close

कृषिबाटै उठ्दै छ गोकुलगंगा, गाउँमा खुले सात सय उद्योग

कृषिबाटै उठ्दै छ गोकुलगंगा, गाउँमा खुले सात सय उद्योग

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिकाले कृषिबाटै समृद्ध पालिका बनाउने अभियानसहित पशुुपालन र कृषि क्षेत्रका पूर्वाधार निर्माण सुरु गरेको छ ।


पालिकाभित्र कृषि र पशुपालन अगाडि बढाउन पकेट क्षेत्र निर्धारणदेखि गाईभैंसी, चौंरीपालनसम्मका पूर्वाधार निर्माण सुरु गरिएको हो ।


‘हामी निर्वाचित भएर आएदेखि नै पशुपालन र कृषि क्षेत्रमा गरेका कामको समीक्षा र आगामी योजनाबारे केही दिनअघि एकदिने कृषि सम्मेलन नै ग¥यौं’, गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले भने, ‘पशुपालन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नलाई कार्यपत्रै बनाएर अगाडि बढ्ने सोच छ । यस्तो सोच दीर्घकालीन हो ।’


गाउँलाई समृद्ध बनाउन गाउँपालिकाको बजेटसमेत पशुपालन र कृषि क्षेत्रमा बढी विनियोजन गरिएको उनले जानकारी दिए । ‘पालिकाले बजेट खर्चिएकै कारण अहिले दुवै क्षेत्रका पूर्वधार तयार भइसकेकाले बढीभन्दा बढी उत्पादनमा जोड दिँदै छौ’, अध्यक्ष सुनुवारले भने ।


त्यसका लागि गाउँपालिकाले कृषि र पशुपालन गरी १८ पकेट क्षेत्र बनाएको छ । १८ पकेट क्षेत्रमध्ये मुख्यगरी पशुतर्फ चौंरी, माछा, बाख्रा, बंगुर, गाई, कुखुरापालन र कृषितर्फ आलु, किबी, सिमी, केरा, स्याउलगायत खेतीको उत्पादन बढाउने योजना रहेको सुनुवारले बताए ।


भौतिक निर्माणजस्तो तत्कालै काम नदेखिए पनि कृषि र पशुपालनबाट गोकुलगंगा मासु, अन्डा, तरकारीलगायतमा आत्मनिर्भर नजिक पुग्न लागेको गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठले दाबी गरिन् ।


‘पकेट क्षेत्र घोषणा भएको छोटो समयमै कृषि र पशुपालनको पूर्वाधार तयार भएकाले पालिकाभित्रका किसान उत्साहित छन् । उनीहरू नियमित कृषि कर्ममा लागिसकेकाले चाँडै कृषिबाटै समृद्ध पालिका बनाउने अभियानमा छौं’, उपाध्यक्ष श्रेष्ठले भनिन् ।


गाउँपालिकामा हालसम्म कृषि, पशुपालनलगायत विभिन्न क्षेत्रमा काम गर्ने गरी साढे सात सय बढी उद्योग दर्ता भइसकेका छन् । त्यसले पनि अब स्थानीयले आयआर्जनका लागि गाउँमै पशुपालन, कृषिलगायत क्षेत्रमा काम गर्न लागेको देखिने अध्यक्ष सुनुवारको तर्क छ ।


कोरोनाका कारण विदेशबाट फर्किएका र सहर छाडेर गाउँ पसेका युवाहरूले समेत पालिकाको प्राथमिकतामा परेको कृषि र पशुपालन अँगाल्न थालेको उनको भनाइ छ । गाउँपालिकाले  तयार गरेको ‘आर्गनिक पालिका, आत्मनिर्भर पालिका, समृद्ध पालिका’ को नारा पूरा हुने दिन नजिकिँदै गएको अध्यक्ष सुनुवारले सुनाए ।