– दार्चुलाको व्यास गाउँपालिका–१ टिंकरका स्थानीयको बसाइँसराइका लागि सोमबार सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल खुला गरिएको छ ।


कोरोना संक्रमणका कारण गत ११ चैतदेखि अन्तर्राष्ट्रिय सीमा पुल बन्द थियो । त्यसपछि पनि छोटो समयका लागि समय–समय दर्जनाैं पटक झोलुंगे पुल खुला हुने गरेको थियो ।


झोलुंगे पुल सबैका लागि खुला गरिएपछि दार्चुलाका सर्वसाधारणदेखि व्यापारीको भारतीय बजार धार्चुलामा भीड लागेको छ ।

 

भारतमा दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडासम्मका सामान किन्न वारि दार्चुलाका सर्वसाधारणदेखि व्यापारी दार्चुलाको पुलदेखि धार्चुलाको पुल र गौशला क्षेत्रसम्मै लाइनमा घन्टौैं उभिए ।


सुरुमा भारतीय सुरक्षाकर्मीले पारि धार्चुला प्रवेश गर्नेको नाम लेखे पनि सयौंको भीड बढेपछि ह्वारह्वार्ती छाड्यो । नेपाली बजारमा खरिदारी महँगो पर्ने हुँदा वारिका नागरिक मात्र नभएर व्यापारीसमेत पारि सामान किन्न जाने गर्छन् । ९ महिनापछि खुलेको झोलुंगे पुलबाट पारि गएका त्यहाँ लाखौं मूल्य बराबरको सामान किनेका छन् ।


धार्चुला बजारमा वारि दार्चुलाभन्दा सस्तो मूल्यमा सामान पाइने भएपछि पारिका बजारमा जानेको भीड लागेको छ । दार्चुलाबाट पारि धार्चुला गएका उपभोक्ताले बढी सामान खरिद गरेकै कारण त्यहाँ मौज्दात रहेको प्याज, चिनी, पिठो, चामल सबै सकिएको छ । धार्चुलामा प्याज, चिनी वारिभन्दा सस्तो पाइन्छ ।


‘सामान किन्न ग्राहकको ठेलमठेल भीड लाग्दा व्यापारीलाई समेत सम्हालिन हम्मे परेको छ’, धार्चुलाका व्यवसायी देवराज गव्र्याल भन्छन्, ‘चामल पिठो, चिनीजस्ता दैनिक उपभोग्य सामान एकै दिन सकियो ।’


धार्चुलामा प्रतिकेजी ४० भारुमा चिनी पाइन्छ । कोभिडका कारण धेरै सामान मौज्दात नराखिए पनि दार्चुलाबाट आएका सर्वसाधारण तथा व्यापारीहरूले सबै उठाएरै लगेको उनी सुनाउँछन् । यस्तो दिन पनि आउँछ भन्ने नसोचेको उनको भनाइ छ ।


‘पुल खुल्ने जानकारी भए पनि यत्तिको संख्यामा ग्राहक धार्चुला बजार आउलान् भन्ने अनुमान थिएन’, उनले भने, ‘धार्चुलाका सबै पसलमा रहेका अत्यावश्यक सामग्री सकिए ।’


नेपाली बजारभन्दा करिब एक सय मूल्य फरकमा दैनिक उपभोग्य सामान पाइने हुँदा दार्चुलाका स्थानीयको रोजाइमा पारि धार्चुलाको बजार पर्ने गरेको छ ।

धार्चुलामा सामान खरिद गर्न पुगेका पुष्कर धामी नेपाली सामान उपभोग गर्दै आए पनि व्यापारीहरूले मनोमानी मूल्य बढाएका कारण सर्वसाधारण धार्चुला जानु परेको बताउँछन्  ।


‘नेपाली व्यापारीहरूले मुख बोलीबाट सामान बिकाउँछन् । अचाक्ली महँगो पर्छ । तर, पारि धार्चुलामा धार्चुलामा सिस्टमले काम गर्छ । भारुमा थोरै तलमाथि भए पनि सामान उतै सस्तो छ । व्यापारीले ठगे भने पनि कारबाही हुन्छ’, धामीले भने ।


छोटी भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालका अनुसार आलु, प्याज, चिनीको मात्रै ३५ हजार बढी मूल्यको भन्सार काटिएको छ । पुल खुलेपछि सर्वसाधारणले घरायसी प्रयोजनका क्विन्टलै सामान भित्र्याएका छन् । तर, व्यापारीहरूले केही सामानको मात्रै भन्सार तिरेका हुन् ।